लगभग दुई दशकदेखि नेपाली कविता साहित्यमा यात्रातरत कवि दिपा एवाई राई ‘समुच्च विचार’ चिन्तनकी अभियन्ता हुन् । ‘हङकङमा समकालीन नेपाली कविता’ का सम्पादन गरेकी उनका ‘अर्धवृत्त’ र ‘श्वेत आकाङ्क्षा’ कविता कृति प्रकाशित छन् ।

देशको कुरा गर्दागर्दा 
थाकेका टाउँकाहरू
यसरी झुण्डिएको छ 
मानौँ त्यो लाखेको मुखुन्डो हो 
र नै हनुमानढोका पर वसन्तपुरको छाती तलतिरको गल्लीमा बिक्री गर्न 
लाखेका पुत्लासँगै राखिएको छ

प्राचीनता बोकेको 
यो देश भएकोले होला 
ढुंगाको भगवान पनि आखिर भगवान नै हो 
यस्तो भन्ने सोमनाथ पण्डितलाई
उहिल्यै कोरोनाले लगे पनि 
राष्ट्रपतिबाट अर्पित सुनको विभूषणमा 
कामुक जलहारी माथि 
दिनरात आरती धुपधुपरौ चली रहन्छ 
किन भने 
आस्था, कोरोना भन्दा बलवान छ

तिमीलाई त थाहा छैन होला 
यहाँ बन्द छ 
सिर्फ जनतालाई
रोगको महामारीमा खोप छैन
केवल निमुखालाई
भोकमारीको आगो यसरी सल्केको छ 
कि यो हाम्रो पेट होइन
धानको बोक्रोको थुप्रो, भुस हो ।

अचेत मान्छेको कुनै शोकसन्ताप हुँदैन 
भई गएछ भने पनि
त्यस बिम्बले कुनै धुरीको उचाई नाप्न सक्दैन 
किन भने
सत्तामा बुख्याँचा बिराजमान छ 
जसको कुनै महत्व छैन 

हिजो आज यस्तै छ 
सानोतिनो भूकम्प गई रहन्छ 
डराउनु पर्ने केही छैन 
नडराई बस्न सकिन्ने स्थिति पनि छैन 
घरिघरि पूर्व पश्चिम र दक्षिणबाट 
मनसुन गुडुलिएर आउँदा 
भारी वर्षाको कारणले बाढी पहिरो जाँदा हो 
अलिक क्षति हुने 

तिमीलाई थाहै छ 
रोल्पा रुकुम हुँदै सल्यानमा परेको भिडन्तमा 
लागेको गोलीको छर्राले 
घरी घरी जीउ, मन र मस्तिष्क गलेर आउँछ 
र पनि 
विश्व फिफा फुटबलले मन भुलाएको छ 

रातभरि फुटबल हेर्छु 
दिनभरि सुत्दा फुटबल खेलेको सपना देख्छु 
सम्झ बेतुकी बातहरू सोच्नु हुन्न 
एब्नार्मल भइन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दीपा एवाई

लेखकबाट थप...