निर्मलीडाँडा, खोटाङमा जन्मिएका चन्द्र रानाहँछा समसामयिक नेपाली कविताका सिद्धहस्त कवि हुन् । उनका मनमा आँधी चलेपछि (गीत र कविता सङ्ग्रह), भाउजू लडेको भीर (कथा सङ्ग्रह), थिबिया चराको गीत (कविता सङ्ग्रह) प्रकाशित छन् । राष्ट्रिय कविता महाेत्सव २०७४ मा प्रथम रानाहँछाले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
नानीहरू -
खेलाईरहेछन् आमाहरुको आँसु
भीरको छाबुक्लामा......
बौरिरहेछ -
कोक्रोको मृत काम्रो
बल्झिरहेछ -
चिसो भोक
चिसो तिर्खा
चिसै माया.....
माटो भएका छन्
माटोमै बिसाएका हाम्रा अनुहारहरू ।
ओडारहरू
ओडारकै किचकन्नी प्यासमा
पिइरहेछन् मानिसको आखिरी घिट्घिटो....
खोपाएर ठाँटीमा नाम
निस्किए
महाप्रस्थानमा जति पैतालाहरू
नसकेर थुन्न
पितृहरूको आदि-गौँडा
झोक्राइरहेछ
अम्रिसोको फूल...
जानेहरू -
फर्किन्छन झझल्को- सङ्घार टेकेर जब
भत्काउँछन् आँखाका सजीव आलीहरू
चुहाएर विस्मृत प्रेम-तप्कना
तिलस्मी झैँ हराउँछन्
र डुब्छ एकसाथ घामको स्वेत पगरी ।
भीमकाय शून्यता
कराइरहन्छ हुच्चिल जसरी
कुल्चिएर जिन्दगी- पन्जिका....
मेरीको पात
खचिया
अक्षता
वा, पितृ पुजेको चल्लाको काँचो खुन
बिब्दाइरहेछ रिसियामा नछुङ
जोखानाले तानेर घाइते सातो
फर्काईरहेछ जिउँदो कानबाट।।।
जारी छ वार्ता मृतात्मासित ।।।
जो, भंग हुनसक्छ कुनै पनि क्षण
त्यो बेला-
बोलाउँदै रुङ्री
काट्दै यारी
फलाक्दै मुन्दुम
जान सकिन्छ भीरको छाबुक्लामा
र पत्थरभित्र रोइरहेका नानीहरूलाई
चढाएर सोलैम्माको चोखो वासिम
फर्काउन सकिन्छ-
उनीहरूको चिसो मुठीबाट
आमाहरूको तातो आँसु ।
नोटः
छाबुक्ला - राईहरूको संस्कारमा दाँत नपलाउँदैको उमेरमा मृत्युवरण गरेका नानीहरूको शवलाई एकलास भिरको ओडारमा कोक्रोसँगै लगेर राख्ने चलन छ र बाहिरबाट ढुँगाको मात्रै गाह्रो लाएर संस्कारिन्छ । जसलाई राई (चाम्लिङ) भाषामा छाबुक्ला भनिन्छ ।
खचिया - धामीले प्रयोग गर्ने काहुलोको झोल ।
रुङरी - सातो (आत्मा)
यारी - कचुर
सोलैम्मा - चिन्डो
नछुङ - धामी
बिब्दाउनु - सिउरिनु
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...