बादलदेवी चाम्लिङ एक सक्रिय स्रष्टा हुन् । उनका पाठेघर  कविता सङ्ग्रह २०७४,वीर्य जमिन  कविता सङ्ग्रह २०७६ प्रकाशित छन्। उनी साहित्यको अलवा शिक्षण पेशामा आबद्ध छिन् ।

तपाईंको आफ्नो आँखा फुकालेर छेउमा राख्नुस्
अमानव हुनुस्
र सुन्नुस्
म एउटा दृष्य पस्कँदैछु ।

चौबीस पच्चीस वर्ष जस्तै देखिने उनी
बोक्सी , चोर या वेश्या यस्तै केही हुन् रे
बाटोको दुवैपट्टि
नालीको डिलभरि मान्छेहरू लस्कर उभिएका छन्
सजाय हुन्छ आज
आवाज यस्तै सुनिन्छ
भिड उठ्दैछ ।

भकाभक उनीमाथि मुक्का बररर बर्सन थाल्छ
कपाल फुकेर हावामा फुरुरुरु उडिरहेको हुन्छ
घाँटी, ढाड, अनुहारमा रगत भलभल बग्दैछ
भीड तातेको छ,
भीड मातेको छ ।

भकुन्डो जस्तै

मुक्काले उछिट्टिन्छिन् परपरसम्म
उठ्छिन्
फेरि ढल्छिन्
पसिनाझैँ रगत पुछ्न फुर्सद छैन उनलाई
मानौँ
भीड
बर्खाको भेल हो
उनीमाथि उर्लँदैछ ।

शरीरमा कपडा थोरै बाँकी छ
त्यो पनि नाजुक छ
मट्टीतेल छर्किएर अब
आगो सल्काइन्छ ।
हातले आगो झार्न खोज्छिन्
हातै पोल्छ
कतै टाढा भाग्न खोज्छिन्
ज्वालाले आँखा छोपीदिन्छ
लर्बराउँदै बीच बाटोमा ढल्छिन् ।

आत्था पोल्यो..... नमिठो चिच्याउँछिन्
यसबेलाको पीडा
मेरा शब्दहरूमा हैन

उनैमा छाम्नुस्
क्रुरताको पराकाष्ठाको पारो
त्यही भीडमा नाप्नुस् ।

फुत्त एउटा छोरो मान्छे निस्कन्छ
एक भाँडो पेट्रोल उनैमाथि हुत्याउँछ
हुरुरुरु लप्का एक छानो उठ्यो
उनको शरीर झस्के झैँ देखियो
हातका औँला अलि अलि चल्लैथिए
त्यहि पनि बन्द भयो ।

लौ अब
तपाईंको आँखा खोल्नुस्
मानव हुनुस्
र गम्नुस्
यो दृष्यमा तपाईं कहाँ हुनुहुन्छ ?

 

प्रस्तुत कविता 'पाठेघर' कवितासङ्ग्रहबाट लिइएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

बादलदेवी चाम्लिङ

लेखकबाट थप...