दमक बहुमुखी क्याम्पस दमक झापामा अध्ययनरत सुजन नाल्बो प्रतिभावान नवाेदित कवि हुन् ।
उही छ
तानाशाही घाम
जसले खुइल्याइ'दि सकेको छ सैरा डाँडाको तालु,
एक हुल तरुनी बतासहरूले
कुनै बेलाको यो डाँडाको सुन्दर मुहारलाई चुमेर जान्छन्
उनीहरूका स्पर्श यस्ता छन्
जसले
सक्रान्ती मेलामा हात समातेर
धान नाचेको डवाङ्डवाङ्ती जाँड गनाउने
ती लिम्बुनी मेन्छ्याहरूको,
ती शेर्पेनी मायालुहरूको झझल्को दिलाउछन्‘
(खुइयास एक लामो सुस्केरा)
तल एक्लिएर बगिरहेको फौदारी थिङ्देवा खोल्सा
समयसँगै बगिरहन्छ,
जो
मेलापातमा फौदारी खेल्ने हातहरू जस्तै अब बुढा भैसके,
यही डाँडामा
कुनै बेला गमक्क फुल्ने गुराँसहरू
अब
फुल्न नजानेका सपना जस्तै फुल्छन्,
पर टल्किने फुङ्लिङ बजारले
सौन्दर्यताको धाक दिएर होला छाती छाती हिँड्दै
पकन्दी खेल्ने तरुनीतन्नेरीहरू
जिन्दगीको पार्लरमा कृतिम बनाइरहेछ जिन्दगी
त्यसैकारण,
अब चुपचाप छ 'सैरा डाडा'
चुपचाप छ घरको आँगन
विरह लाग्दो कोइलीको आवाज सुनेर
म जस्तै
कति बिरक्तिदो हो सैरा डाँडा,
जिन्दगीका आशाहरू
जस्तै
भुइँमा फुल्दै गरेको बुकी फूल
सुन्दर छन् या कुरुप छन्
अब
ठम्याउन सक्दैन यो डाँडाले
अब
ठम्याउन सक्दैन मेरो मष्तिस्कले,
सैरा डाँडा
अहो!
कसोकसो तिमी म जस्तै लाग्छ,
कुरुपताले रङ्गिएर
उभिरहेछौ हामी दुवै
घटिरहने जिन्दगीको धरातलमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...