पान्थरमा जन्मिएका कवि कृष्ण किराँत इतर अभियान्ता हुन् । लेखनमा एक दशक लामाे समय व्यतीत गरिसकेका कवि किराँत समाजचेतनाका विविध आयामलाई विषयवस्तु बनाएर कविता लेख्ने गर्दछन् ।
ओडेर बादलुको धुम्टो
छोप्दा छोप्दै आफ्नो लाज
कठै !
छोपी रहेछ आफ्नै कुमारीत्व-सदाकाल
शिरमा फक्ताङ्लुङ शिरबन्दी
नाकबेली झै तमोर खोलाको बुलाकी
निस्तेज छैन् अझै
अंगअंगमा विभूषण-गहना
छैन् अझै च्यात्तिएको
शरीरभरिको शोभावर्द्धक पहिरन
केवल हिजोआज-
चोमालुङ्ले होच्याएर
मधेस तेम्बेले गिज्याएर
गाउन मात्र छोडेको हो-हाक्पारे र पालाम
खेल्न मात्र छाडेको हो- एकफेरो ख्याली
ख्याल ठट्ठैठट्टामा-उहिले
तोङ्बा पिउँदापिउँदै-पैगारेनी बोजुबाजेकोमा
सुर्काएको हुँ मैले पनि-पाखुरा त
चौंठो-पेरेगो
सुनौंली-रुपाउली
सबै सबै जुटाएको हुँ मैले पनि
बिडम्बना फिजाउन पो सकिन नाङ्लोमा रित
र केलाउन सकिन
तेन्छाबा र कुटुम्ब साइनोको सम्बोधन
हो !
लोकन्दी बन्दुके लहरमा
सोचेको हुँ मैले पनि
कल्ले हुन्दै दुरान फिरानसम्म
ढाकरभरि - फूलले सजाएको उतानो बंगुर
बाँध्न पो सकिन केवल
बर्कीको एक छेउमा मायाको युपारूडं
च्याब्रुङको आवाजहरूले पटकपटक
यस्तरी चिच्याई दिन्छ मसँग
जाओ पुनः धान नाच
गाउँगाउँ हाक्पारे र पालाम
लिलाम समयको विलासमा
तोङ्बाको धङधङी सँग छाती पिट्दै
घमण्ड छ मसँग
यथास्थितिवादी हुनुमा
यतिबेला
यतिसम्म नासमझ बनी रहेछु
पत्तो छैन् छोड्दै हिँडिरहे बिहानहरू
हरेक पटक उज्यालो दिन सुम्पिएर मलाई
हाय,
यो तोङ्बा धङधङी पनि
हरेक बिहान अमिलो आउँछ,
भट्टीहरूका साँझले पो बेकार फसाउँछ दलदलमा
आलुङा छोडी दिऊँ यो कुरा
बरू जाऊ
पुनः धान नाचौँ
हाक्पारे र पालाम गाऊ
हिजो तोङ्बै तोङ्बाको नसामा बोलियो
आज सपना बन्यो,अन्धाधुन्धहरू
अब प्रतिज्ञाबद्ध
उतार्छु विपनामा इमानदारिता
पुनः जुटाउछु सुनौंली रुपैली र
फिजाउँछु नाङ्लोमा रीत
हो जानेछु
लोकन्दी बन्दुके लहरमा
फूलैफूलले सजाएर बँगुर ढाकरभरि
पुर्याउने छु तुरान - फर्काउने छु फिरान
बाध्ने छु अवश्य
बर्की एक छेउमा मायालु युपारूडं ।
ए...! प्रिय कुमारी पहाड
उधौंली उभौंलीमा उडेका काराङकुरुङबाट
एक अंश मुन्धुम लिएर
विरसता बाट पर.. पर.. छुट्याछु
होच्याइबाट उकालैउकालो उठाउछु
उघार्छु-
लाज छोप्दा छोप्दै छोपिएको तिम्रो पहिचान
च्याब्रुङ्को भन्कोसँग आँगन भएर
भित्र्याउँछु
संघार हुँदै आफ्नोपनसम्म
बताउने छु,अब
हाम्रो राजीखुसी सबैसबैलाई
एकत्र स्वरहरू
स्वीकारात्मक तिमी र मलाई
गर्नेछन् सम्बोधन सबै सबैले साईनो अनुसार
लवाजहरूमा
स्वाभाविक सम्झनु बिरानो हुनुमा
बाँड्ने नै छ अवश्य
संस्कार आनीबानीहरू बिस्तारै समयले
एक साल.....
दुई साल....
तीन साल... क्रमशः
यसरी बामे सर्न थाल्ने छन् की
नजर अड्याउनेहरू पनि समयक्रमसँगै आँगनमा
बाचा, कतै म घर अबेर फर्केछु भने
याे कुरा नभुल्नु कि
ए..! प्रिय कुमारी पहाड
यो घडेरीमा उभिएको हाम्रै घर हो
यो घरघर गोरेटो जोडिएको समाज हाम्रो हो
यो साँघुरो देश हाम्रो देश नै हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...