प्रशिद्ध रेनेसा कलाकार राफेल (१४८३–१५२०)का बुवा गियोभानी सान्टी हुन् । गियोभानी आफैँमा कवि, चित्रकार तथा राम्रो कथावाचक थिए । राफेलले आठ वर्षमा आमा र ११ वर्षमा बुवा गुमाएका थिए । लाग्छ, राफेलको अभिभावक भनेकै कला भयो । कलिलो उमेरमा राफेल कलाकार पेरुगिनोबाट प्रभावित भए । उनी फ्लोरेन्समा चित्रकारिता सिकाउँथे । राफेल २० वर्षे उमेरमा फ्लोरेन्समा सर्दा आफैँ प्रशिद्ध कलाकार भइसकेका थिए ।
उनले २० र २१ वर्षकै उमेरमा रेनेसा (पुनर्जागरण) कालकै मास्टरपिस पेन्टिङ ‘मोन्ड क्रुसिफिकेसन’ (१५०३) र ‘म्यारिज अफ द भर्जिन’ (१५०३) बनाइसकेका थिए । फ्लोरेन्समा उनले लियोनार्दो र मिकलान्जेलोका प्रगतिशील शैलीको अध्ययन गरे र वास्तविक रेनेसा पेन्टिङ ‘मालाडेना’ र ‘एङलोनो डोनी’ बनाए ।
त्यसो त राफेलका फ्रेसो (भित्ते पेन्टिङ) पनि उत्किृष्ट थिए । पोप जुलियसको निवासमा अरू कलाकारसँगै राफेलले फ्रेसो बनाउँदै थिए । उनको फ्रेसो यति राम्रो भयो कि पोपले अरू कलाकारलाई निकाली नै दिए । पोप जुलियस मरिसकेपछि रोममा राफेलको प्रशिद्धि झनै चुलियो । पोप लियो दसाैँलाई सन्काह मिकलान्जेलोसँग भन्दा शान्त र हँसमुख राफेलसँग सहज भयो । त्यसैले नै उनले ‘द ट्रिम्प अफ गालाटिया’ जस्ता अद्धितीय फ्रेसोहरू बनाउन भ्याए ।
कथन अनुसार, सेन्ट मार्गरेटालाई क्रिस्चियन भएकै कारण जमिनमूनिको सुरुङमा फालियो । त्यहाँ उनले दैत्यको सामना गर्नु पर्यो । दैत्य ड्रागनको स्वरूपमा आयो । तर जसै उनले क्रसलाई हातमा उठाइन्, त्यो ड्रागन लोप भयो । अर्को कथनका अनुसार, ड्रायगनले मार्गरेटालाई निल्छ । तर, भित्रैबाट उनले क्रस उठाउँछिन् । अनि ड्रायगनले मुख खोल्छ र उनी बाहिर निस्किन्छिन् । खैर, किस्सा जेसुकै होस्, राफेलले यसका दुई भर्सन बनाएका छन् । एक पेरिसको लुभ्रमा छ भने अर्को भियनामा ।
लुभ्रको सेन्ट मार्गरेटामा केही विशिष्ट विशेषताहरू छन् । ड्रायगनले ठाडो होइन, घोप्टो पारेर मुख बाहेको छ । यसलाई पेन्टिङको इतिहसकै एउटा डरलाग्दो दृश्यका रूपमा लिइन्छ । यसका आँखा चम्किला र राता छन् । यसको नाकको स्वरूप मान्छेको जस्तो छ । रातो र फराकिलो मासंहारी मुख मार्गरेटालाई निल्न पर्याप्त छ ।
लुभ्रको सेन्ट मार्गरेटा
अर्कोतिर, मार्गरेटालाई विजेता जस्तो रूपमा प्रस्तुत गरिएको छ । राफेलले यसमा मार्गरेटालाई ‘भिक्टोरी’को मूर्तिका आधारमा उभ्याएका छन् । उनले हातमा विजयको लरेल समातेकी छन् भने खाली पैतालाले नरमसँग ड्रागनको पखेटामा टेकेकी छन् ।
राफेलले उनलाई एकदमै सुन्दर आवरणमा चित्रण गरेका छन् । उनी नारीसुलभ त छन् नै, यति हुँदा पनि राफेलले उनलाई निरीह रूपमा प्रस्तुत गरेका छैनन् । उनी चम्किलो निलो लुगा तथा रातो दोपट्टामा खुलेकी छन् । उनको सुनौलो कपाल छातीसम्म झरेको छ ।
छिडबाट सुरुङमा प्रकाश छिरेको छ । प्रकाश मार्गरेटाको मुहार र अघिल्लो भागमा परेको छ । ड्रायगन अँध्यारोमा लडेको छ । राफेलको प्रकाशको बिम्बले भन्छ, प्रकाशले त्रासलाई जित्छ, सुन्तरता र न्यायले खराबलाई हराउँछ ।
भियनाको सेन्ट मार्गरेटा भने केही फरक छ । यसमा ड्रायगनले तेर्सो पारेर मुख बाहेको छ । यसमा चम्किला र राता आँखा छैनन् । मुख रातो र फराकिलो नै छ । मार्गरेटाले हातमा लरेलको सट्टा क्रस समातेकी छिन् । चित्रमा ड्रायगनको पखैँटा देखिदैन । उनको निलो लुगा तथा रातो दोपट्टा लुभ्रको भन्दा चम्किलो देखिन्छ । यसमा मार्गरेटाले कपाल सपक्क बाटेकी छिन् ।
राफेलका पेन्टिङले धेरै पछिल्ला कलाकारहरूलाई प्रभावित तुल्याएको छ । आधुनिक कलामा समेत आफ्नो छाप छोडेको छ । ‘दा भिन्चीले स्वर्ग ल्याउने कुरा मात्रै गर्छन् । तर, राफेलले हाम्रै सामुन्ने स्वर्ग नै ल्याइदिन्छन्’ पिकासोले भनेका छन् । (जोनाथन जोन्सको गार्जियनमा प्रकाशित कला समीक्षामा आधारित)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...