माप्या दूधकोशी, सोलुमा जन्मिएकी कवि अन्जना इछमफूल वर्तमान नेपाली कविताको फाँटमा सचेत र श्रमजिवी स्रष्टा हुन् ।
पत्थरबाट निस्केको
अलौलिक प्रेमध्वनि सुनेर
सिकेको हो मन्दिरको घण्टीले
जादुमयी ध्वनि निकालेर ईश्वरलाई ब्युँझाउन
उसैले सिकाएको हो
पत्थरबाट निर्मित देवताको पाउमा
निधार राखेर मानिसलाई सुस्ताउन
आफ्ना पीडा र ग्लानीहरू
ईश्वरको छातीमा थुपारेर
आफूलाई हलुका महसुस गर्न
पत्थरको घषर्णबाट आगो जन्मेको देखेर
सिकेको हो मन्दिरको दियोले जल्न
घरको चुलो चौको बाँच्न
जन्माएको हो पत्थरले नै
आगोको सभ्यता/जीवन सभ्यता
सिलौटादेखि घरको पर्खालसम्म
आँगनको डिलदेखि नदीको बाँधसम्म
पत्थरकै सहरामा लिएर उभेका छन् मान्छेहरू
तर,
नयाँ जुत्ता पाउमा पर्नसाथ
बाटोमा भएका ससाना पत्थरका टुक्राहरूलाई
लात्तले हानेर पर..... परसम्म हुत्याइदिन्छन्
थाहा छ पत्थरलाई
उसको सानो टुक्रा पन्छाउन पनि
जुत्ताको सहारा लिनुपर्छ मान्छेलाई
र सोंच्छ
यस्तो कमजोर मानिससँग के बदला लिनु ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...