गुरप्रीत आनन्दी नाममा लेख्ने गुरप्रीत कौर पन्जाबको आनन्दपुर साहिबमा १९८१ सालमा जन्मेकी युवा लेखक हुन् । हाल चण्डीगढमा बस्दै आएकी उनी शिक्षण पेशामा सम्बद्ध छिन् । उनले डा. जनक सिंहको ‘वर्ल्ड रिलिजियन्स इन द न्यू एरा अफ साइन्स’ को पन्जाबी अनुवाद ‘विश्व दे धरम ते आजोका विज्ञानक युग’ गरेकी छन् । उनको आफ्नै कविता सङ्ग्रह ‘नदी जिन्दगी दी’ २०१५ मा प्रकाशित भएको छ भने विभिन्न पत्र-पत्रिकामा उनका रचनाहरु प्रकाशित हुँदैआएका छन् । प्रस्तुत कविता सञ्जीव छेत्रीले नेपालीमा अनुवाद गरेका हुन् ।

यो घर
दैलो
संघार
मलाई आफ्नो घेरोमा समेट्न
मलाई रत्याउन
सधैँ अक्षम ।

कुनैकुनै बेला
कुनै कल्पना
संघार काटेर गइदिन्छ
जूननेर गएर बसिदिन्छ
तारातिर गएर बसिदिन्छ ।

मेरो अस्तित्वको सुगन्ध
बन्द दैलाबाट सुत्त निस्केर
हावामा मिसिँदै
डल्लै पृथ्वीमा फैलिदिन्छ
अनि नाच्न थाल्छ ।
कुनै बेला मेरा अचम्मका जादुमयी सपना
यी भित्ता नाघेर
पर्खाल पल्लोपट्टि हेर्ने दुस्साहस गर्छन्
ब्रह्माण्ड नै 
मेरो काखमा ल्याएर राखिदिन्छन्
घाममा चढेर नाच्छन्
अञ्जुलीमा उज्यालो उघाएर
मेरा अनुहारमा पोतिदिन्छन्।

यो घर
मलाई रत्याउन खोज्छ
मेरा कल्पनाहरूलाई बाँध्ने कोसिस गर्छ
मेरो सुवासना
मेरा सपनाहरूलाई
कैद गर्ने कोसिस गर्छ।

तर
यो घर
मलाई आफूभित्र अँचेटन
मलाई रत्याउन
सधैँ असफल
सधैँ असक्षम ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...