देवान किराँती, पचास दशकको प्रारम्भदेखि नेपाली साहित्यमा सक्रिय नाम हो । इटहरी निवासी कवि किराँती स्प्षट वक्ता हुन् । उनको 'हुरीमा नाचिरहेको ईश्वर' कविता कृति पनि प्रकाशित छ ।
१. सरकार चिन्दैन मलाई
सरकार !
तिमी चिन्दैनौ मलाई ।
म यै देशको नागरिक
जो यो देशको रितलाई नबिराइ पालना गर्छु ।
सरकार !
केही प्रश्न सोध्नु छ मलाई ।
पाठशालामा किन ?
लागिरहेको छ- सरकार विरुद्ध जुलुस ।
विश्वविद्यालयको पुस्तकालयमा किन ?
लागिरहेको छ- आगो ।
घुयात्रो किन ?
सरकारकै टाउको ताक्छ ।
के पाठ्यक्रममा
आगो ! आगो र मात्रै आगो ! लेखिएको छ ।
सरकारको सन्देश सञ्चार भएपछि
किन ?
गृहकार्य गर्दिन भन्यो- छोराले ।
पेन्सिल तिखार्न छाडेर- छोरी,
किन उध्याइरहेछ खुकुरी ।
आमा मुट्ठी कस्दै , किन ?
भुनभुनाइरहेको छ
लगा, धारिलो गरी धार लगा
हुन्न, यसरी हुन्न
च्वाट्टै ‘ ‘ ।
कसले सल्कायो ?
मन्दिरको दियोमा- धर्मको अध्याँरो
कसले छुट्यायो ?
कुवाको पानीमा- तिर्खाको रङ्ग
हृदय जो सुसेल्नु पर्ने हो
प्रेमको कोमल संगीत
तर झोसेर घृणाको आगो
कसले तापिरहेको छ ?
प्रेम जलेको ताप ।
वर्षौंदेखि
सडकको किनारैकिनार
शान्त , हिँडिरहेका मानिसहरू
आँधीको जुलुस बोकेर
किन रु कुदेको होला
सरकारको दरबार अगाडिकै बाटो भएर
किन उफ्रेको होला ?
सरकारकै प्राङ्गणमा उभिएर ।
आफ्नै संघारमा
जीवनको विनाश हेरेर
झ्यालहरू र आँखीझ्यालहरू खुल्लै राखेर
किन ?
रत्यौली खेलिरहेछ सरकार- दरबारभित्र ।
सरकार !
तिमीले चिन्नु पर्छ मलाई
म यै देशको नागरिक
जो यो देशको रितलाई नबिराइ पालना गर्छु ।
सरकार,
यसबेला मलाई सान्त्वना हैन
उत्तर चाहिएको छ, उत्तर ।
नभए, सरकार !
म खिलाफमा छु.........।
२. कविता खास केही हैन
यो बेला
कविता कुनै खास कुरै हैन ।
हतियार न नचाउँदै नाचिरहेको छ मृत्यु
त्राहीत्राही छ दुनियाँ
भाग्दाभाग्दै हराएको बाटो खोजिरहेको छ मानिस
सरकार विरुद्ध कुदिरहेका छन गुनासाहरू
आफै विरुद्ध असन्तुष्टि पोखिरहेछ सरकार
यो बेला
कविता खास कुनै कुरै हैन ।
हिरोसिमाको मृत्यु
हिटलरको ग्यास च्याम्बर
या कुनै धार्मिक युद्ध
या कुनै जातीय द्वन्द्व
या कुनै वर्ग विद्रोहको मृत्यु
त्यो भन्दा लाखौँ बढी दर्दनाक मृत्यु मर्न
विवश छ मानिसहरू
र बाँचेकाहरू पनि
त्यो भन्दा विरुप मृत्युको नजिक उभिएर भनिरहेका छन्
भोक भरौँ कि रोग भागौँ
रोग पोखौँ कि भोक भागौँ
यो बेला झन्
कविता कुनै खास कुरो हुँदै हैन ।
जब हामी
हाम्रा स-साना चौकहरूमा
रमाइला दिनहरू बिताउने छौँ
त्यो भन्दा पर पनि
एउटा शान्त देशमा
एक अर्काका खुसीहरू सुन्नेछौँ
त्यो बेला
कविता खास केही हुनसक्छ ।
जब हामी
हाम्रा गाउँहरूमा बन्द भएका
सानासाना पाठशालाहरू खोल्ने छौँ पुनः
र पढाउने छौँ
रोगको आँधी
भोकको भुमरी ।
देखाउने छौँ,
इतिहासका तस्वीरहरू क्रमबद्धः
खुनी अनुहार
हिंस्रक मगज
निर्लज्ज हत्यारा
इतिहासको अन्तिम पागल पात्र
र हामीले जितेको इतिहास
त्यो बेला
कविता केही खास हुन सक्छ ।
यो बेला
हामी अत्यन्तै नजिक भएका छौँ
निरङ्कुस
हिंस्रक
पीडाहरूको ठिक अगाडि
र जब हामी विजयी हुनेछौँ यहाँ
कविता
खास विशेष हुनेछ हाम्रो ।
(विशेष खास हुने छ हाम्रो)
३. घाटसम्म हिँडेका मानिसहरू
सडक किनारामा उभिएर हेर्नु ।
बिस्तारै हिँडिरहेका मानिसहरू हेर्नु
हतारमा हिँडिरहेका मानिसहरू हेर्नु
हातमा केही नबोकी हिँडिरहेकालाई हेर्नु
काँधमा भारी बोकेर हिँडिरहेकालाई हेर्नु
केही लेनादेना गरिरहेका
केही खोसाखोस गरिरहेका
हेर्नु , निन्याउरो अनुहारमा हिँडिरहेका मानिसहरू हेर्नु
हाँस्दै , रमाउँदै हिँडिरहेका मानिसहरू हेर्नु
सडक किनारामा उभिएर हेर्नू ।
काम गर्दै गरेका
माग्दै गरेका
केही नदिँदै गरेका
गाली या अर्ती जस्तै केही दिँदै गरेका
या म जस्तै बेअर्थ
सडक किनारामा टोलाइरहेका मानिसहरू हेर्नु ।
सबै-सबै हेर्नु
र भन्नु
बिस्तारै या चिच्याएर भन्नु
तिमीहरू सबै घाटसम्म हिँडेका हौ ।
पत्याउने छैनन् उनीहरूले
फेरि उसरी नै भन्नु
म पनि घाटसम्म नै जाने हुँ
पटक्कै पत्याउने छैन उनीहरूले
तर फिकर नगर्नु
जुन समय
निश्चित घाटमा हुनेछन् उनीहरू
थाहा पाउने छैनन् उनीहरूले
कि,
म घाटमा छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...