सोमिप्मे
सुन्यौकि हृदयको यो आवाजलाई 
मारुङतेम्बेको बतासमा बयेली खेल्ने मुजिङ्नाखेयङ्नाको वैँशालु सुसेलीजस्तो 
तमोर किनारमा बसेर समर्पणको धुन भर्दै गाइने हाक्पारे साम्लोजस्तो 
माङयुङ लुङमा पाती चढाएर जाने बटुवाको  मनोकामनाजस्तो 
चाहनाको पखेटा फिँजाएर तिम्रो मनतिर उडान भरिरहेको 

महसूस गर्यौकि यो चीजलाई
एक थुङ्गा सेक्मुरी फुङजत्तिकै जीवन्त
मेरो अस्थिपन्जरको तारघेरा नाघेर तिम्रो ममताको छहारीमा हाम फालिरहेको यो पकलुङ 

निम्तो छ आऊ सुकाऔं हाम्रा सपनाहरुको बिस्कुन सेहो?नाम्लाङको छातीमा 
संकल्प छ उतारौं हाम्रा दुःखहरुको डुङ्गा मिक्लाजुङको पाखामा 
कामना छ बदलौं तमोर र माईखोलाको प्रेमकथालाई सुखान्तमा  

साक्षी राखेर खुवालुङ 
थालौंकि एकसाथ जीवनको नयाँ अध्याय 
कि यो जीवन, मूलबाटो अन्तै मोडिएपछिको उजाड देउराली नबनोस् 
न बनोस् जीवन, रहरका भंगालाहरु छिचोल्दाछिचोल्दै बगरमा बिलाई जाने रतुवा खोला
सिँचिदेऊ मेरो बन्जर हृदयलाई तिम्रो स्नेहको काबेलीले 
उभ्याऔं हामी यही भूगोलमा प्रेमको एउटा छुट्टै मुक्कुमलुङ 

ए सोमिप्मे 
गाह्रो छ विनाशको हुरी थामेर एक्लै फक्ताङलुङ उभिइरहनु  
जति गाह्रो छ सबैसबै सुकाउने चेतनाको खडेरीमा यो सभ्यताको नदी बगिरहनु 
आऊ ढाकौं मश्तिष्कहरुको फुङ्सेनलाई रोपेर सिङ्जाङ्गो फुङ जागरणको 

लाखे है
कसैले लुकाई राखेको हुनसक्छ हतियार अरुण नदीको बगरमा 

नडराउनू ए सोमिप्मे 
अब त विचारको बलियो हतियार छ हाम्रो हातमा !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

बच्चु हिमांशु

लेखकबाट थप...

सम्बन्धित समाचार