फाल्गुनन्द ३,राँके पाँचथर जन्मिएका कवि सिरेन बान्तावा हाल झापामा बसाेबास गर्छन् । सचेतता र नवीनता उनका कविताका मूल सत्त्व हुन् ।
हरेक साँझ
जून फुल्ने क्षितिजहरूमा
दावानल हेरिरहन्छु अचेल
भयले चपाएको
थकित आँखाहरूले ।
सहरबाट देखिने
देहाती आकाशको
सङ्कुचित छात्तीलाई चिरेर
ताराहरू जल्दै झर्दाको
मृत्यु उत्सव मनाउँदै,
कर्याङ्कुरुङको ताँती
मानसरोवरको यात्रा गर्दा
देशले बुढो दिन बोकेर
मृत समयसँग संसर्ग गर्छ
तरुनी रातको बस्तीमा ।
वुहान जलेर गाउँ छिरेको
दावाग्नीले आलिङ्गन लपेटेपछि
सहर र गाउँको आँसु
चिसो हिउँझैँ पग्लिँदै
नवमल्लिकाको पहेंलो फूलमा झरेर
आँसुहरू शहिद बन्छन् ।
क्लिमिने अप्सरा पुत्र
प्रमिथसले आगो चोर्नुको परिणति
जन्जिरमा जेलिएर आफू
चिललाई कलेजो लुछाउन
स्वीकार गरेजस्तै
सिकन्दरहरूको आदेश पत्रमा
जीवनलीला र मृत्युको
हस्ताक्षर गर्न स्वीकार्नु छ ।
शताब्दी फन्को गनी आउने
दुष्चक्रले सेमुएल हेन्मेन
धन्वन्तरी हिप्पोक्रेट्स र
अश्विनीकुमारहरू
अज्ञात युगको अत्तल गहिराईमा
जलेर खरानी भएझैँ
जलिरहेछौँ हामीहरू पनि
आधा शरीर अग्निमा र
बाँकी छन् आगतका आशाहरू,
केही अवशेषहरू ।
सुनुइ जातीहरूले देख्ने सपना जस्तो
बन्जरभूमि बीचमा
या फिनिक्स चराले
खरानीमा पुनर्जीवन खोजिरहे झैँ
खोजिरहेछौँ हामी विखण्डित
भाग्य र भविष्यका सुदूर युटोपिया
भयले आक्रान्त
थकित आँखाहरूले
एक सुनौलो भविष्यलाई पर्खिएर ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...