पाँचथर बहुमुखी क्याम्पसमा अध्यापनरत मधुराज केरुङ शक्तिशाली लेखक/कवि हुन् । उनका फक्ताङलुङको फेदीबाट गजलसंग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजलसंग्रह २०७२, मारोतीका थुँगाहरू संयुक्त कवितासंग्रह (संकलन/सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु लगायत कृतिहरू प्रकाशित छन् ।
म खटमाथि चढिसकेपछि पनि
एउटा नाङ्गो सत्य भनिरहनेछु
यो देश कसैको पेवा होइन ।
इतिहासमा दबाईएका भुइँमान्छेहरूको आवाज सुन
आफ्नै भूमिबाट लघारिएका भूमिपुत्रहरूको गुनासो बुझ
पिंधमा पारिएका शिल्पीहरूको अनुहार पनि हेर
सडकमा मुठ्ठीहरू उचालेर जुलुस लगाइरहेका
जिउँदो मानिसहरूका चर्का नाराहरू पनि सुन
उनीहरू एकसाथ चिच्याइरहेका छन्
यो देश कसैको पेवा होइन ।
टाउकामा कफन बाँधेर लडिरहेका नौ जवानहरूलाई सोध
'सबाल्टर्न' कविता कोरिरहेका सीमान्त कविहरूसँग बुझ
उनीहरूका हात खुट्टाहरू धारिला तरबार भइदिए
उनीहरूका झरिला शब्दहरू बन्दुकको गोलीमा परिणत भइदिए
के देश रहन सक्छ ?
हो सबैलाई देश चाहिन्छ भने
यो देश कसैको पेवा होइन ।
एउटै रंगले मात्र देश रंगीन हुँदैन
एउटै जातिले मात्र देश सुन्दर बन्दैन
एउटै वर्गले मात्र देश धान्न सक्दैन
एउटै क्षेत्रले मात्र देश बोक्न सक्दैन
एउटै संस्कृतिले मात्र देश बाँध्न सक्दैन
एउटै वंशले मात्र देश चलाउन सक्दैन
देश भनेको साझा भूगोल हो
देशबासी भनेको सबै बराबर हो
देश कसैको पेवा होइन ।
यदि भावनाहरू मिल्यो भने मात्र देश देश रहन सक्छ
नत्र त लिटल ब्वाई र फ्याट म्यान भएर जुनै बेला पड्कन सक्छ
यदि स्वयम्भुका आँखाहरूले हेर्यो भने मात्र देश कञ्चन रहन सक्छ
नत्र त जुनैबेला मानिसको रातो रगतले सिंचन सक्छ
देश साझा फूलबारी हो
सबै जातको फूलहरू फूल्न पाउनुपर्छ
यो देश कसैको पेवा होइन ।
देश पेवा बनाउनु भनेको
देश रहनै नदिने खतराको संकेत हो ।
म आज निसङकोच भन्न सक्छु
यो देश कसैको पेवा भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...