विसं. २०२५ मा सिन्धुली तीनपाटनमा जन्मिएका बलराम तिमल्सिना सचेत प्रगतिशील कवि हुन् । साहित्यमा मुक्तिपथिकका नामले परिचित तिमल्सिनाका तानाशाहलाई प्रश्न (संयुक्त कविता सङ्ग्रह), युद्धभूमिका प्रकाशित छन् । मार्क्सवादी सांस्कृतिक प्रतिष्ठान नेपालसँग संलग्नता राख्ने तिमल्सिना हाल सूर्यविनायक भक्तपुरमा बसाेबास गर्छन् । 

के शासकहरू पनि कविता लेख्छन् ?
हो शासकहरू पनि कविता लेख्छन् 
तर तिनीहरू कवितामा कविता लेख्दैनन्
तिनीहरू कवितामा लाजभाँड लेख्छन् 

के शासकहरू पनि कविता मन पराउँछन ?
हो शासकहरू पनि कविता मन पराउँछन्
तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन् 
बरु ,
निलो फिल्मजस्तो कविता मन पराउँछन्
जहाँ कविता हुँदैन 
अरू नै थोक हुन्छ भरमार 
त्यस खाले कविता शासकहरू
पार्टीको बैठक रोकेर पनि सुन्छन् !

जब शासनमा शङ्कट आउँछ
शासकहरू कवि बन्न थाल्छन्
जब नशाले झुर हुन्छन् उनीहरू
त्यसपछि ती कविता सुन्न थाल्छन् !

के शासकहरूले मन पराउने कवि पनि हुन्छन् ?
हुन्छन् हुन्छन् 
धेरै हुन्छन्
ती शासकका पैतालाको धूलोजस्तै हुन्छन्
तिनीहरूका नामको अगाडि
अनेक विशेषण झुण्डिएको हुन्छ 
महाकवि
आदिकवि
राष्ट्रकवि
युवा कवि 
आशु कवि आदि आदि !

के कविताले शासकको सेवा पनि गर्छ ?
गर्छ नि किन नगर्नु
नोकरले जस्तै सेवा गर्छ
दलाली गर्छ
चाकडी गर्छ
धूप-आरती गर्छ
भजन किर्तन गर्छ
बन्दुकले भन्दा बढी सुरक्षा दिन्छ !

शासकलाई 
मान्छेबाट भगवान बनाउने
पहिलो मान्छे कवि नै थियो
शासकलाई मान्छेबाट अलग देखाउने
पहिलो मान्छे कवि नै थियो ।

के कविहरू पनि दलाली गर्छन् ?
हैट, किन गर्दैनथे !
बेस्सरी गर्छन्
ती कविताको नाममा स्तुति लेख्छन्
र शासकलाई ढोंग गर्न जान्छन्
ती कविताको बस्त्रले
शासकको लाज छोपिदिन्छन्
र प्रज्ञा प्रतिष्ठानको जागिर पड्काउँछन् 
ती शासकको चिरायुको मङ्गलगान लेख्छन्
र जूठोपूरोको जोरजाम गर्छन् !

के कविता पनि दुई थरी हुन्छन् ?
अरे, थाहा छैन ?
हो त , दुई थरी कविता हुन्छन्
शासक रिझाउने कविता
र शासकलाई बिझाउने कविता !

कविहरू पनि दुई थरी हुन्छन्
कविता पनि दुई थरी हुन्छन् !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

बलराम तिमल्सिना

लेखकबाट थप...