यानिन्द्र तिगेला धनकुटामा रहेर कविता विधामा कलम चलाउने एक स्रष्टा हुन् । समाजका हर  र विषयवस्तुलाई टपक्क टिपेर कवितामा प्रस्तुत गर्नु उनकाे विशेषता हो ।

बिहानै उठेर जानु छ,
रित्तो हात
ल्याउनु छ, 
प्राण धान्ने अनाजहरू,
माझ्नु छ,
जुठो गिलासहरू
बोक्नु छ,
महाजनको झोलाहरू
हिँड्नु छ
हेर्दै आशातित किरणहरू

भाँडा माझ, जुठो टिप
टेबुल पुछ, लिप
चुलोमा आगो बाल
गाईलाई कुडो बसाल
गोबर सोहाेर
भात पका
अचार पिस
तरकारी काट
पका रातो पारेर
बसा तातो पानी
गिलासमा सार
ले यता मेरो छेउमै
खुवाउँदै चम्चाले
भएन तलाई अलिच्छिनी
तेरो ढंगरंग
छैन, थुक्क ?

सानी चुपचाप सुनिरहन्छे
गरिरहन्छे आफ्नो कर्म
माहाजानले सताएको त्यो दिनहरू
हरेक रात सम्झिरहन्छे
के साँच्चै म गरिब हुँ ?

स्वार्थ पुरा गर्नेहरूको
लर्कोले मेरो जिन्दगीका सपनाहरू
बलात्कृत भएका छन्
पिटिँदै, घाँटी निमोठिएर हत्या गरिएका छन्,
मखुभरिको शब्दहरूले मेरो कानका जालीहरू
फुट्ने गरी तर्साइएका छन्,
आँशुका भेल बनेर निथ्रुकै भिजेका छन् सिरानीहरू
हरेक रात अनिद्रा भएर
टोलाई रहेका आँखाहरू
सपनाको शहर खोज्दै 
भत्किएका छन् हरेक इच्छा र चाहानाहरू
तिनै भत्किएका मनहरू
कसैको दुःख बाँड्ने गीत बन्यो
कसैको रहर मार्ने संगीतको धुन बन्यो
कसैको इच्छा पूर्ति गर्ने टार बन्यो
तर बनेन मेरो सपना
त्यसैले म नोकर हुँ, चाकर हुँ
सबैको सपना पूरा गर्ने गरिब हुँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

यानिन्द्र तिगेला

लेखकबाट थप...