इटहरीमा रहेर साहित्य सिर्जना गरिरहेका राज आशातीत प्रतिभावन कवि हुन् ।
चिसो चुल्हो,
बाउले मन पराइदेकी जहान
अनि
गोडा चारेक छिचिमिरा !
स्याउलाले बारेको महलमा
आकासको छानामुनी
असरल्ल छाडेर....
झण्डै हजार सुर्यहरूको
उदय अनि अस्त पश्चात
नगरवधुको काखमा ब्यूँतिएर
कम्ता लाग्यो र माया
आमाका लाम्टाहरूको !
चन्द्रमाहरूको लाखौँ लुकामारी छिचोलेर
कल्पिँदै नकल्पिएको
दुर्गन्धित रछ्यानमाथि
बास आइरह्यो बाउको पसिना !
असारे झैँ
उर्लिएर.....
आफैँमाथि अनियन्त्रित
मेरो इतिहास
भोलिको पुस्ता सम्झन्छु
दरपुस्ता सम्झन्छु
अनि तिनको जीवन सम्झन्छु !
अनि....
अर्कैले आर्जेको इतिहासमा
आत्मरतीमा रमाइरहेको
म
इतिहास साक्षी राखेर भन्दैछु
कति पढ्नु त्यो पुरानो इतिहास ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...