जुम्लामा जन्मेका कवि तथा अधिकारकर्मी मिमबहादुर परियार दलित, बञ्चित, शाेषित तथा उत्पीडितकाे पक्षमा कलम चलाउछन् ।
मैले कहिल्यै थाहा पाइन
ताराले जुनलाई जात सोधेको
सागरले महासागरलाई गोत्र सोधेको
खोलाले नदीलाई घर सोधेको
हिमालले पहाडलाई थर सोधेको
यी सदियौँदेखि मिलेका छन्
आफ्नै संसारमा भुलेका छन् ,
रमाइरहेका छन्, बाँचिरहेका छन्
शान्त निष्कलंक स्वच्छ छन्
एकले अर्कोलाई अजम्बरी साथ दिएका छन् ।
मलाई त्यो देख्दा डाह लाग्छ !
अक्सर जुनेली रातमा जुनलाई प्रश्न गर्छु
साउने भेलमा उर्लने नदीको उछाललाई भन्छु
वसन्तको पहिलो बारमा पर्वतलाई बोलाउँछु
किन मेरो देशमा यस्तो
किन हाम्रा मान्छे यस्ता
मान्छेले मान्छेलाई किन सोध्छन्
अफ्ट्यारो प्रश्न
सुन्दा झसङ्ग हुने , थाहा पाउँदा तर्सिने
नमिल्ने नचल्ने नमान्ने नहुने नदिने ।
मैले कहिल्यै थाहा पाइन
राजु, शिव, कुलेन्द्र, शान्तिश्रीलाई
लाखौँलाख कान आँखाले जात सोधेको
मैले कहिल्यै देखिने
सोमपालको १४१ रफ्तारको थर सोधेको
पुजनको पासमा पृति रिसाएको
मैले कहिल्यै बुझिन
किन लाखौँलाख भोटको जात सोधिन्न
किन हजारको नोटमा मान्छे तर्सिन्न ?
कस्तो अचम्मको चलन !
किन अस्पतालका शैयामा रगतको जात सोधिन्न
किन लडाइँको मैदानमा साथको गोत्र सोधिन्न
कस्तो अचम्मको प्रश्न
गार्हो अफ्ट्यारोमा भुल्ने, नचाहिने
घरको आँगनमा सम्झीसम्झी सोध्ने
सुन्दा तर्सिने झस्किने रिसाउने खुत्रुक्कै हुने
अरू होइनन् हाम्रै मान्छे खिस्याउने जिस्काउने
पल पलमा रुवाउने ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...