धादिङ निलकण्ठ नगरपालिका वडा नं २ मा जन्मिएर हाल काठमाडौँमा बस्दै आएकी गजलकार सीता प्याकुरेल घरकी माइली छोरी हुन् । व्यवस्थापन तेस्राे वर्षमा अध्यययरत प्याकुरेल पढाइ सँगसँगै जागिर पनि गर्छिन् । २०७० तिर देखि गजल लेखनमा लागेकी प्याकुरेल त्यसअघि कविता लेख्थिन् । नारी संवेदना र समसायिक संवेद्य गजल लेख्ने सीता अनेकाैँ गजल प्रतियोगितामा भाग लिइ पुरस्कृत समेत भएकी छन् । उनी देशव्यापी रूपमै दर्जनौँ गजलको कार्यक्रममा आफ्नो प्रस्तुती दिएर दर्शक श्राेताहरूको मनमा बसेकी छन् । प्रस्तुत छ, हातेमालो साहित्य परिवार ललितपुर शाखाको उपाध्यक्ष समेत रहेकी सीता प्याकुरेलसँग 'द मार्जिन'का लागि संगीता थापाले गरेकाे कुराकानीः

नमस्कार सीता जी ! स्वागत छ तपाईंलाई ।
नमस्कार !  धन्यवाद ।

तपाईं अहिले अफिस (काम) मात्रै गर्दै हुनुहुन्छ कि लेखनलाई पनि निरन्तरता दिँदै हुनुहुन्छ ? 

यस्तो छ अहिले अलिकति माहौल पनि त्यस्तै छ । कार्यक्रमहरू पनि अलिक कम हुने भएर होला अलिक पछाडि नै पर्यो कि भन्ने लाग्छ, लेखनको विषय चाहिँ ।

गजल सुनाैँ न हुन्न ? 

चोटहरूको कारखाना छ, यादहरूको संग्रहालय छ ।
कहाँ सञ्चय गरौँ रोगी मस्तिष्क छ घाइते हृदय छ ।

तिमिले कुहाएर फालेको बीज हुँ कमल भएर फुलेकी छु
अझै मप्रति शंका छ ? कि तिम्रो बीज हुनुमा भय छ ?

आफ्नै आमाका सन्तानहरूले कलमलाई बन्दुक सम्झिए
नतिजा आमाकै इमानको होली खेलिँदैछ मैदान रंगमय छ।

कानुन पढेपछि न्याय खोज्न चिहानबाट उठेर आएकी हुँ
नभन्नुस् हत्याराको हातमा कानुन छ तिम्रो हातमा पराजय छ ।

केले चाहिँ यस्तो गजल लेख्न सकिने भइन्छ ? केही उपाय भए हामीलाई पनि बताइ दिनु न ।

विशेष केही लेखे जस्तो त लाग्दैन । म नयाँ मान्छे, भर्खर लेख्न सिक्दैछु । धेरै राम्रो लेख्ने धेरै मान्छेहरू हुनुहुन्छ । जेहोस् मैले लेखेको अलिअलि दुईचार जनाले मन पराइ दिनुहुन्छ, माया गरिदिनु हुन्छ, त्यसको लागि आभारी छु ।

जागिरकाे व्यस्तता त छँदै छ, यसबीचमा गजल लेखनलाई निरन्तरता दिइरहनु भएकाे छ कि छैन ?

लेख्ने कुरा हो लेखेर नै मैले दुईचार जना मान्छेहरू चिनेको छु । मलाई माया गर्ने साथीहरू पाएको छु । त्यो भएर यो कुरालाई चाहिँ कन्टिन्यू गरौँ भन्ने मनमा एकदमै छ । नछोडौँ, लेखिराखौँ भन्ने पनि छ । तर विविध परिस्थिति हुँदो रहेछ, जसले गर्दा जति सोचिन्छ त्यति लेख्न सकिँदो रहेनछ । माहौल भनेको आफूले बनाउने पनि हो । व्यस्त समयका बाबजुद पनि अलिकति समय निकालेर लेख्ने किताबहरू निकाल्ने तयारी गर्नुपर्ने हो भन्ने चाहिँ छ दिमागमा छ । हेरौँ, कहिलेसम्म लेख्न सकिन्छ ।

भनेपछि तपाईं किताबको तयारी पनि सोचिराख्नु भा छ ?

गर्नुपर्छ भन्ने चाहिँ छ तर कहिलेसम्म के हुन्छ भन्ने 'फिक्स' छैन ।

अर्काे गजल सुनाैँ न !

जाबो आँसु हो भनेर नहेप्नुस् आँसुले जिन्दगी डुबाउन सक्छ ।
मुस्कुराइ रहने कृष्णले सुदर्शन चलाए झैँ नतिजा आउन सक्छ ।

विज्ञानले आविष्कार गर्न नसकेको तथ्य छ मसँग सुन्नुहोस् 
कोही छ, यो मुस्कान हेरेरै भोको पेट वर्षौं मुकुराउन सक्छ ।

म वृद्धाश्रम जान्छु छोरा, अब उतै यो जिन्दगी कटाउछु 
यो पछ्यौरा राख्नु बाबु चिसो छ चिसोले सताउन सक्छ ।

गाली नगर्नु बालबच्चालाई बचन नलाउनु बुढापाकालाई 
विष रोपेर अमृत काँ फल्छ, साँझ परेसी घाम अस्ताउन सक्छ ।

तपाईंले गजल लेख्न थाल्नु भएको कति भो ?

गजल लेख्न थालेको मैले लगभग प्लस टु पढ्दाखेरी नै हो जस्तो लाग्छ । यहि ७० को दशकदेखि सायद शुरू गरेँ । तर शुरूमा म कविता लेख्थेँ । कसरी गजलमा आकर्षित भए ठ्याक्कै चाहिँ म भन्न सक्दिन । सामाजिक सञ्जालमा जोडिएपछि अलिअलि गजलको माहोलतिर घुलमिल भए । गजलचाहिँ कविता जस्तो लामो पनि नहुने मुक्तक जस्तो छोटो नि नहुने ठिक्कको स्टेजतिर सुनाउन पनि सजिलो मान्छेहरूले पनि टक्क याद गरिहाल्ने राम्रो भएर होला त्यो गजलको माहाैल सँगसँगै अलिअलि गर्दै गजलमा म पनि  मोडिए जस्तो लाग्छ । 

मैले त्यस्ताे धेरै देखेको छु जो गजल छोडेर कविता, कथा, उपन्यासतिर लागेर आफूले पहिला गजल लेख्थे भनेर भन्न पनि अप्ठ्यारो मान्ने मान्छेहरू तर तपाईं कविता छोडेर गजलतिर आउनुभयो, यो देख्दा अचम्म र खुसी दुवै लाग्यो । गजल लेख्दै गर्दा तपाईंले आफ्नो गजलमा आफूलाई कतिको पाउनु हुन्छ ?

मलाइ चाहिँ के लाग्छ भने, आफूले लेखिरहेको गजलहरू अरूभन्दा फरक होस् पृथक होस् भन्ने चाहनाचाहिँ सधैँ हुन्छ र अरूभन्दा अलग हुने कोसिस् गरिरहेकी हुन्छु ।



गजल पहिलेदेखि नै विवादित थियो नै । अहिले पनि त्यो कायम नै छ । कोही बहर भन्छन्, कसेले गैर-बहर भन्छन्, कोही स्वतन्त्र भन्छ, कोही अक्षर गनेर लेख्ने भन्छ । तपाईंचाहिँ कुन धारलाई समाएर गजल लेख्नु हुँदैछ ?

यो गजलको विवाद खासमा हुनुपर्ने हो जस्तो मलाई लाग्दैन । तर हरेक विषयवस्तुको दुईवटा पाटा हुन्छन्, एउटा सकारात्मक, अर्को नकारात्मक । हामीले कुन पाटो पछ्याएर जाने भन्ने कुराचाहिँ हामीमै भर पर्ने कुरा हो । विवाद नै भए पनि यसले राम्रो कुरा निकालोस् भन्ने चाहिँ मेरो अपेक्षा हो । बहरमै लेख्नुपर्छ भनिरहँदा नयाँ लेख्ने मान्छेहरूलाई अलमल हुनसक्छ । कहाँ सिक्ने, कोसँग सिक्ने भन्ने लागेर नसिक्न पनि सक्छ वा सही सिकाउने गुरु नपाउन पनि सक्छ । त्यसो हुँदा एउटा भर्खर गजल लेख्छु भन्ने लागेर आएको मान्छेले गजल लेख्नै छोड्लान भन्ने डर हो त्यो नभैदियोस् भन्ने चाहना हो । बहरमा म पनि लेख्न चाहन्छु, सिक्न चाहन्छु । तर, अहिलेसम्म मैले गजल स्वतन्त्रमै लेख्दै आइरहेकी छु । 

गजलकै उत्थानको लागि भनेर हामीले एकेडेमीक रूपमा  कसरी कहाँ पहल गर्न सक्छाैँ ? को-कोसँग समन्वय गर्न सक्छौँ ?

तपाईंको प्रश्नको उत्तर ठ्याक्कै दिन सक्दिन होला र पनि म काेसिस गर्छु । गजल आफैँमा आयातित विधा हो मैले बुझ्दा । नेपालमा नेपाली गजलको छुट्टै पहिचान भए पनि, लोकप्रियता भए पनि, कविताले जस्तो कथाले जस्तो उपन्यासले जस्तो आफ्नो ठाउँ बनाउन अझै नसकिरहेको अवस्था छ । नेपाली साहित्यको क्षेत्रमा साहित्यको एउटा सशक्त विधा हो भन्ने मान्यता अझै पाइसकेको छैन । गजलको लागि भनेर खोलिएको संघसंस्थाले आफ्नै ठाउँबाट पहल गरिरहेको छ । प्रज्ञाप्रतिष्ठानले गजल महोत्सव गरेर बहसको कार्यक्रमहरू वाचनको कार्यक्रमहरू गर्दै आइरहेको छ । अब यस्ता कार्यक्रमहरूले र स्तरीय गजलसंग्रहको प्रकाशनले पनि सम्बन्धित निकायमा पहलको लागि बाटो बनिँदैछ भन्नेचाहिँ हो ।

लकडाउन हुनुभन्दा अघिसम्म कतिपय गजलकारहरूलाई कार्यक्रम भ्याइनभ्याइ हुन्थ्यो । पारिश्रमिक लिएर गजल कार्यक्रममा गजलकारहरू हिँड्न थाले रे भन्ने सुन्दा मात्रै पनि खुसी लाग्छ नै । यो विषयमा तपाईंको अनुभव कस्तो ? तपाईं पारिश्रमिक लिएर हिँड्नु हुन्थ्यो कि बिना पारिश्रमिक ?

यस्तो छ, यति पैसा नदिएसम्म, यति पारिश्रमिक बिना म आउँदिन भन्नेसम्मको हैसियत मेरो बनिसकेको छैन । डिमान्ड गर्न योग्य छु जस्तो मलाई लाग्दैन । म भन्दा अग्रज गजलकारहरू हुनुहुन्छ, जो नेपालमै नं १ र नं २ भनेर भन्न सकिने गजलकारहरू उहाँहरूले आफ्नो हाइट बनाइसक्नु भा'छ, राम्रो पारिश्रमिक लिएर कार्यक्रममा हिँडिराख्नु भाछ, यो खुसीको कुरा हो तर मलाई त्यो ठाँउमा पुग्न अझै समय लाग्छ ।

पुनः गजल सुनाैँ न ।

फुटेको सिसा आफ्नो छातीमा सम्हाल्न को सक्छ ?
यो दिल पत्थर हो पत्थरलाई पगाल्न को सक्छ ?

प्वाल परेका मुटौ जस्ता हुन् यी मेरा आफन्तहरू 
प्वाल पर्दैमा आफ्नै मुटु काटेर फाल्न को सक्छ ?

रहरले पनि म सक्दिन भनेर हात उठाइ सक्यो 
यी आँखा भत्केर बनेका खाडल पखाल्न को सक्छ ?

आफैँले फाले होस हवासमा मन मान्दै मान्दैन
मुटुको टुक्रालाई जिउँदै नदीमा खसाल्न को सक्छ ?

हामीलाई समय दिनुभयो हार्दिक धन्यवाद सीता जी ।

मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभो, यो अवसरको लागि आभार, धन्यवाद ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार