मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा  (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको  साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।

तिम्बुङ् पोखरी ‘अक्कर पहाडको टुप्पीमा अवस्थित सुरम्य ताल छ’ भन्ने वाक्यांशले सधैँ मेरो मन तानिरह्यो, कहिले जाउँ भनेर । हुन त ‘मनको लड्डु घ्यूसँग खा’ भने झैँ कहिले नपुगेको स्थानमा नानाथरी मनहरू खेल्नु अनौठो थिएन र मन खेल्नु समाधान पनि नहुने रहेछ, नपुगिञ्जेलसम्म । साँच्चै कस्तो अक्कर पहाड ! अनि कस्तो पोखरी, कहाँबाट पानी जम्मा भएको होला ? बाटो, जंगल, खोला, चउरहरू कस्ता छन् होला ? त्यहाँ के-के पाउँछ होला ? गाउँबस्तीहरू छन् कि छैनन् ? चोकहरूमा थुप्रै घरहरू होला । चौंरी भेँडाहरू थुप्रै पाइन्छन् होला । पोखरी, माटैमाटोले घेरेको होला या डाँडा थुम्कोमा छ कि ? अनि त्यहाँ त नागहरू पनि देखिन्छन् रे, पानी उम्लिन्छ रे, पहिले त बन्दुक जस्तो डुम् डुम् गरी पड्किन्थ्यो रे । डलर पैसै–पैसाहरू पोखरीभित्र देखिन्छन् रे । भाग्यमानीहरू जाँदा पोखरीमा नाग देखिन्छ रे अनि पोखरीको आकाश खोल्छ रे आदि–आदि ‘रे’का यावत कुराहरूले मेरो शरीरका रसायनहरू एकीकृत गरी मनहरू एकोहोरिएर उतै तान्यो, खेल्यो, जेल्यो अनि ठेल्यो । अन्तमा त्यहाँ नगई धरै पाइएन साहित्यकार भवानी तावाको व्यवस्थापनमा । 

‘ए,
तिरवेनी तिरमा, इङ्वाको शिरमा
तिते ना ताँती, च्याङ्थापु माथि
इङ्वाको पानी, जानी र जानी
सुनैको रस पुगेरै बस 
..........’ यसरी जाँदैछ मनहरू सशरीर, एउटा ख्यालीमा ।

२०७५ भाद्र १३ गते बिहानै जन्तरे गुरुजीको ट्याक्सी नं. ३७२ मा म भवानी तावा, अनिल तावा र महेन्द्र सुहाङ् चारजना चढेर गोपेटारको आशिष होटलमा खाना खाई बेलुका अविरल वर्षासँगै प्लाष्टिक ओडेर चन्द्रहाङ् योङ्हाङ्को घरमा पुग्छौँ । ओयाम बजार मुखमा पहिरो झरेकाले स्क्याभेटरले चारपाँच घण्टा खनेर बेलुका साँझपरेसम्म खोल्छन् तर वर्षा अविरल छ, सासै थुनुञ्जेल । १४ गते मुसलधारे पानीका कारण यात्रा स्थगन तर इङ्वाखोलाका कान्ता गिरिको मूल खुङ्खोला दोभानको तीतेमाछा ताजा पकाएर खान्छौँ । १५ गते बिहान खानाखाई आठ बजेतिर चन्द्रहाङ् योङ्हाङ्, जीवन योङ्हाङ् र रमेश (धनबहादुर) दाहाल गरी सातजनाको टोली हिँडेर निकाश चोकमा बास बस्न पुग्छौँ, चोक मालिक हस्त भण्डारी । १६ गते सानो पाथीभरा, देउराली हुँदै बिहानको खाना बिखेचउरमा खाएर बेलुका ठूलो भञ्ज्याङ बास बस्न पुग्यौँ, चोक मालिक रत्नबहादुर बानियाँ ।

आकाशे उकालोदेखि माथि छोरेनी डाँडासम्म जुकाहरूको घना सहर रहेछ । विष छर्केकाले त्यत्रो बजार देखिएन । पारी घना जंगल, अनि कत्ता–कत्ता एकाध गोठ या घर देखिने, इङ्वाखोलाको एकोहोरो सललल आवाजभित्र बेलामौका कुकुरहरूको सुरिलो धुनहरूले मन साँच्चै लोभाउँछन् । उकालो, जत्ति थकाइ भएपनि । घना जङ्गल बीच झण्डै टेक्सी अँट्ने बाटाहरू, बुढो रूखहरू, पट्यारलाग्दो एकान्त, कालिज, चिलिमे, मुनालहरू बेलामौका देखिने, अनि चरनका चौरी प्रजातिहरू भेट्दै जान्छौँ । उकाली युद्धको रणमैदानीमा निथ्रुक्क ज्यान भिजाएका बेला चन्द्रहाङ् योङ्हाङ्ले मनमा सन्त्रास बढाइदिनु भो । ‘हाउ, केटा हो, यो सुनपातीको बासना र गिद्धेझारको बासना दुवै एकैचोटि श्वासमा पर्यो भने ठाडै खुत्रुक्कै होइन्छ है । यो गन्ध लागेको दुईमिनेटमा लेक लाग्छ । गिद्धेझार नजिक नहिँड्नु र तर्केर हिँड्नु पर्छ  ।’ वाफरे! रणमैदानी तनाव हुन्छ, हामीलाई । उकालो युद्धको अर्को कडा मिसाइल क्षेप्यास्त्र । कहिले गिद्धेझारको वासना नाकमा आउने हो ? साला, युद्ध समाप्त । देउराली पुगेपछि सूनपातीको वासनाले नाकमा स्पर्श गर्दैछन् र अब रह्यो गिद्धेझारको । अन्तमा त्यो मिसाइल क्षेप्यास्त्रले पनि भ्याएन । उकालो युद्ध जित्छौँ, मज्जैले । कोप्चे चोक पुगेपछि आनन्द ।

पोखरीताल चोकसम्म पुराना धुपीसल्लाको अग्ला–अग्ला रूखहरू, गुराँसका विभिन्न प्रजातिहरू भेटिँदो रहेछ, देख्दैछु । उनीहरूले पनि एकोहोरो ‘यो मोरो हदै भए तिम्बुङ् पोखरी हेर्न गको त होला नि, बाठो भएर उकालो घस्रिँद्रै जाँदैछ’ भनेर गिज्याउँदै उभेको जस्तो लाग्छ । हजारौँ वर्ष अघिदेखि ठिङ्ग उभेर मेरो उकालो यात्रा निर्मिमेश हेर्दै गरेको देख्छु । बाटामा फलामे हतियारलाई शान लगाउने मिल्ने स्लेटका फप्ल्याटाहरू, पाँचऔँले, एक्लेबिर, खोकिम, गिद्धेझार, सूनपाती, सिक्टा, विखमा, कालोविष लगायत थुप्रै जडीबुटीहरूले मुसुक्क हाँस्दै स्वागत गर्दै बसिरहेका देख्छु ।

पाःन्थःर् भन्दा ताप्लेजोङ्पट्टि फावा र तावाखोलाका गाउँहरू साँच्चै लोभलाग्दो गरी देखिन्छन् । आकाश रिसाएर लुकुनी ओडाएमा देख्न सकिन्न ती गाउँहरू, औलाले देखाउँदै भन्दैछन् रमेश दाहाल । कहिले कुम्भकर्ण नजिक देखिने, निरन्तर उकालोमा कहिले तेर्सोबाटो आउने, पाटीपौवा, चौरीहरू छेक्ने गौडा, ठूलाबाक्लो जंगल, मसिना बुट्यान जंगल आदिहरूको कारणले पनि हजाराैँ किलोग्रामको थकावटहरू दृष्यताको फु-मन्तरले च्वाट्टै, जत्ता पुगे पनि अनि जहाँ बसे पनि । 

यसरी जाँदाजाँदै अचम्म लाग्छ, कोप्चेचोक पुग्ने बेला तेर्सो बाटोमा एउटा सानोकुवा जगसहित भेटिन्छ । तेहाँ भवानी तावाले थोरै पानी पिउँदैछन् । ‘माथि थुम्की भित्तापट्टि बादल बटारिँदै गरेको देख्छु र हतारले फोटो लिने तयार हुन्छु । बटारिँदै–बटारिँदै त्यो बादल तल–तल हामी भएतिर झर्दै गरेको देख्छु । बटारिएको बादल चैँ हामी नजिक पुग्दा हावा भएर झारहरू हल्लाउँदै कुवामा विलिन हुन्छ ।’ अचम्म ! मलाई रिङ्गटा लागे जस्तो हुन्छ, ‘हैट के पो देख्नु पर्यो’ भनेर मनमनै सोच्दै हामी हिँड्छौँ, अर्को दुःख पनि लाग्छ । यस्तो सुन्दर र खुल्ला रमणीय भूमिसँग माफ माग्छु । कोप्चेचोक नाघ्ने बित्तिक्कै मलाई अचानक शाैच गर्न मन लाग्छ । न यहाँ शाैचालय छ नत कुनै बुट्यानहरू नै, अथवा नाःङ्बुत्ते । सिर्फ बादलले यत्ति बाक्लो लुकुनी लाइदियो कि झण्डै दुईमिटर पर्तिरका कुनै वस्तुलाई चिन्न नसकिने गरी नै । त्यै मौका छोपेर पेपरको माध्यमले खुल्ला शाैच गर्छु । सारै खल्लो र दुःखद जीवनमा भन्ने लाग्छ ।



हुनु त कालीखोलाको झोलुङ्गे पुल नाघेपछि लगातार उकालोहरूले यस्तो आक्रमण गर्छ कि गोर्खा सेनाहरूले याक्थुङ् लाजे? माथि गरे झैँ । हरेश शरीरले खाएपनि आँखा पिपाशुले हरेस नखाँदो रहेछ । ती उकालोहरू नाघ्न । कुवापानी, थाम डाँडा हुँदै छोरेनी उकालोको पहिलो आक्रमण निर्मिमेशमै विजय गर्छौं । यसरी नै सानो पाथिभरा, पोखरीताल, देउरालीका उकालोहरू पनि विभिन्न युद्ध सामग्रीहरू प्रयोग गरेरै जित्छौँ । वास्तवमा त्यस रुटमा न गाउँ पाइँदो रैछ नत चोकहरूमा धेरै घर र पसलहरू । गोठलाई चोक भनिँदो रैछ र चौंरीभेडाहरूको बथान मात्रै । पसलको नाम त तलै गाउँ आकाशे काली खोलामै छोडिएर गएको रहेछ, के थाहा पहिलो यात्रीले । हुनु त पाङ्दुवाको करेङ्–करेङ् भएर उकालीएको बाटो हुँदै कोप्चे चोकदेखि रूख र बुट्यानहरू नपाउने झारपाते स्पर्श भई चन्द्रहाङ् घ्याङ्, थाङ्मा खोला, दण्डुबारी चोक हुँदै ठूलो भञ्ज्याङ्सम्म वास्तवमा चउर प्रकारका, जुका विहीन शान्त र बसेको स्थान छ ।
बिखेचउर चोकमा जीवन भाइको ‘उल्टी फ्लाँस’ अभिनयले आन्द्रा भुँडी नै यस्तरी बट्टारिने गरी हँसीमजाक छ । लाग्छ, चार्लिच्याप्लिनको बाजे नै भन्नुपर्ला, यो समय ।

भाद्र १७ गते, किराँत याक्थुङ् चुम्लुङ्को स्थापना दिवस । सबै उठेर चिया पिउछौँ । झोला बोकेर नजिकमा रहेको तिम्बुङ्पोखरी दर्शनका लागि ढुङ्गेसडक पछ्याएर उकालो लाग्छौँ । चौरीहरू चरिरहेको एकान्त ढुङ्गे पहराको पहाडमा भेट्छौँ । क्या मज्जा! गाउँका गाईहरू जस्तो देखिएपनि यस्तो भिरमा गाई त चढेर चर्न सक्दैन तर चौंरीहरूले असानी चर्दै गरेको देख्छौँ, सामुन्ने । केही तेर्सो आएर भञ्ज्याङ् आउँदो रैछ र यसैको नजिकमा हाडीपोखरी (तेरेङ् वारःक्) रहेछ । हामी त्यहाँ पुगेर दर्शन गर्छौं । हल्का उकालो हिँडेर कान्छीधारा (फोमा वाधारा) मा पुग्छौँ र नजिकको पाटीमा भारी बिसाएर हातमुख धुने, फूलपाती, अक्षता, पानी बाेत्तल र पैसा (जो पोखरीमा चढाइन्छ र पानी लगिन्छ) पखाल्ने कार्य गर्छौ, पालैपालो गरेर । सबैभन्दा अन्तिम हुन्छु, सरसफाईको कारणले र ढिलो पुग्छु पोखरीमा ।

वाफरे, कत्ति सङ्लो, सफा, निर्मल अनि एकान्त अग्लो पहाडको शिरमा चुपचाप बसेको तिम्बुङ् पोखरी, एकछिन् सोचमग्न हुन्छु । पूजासेवा आ–आफ्नै तालमा साथीहरू । पूजामा पनि म अन्तिम हुन्छु । मैले पोखरी र मन्दिरमा चढाउनका लागि ल्याएका पूजा सामग्रीहरू तयार गर्दागर्दै साथीहरूले सेवा सक्छन् । बिस्तारै मेरै विधिबाट गर्छु, चढाउँछु, फूल अक्षता तथा भेटीहरू । वर माग्छु, आफ्नै तालमा अनि चिनो लिन्छु, पूजास्थानबाट ।

त्यसबेलासम्ममा साथीहरूले ल्याएको डलर पैसा पोखरीमा कहाँसम्म फाल्न सकिन्छ, फाल्छन् तँछाडमछाडमा सकिनसकि । मैले फालिनँ किनभने पानी किन्ने सोच भयो र त्यही गर्छु । 

तिम्बुङ् पोखरी रामरी नियालेर हेर्छु, वरिपरि । आहा, कत्ति सफा, स्वच्छ अनि पवित्र, झन हेर्यो हेरुँ–हेरुँ भई रहने अथवा दृष्यपानमा कहिले नअघाउने । पोखरीभित्र फालिएका पैसाहरू कत्ति मज्जाले सफाका साथ टल्केको देख्दै गरेको, निक्कै गहिरोसम्म नै, कत्ति पारदर्शी गहिराई पनि । अझै भित्ताका प्रतिबिम्ब झनै सफाका साथ देखिँदै गरेको, पानी निश्चल भएको बेला भित्ताका हरेक वस्तुहरू समेत ठम्याउन सकिने । फोटो लिन्छु, नजिकबाट । उचाई लेखेको छ, ४४८० मिटर र क्षेत्रफल चौडाई २ सय मिटर र लम्बाई ४ सय मिटर । 

पूजामा मागेका सामानहरू थन्क्याउन झोलानेर आउँदा त रमेश भाई उकालो जान तयार हुन्छ । म पनि तयार हुन्छु क्यामेरा लिएर । परदेखि भवानी हिँडेको हुनाले हतारहतार उकालो पहाड (लङ्गुर) को टुप्पोमा जानका लागि हिँड्छौँ, म र रमेश अनि अनिल भाइ तर अनिल भाइ रोकिन्छन् । दुईजना मास्तिर लाग्छौँ । मास्तिर जाँदै गर्दा पल्लो भित्तानेरको पोखरीमुनि केही दृष्य देख्छु । भित्ताको छायाँ होला भनेर भित्ता हेर्छु । त्यो पनि होइन । यत्तिक्कैमा भवानीको कारणले हत्तार उकालो जाँदा त भवानी फेरी हामी हिँडेतिरै फर्किआएर उकालो आउँदैछ र पो अनिल भाइले पर्खेको । यसबेलासम्म रमेश भाइले कान्छी पोखरी (फोमा वारःक्) देखाउँछ । यसपछि फेरि अक्कर ढुङ्गे पहाड चढ्छौँ । चौरीको बाछा रहेछ, डिम्जु । रमेश भाइले साइली पोखरी (सरुम्मा वारःक्) देखाउँछन् र त्यता जाँदा केन्जो तिनोटा लहरै फूलेर रहेको पाउँछु । साइली पोखरी (सरुम्मा वारःक्) लाई टाढैबाट हेर्छु, आहा, कत्ति सङ्लो र सफा । पहाडको टुप्पामा पुगेका हुन्छौँ, भवानी र अनिल भाइ तल आउँदै । यसबेला माईकोपिला भेटिन्छ । डाँडाको टुप्पा लङ्गुरमा एउटा ढुङ्गाका पातो उप्काई ‘मलिसा परिवार’ नेपाली शब्द ढुङ्गाले नै कोरी स्थापित गर्छु, अरूहरू पनि छन् टुप्पामा । बिहानको ९ बजेछ । पर्तिर गएर भवानीले पोखरीलाई कैद गर्न स्थानहरू छान्दैछन् र म पनि पुगेर उपयुक्त स्थान छानेर तिम्बुङ् पोखरी खिच्ने काम गर्छु । यति प्रयास गर्दा मात्र एकठाउँबाट पोखरीको सबै फ्रेम लिन सक्छौँ । 

छोडिएका साथीहरू नचिनिने गरी साना–साना देखिन्छन्, माथिबाट । साथीहरू कराउँछन्, गराखेत चोकमा पुग्न । रमेश भाइले लक्ष्मी पोखरी हेर्न जानका लागि लङ्गुरमा बाटो खोज्दै गएका थिए तर बाटो पाएपनि बादल लागेकोले फर्कौं भने । आश्चर्य, नेपालपट्टि कुहिरो लागेको छैन । आकाश खुल्ला र सौम्य छ र पोखरी सफा, सुरम्य र शान्त देखिन्छन् निलिमा चारैतर्फबाट । ओरालिन्छौँ लङ्गुरदेखि । सुनपाति, एक्लेविर, माइकोपिला, हिमाली बुकी, पाखनवेद, केन्जो लगायत धेरै हिमाली फूलहरू खिच्दै ।

अलिक तल झरेपछि अलिक अगाडि देखेको दृष्यको याद आउँछ र साथीहरूलाई भन्छु । ‘हाउ पोखरीमा अघि केहीको दर्शन पाएँ, देखिन्छ कि देखिँदैन हेरुम्’ भनेर पोखरी देख्नेतिर लम्कन्छु । आक्को हाउ, पोखरीमा अझै रहेछ, त्यो दृष्य । निलो पोखरीभित्र स्पष्ट अलौकिक चित्र, अथवा उच्छट्टै सुन्दरीको आँखामा रंगविरंग गाजल रहे झैँ । अंग्रेजी अक्षरको टुपिपि स्पष्ट देख्छु, कत्तै घुनपुतली नलागीकन र यसै भन्छु, साथीहरूलाई । अक्षरका रेखाहरू हरियोरंग र खालीस्थान र भित्रभागमा रातोरंग देख्छु र टुपिपिको पल्लोछेउमा दुईटा पानको पातजस्तो चित्रमा हरियो रंग देख्छु । रमेश भाइले हत्केला जस्तो देख्छ र अनिल भाइ अनि भवानीले पनि उस्तै । ती चित्र दृष्यको फोटो लिएको लियै छु, हरेक कोणमा अनि फ्रेममा । भवानी भन्दैछन् ‘म चारपल्ट आउँदा पनि यस्तो दृष्य देखिन, अचम्म लाग्यो ।’ रमेश भाई भन्छन्, ‘म १२ वर्षको उमेरदेखि यसै आसपासमा गोठाले जीवन विताएको, मन्दिरका सामग्रीहरू बटुलेको तरैपनि पोखरीभित्र यस्तो दृष्य कहिले देखेको थिइन । कसैले भन्थे, यहाँ नागको नक्साहरू देख्न पाइन्छ भन्थे । हो कि क्या हो !’ ‘म सानो छँदा पोखरीभित्र बन्दुक जस्तो पड्केको आवाज सुनेँ र पोखरीमा हेर्दा बुलबुल पानीको फुल्का पोखरी माथि आयो’ जीवन भाइले भनेको यो कुरा मस्तिष्कमा फनफनी घुम्दै आएर एकछिन नोष्टाजिक हुन्छु ।

हतार भएकोले पोखरी दर्शन समाप्त गरी पल्लो पाःन्थःर्को बाटोतिर भारीहरू बोक्दै लाग्छौँ । मैले पोखरीको निकाशमा पानी किन्छु र जम्बो बोत्तलको एक र पावा बोत्तलको एक पोखरीको पानी । अरू साथीहरूले पनि बोक्छन् । यो निकाशमा पैनी स्टाइलले खनेर पानी सुकाउन खोजेको देखिन्छ । यो खन्ने बेलायती गोराहरू सबै मरे भन्ने उक्खान चन्द्रहाङ् योङ्हाङ बताउनु हुन्छ । 



तिम्बुङ् पोखरी (वारःक्) को नामको विषयमा चन्द्रहाङ् योङ्हाङ् भन्छन् । ‘यो तिङ्मा पोखरी (वारःक्) हो ।’ बुढापाकाहरूले तिङ्मा भनेको सुनेको रहेछ  । जीवन योङ्हाङ् भन्छन् । ‘यो तिम्मक पोखरी हो ।’ किनभने उनले स्वयम् बन्दुक पड्केजस्तो आवाज सुनेको र बुढापाकाहरूले पनि तिम्मक भनेको कुरा सुनेका रहेछन् । वास्तवमा चन्द्रहाङ् दाईको आधारमा यो पोखरी पहिले ‘ट्याप्प भरिएर फुट्ला जस्तो थिलथिल’ थिए र याक्थुङ्बाहरूले यसलाई तिङ्मा भने । जीवन भाइको आधारमा पहिले यो पोखरीमा ‘बन्दुक जस्तो पड्कि रहने’ भएकोले यहाँका याक्थुङ्बाहरूले तिम्मक् भने । यसरी नै तिम्बुङ् पनि याक्थुङ् भाषा नै हो किनभने तिम् भनेको भरिएर र मुन् (हल्लिएको) हुन्छ । यो मुन्बाट बुन् हुँदै बुङ् रहन गयो । जस्तैः तिम्मुन्बाट तिम्बुन् हुँदै तिम्बुङ् भए, जनजिब्रोमा । 
जुन सोचेर पुगेँ, त्यहाँ । सोचे जस्तो पोखरीको अवस्था पाइन ।  वल्लो–पल्लो स्थानमा चट्टानी डाँडाका भिर र तल्लो पट्टी मसिना ढुङ्गे थुम्किले घेरिएको चट्टानी खाल्डोमा पानी जम्मा भई बसेको निलो पोखरी पो रहेछ । तल्लो थुम्की मुनि भने यत्ति लामो चट्टानी ढुङ्गे पहराभिर छ, कल्पनै गर्न सकिन । त्यै भिरदेखि छङ्छङ् प्राकृतिक संगीत उरालेर झर्छिन्, इङ्वाखोलाको जिन भएर । पानीको निकाश हेर्दा त यस्तो ढुङ्गैढुङ्गा र धर्तीको टुप्पीमा कहाँदेखि पानी आए होला भनेर उल्टै सोचमग्न हुन्छु ।

पोखरीदेखि पाःन्थःर् पट्टि वर्तिर चट्टानमाथि सोलिङ् बिछ्याइएका बाटोहरू जस्ता जताततै छन् । त्यहाँ पानी बग्दै गरेको आवाजमात्र सु्न्न पाइन्छ, देख्न सकिन्न । नाघ्दै सेलेलेमा पुग्छाैँ । यहाँ पनि चन्द्रहाङ् घ्याङ् रहेछ । जो नामले हाम्रो गाइड गरिराख्नु भाछ, चन्द्रहाङ् योङ्हाङ । हिमाली बुकी, केन्जो, माइकोपिला, खोकिम्, एक्लेविर, सुनपाती, भैरुङ् पाति आदिहरू प्रशस्तै छ । सेलेले नाघेर जुम्ल्याहा पोखरी (काप्सा?बा वारःक्) मा पुग्छौँ । साँच्चै जोडी पोखरी, अति सुन्दर, सुरम्य, स्वच्छ निलिमा । भारपामा जोरपोखरी (कुगाप् वारःक्) हो भने यसलाई जुम्ल्याहा भनेछन् वास्तवमा काप्साबा हुनुपर्छ । आन्द्राका किटाणूहरूले बेस्सरी टोकेतापनि गह्रौँ झोला भिरेर हाँसपोखरी नियाल्दै गराखेत चोकमा बिहानको ११.२० मा पुग्छौँ । गराखेतको मालिक रहेछिन्, निमाल्हामु भोटिया (गेजिङ् दाराप) याक्थुङ्, भोटिया, हिन्दी, नेपाली र अंग्रेजी भाषा बोल्नसक्ने एक सक्षम गृहिणी । लघु चिनजान । 

गराखेतको केही दन्त्यकथाहरू यही सुनेकाले माथि टुप्पी डाँडापट्टि लाग्छु । निमाल्हामुले दिएको छुर्पी टोक्दै । कस्तो अचम्म, साँच्चै त्यहाँ खेत जस्तै गराहरू छन्, खेती चलाएर छोडेका गराहरूको हार । हरेक गराहरूमा सुनपातीले भरिएका छन् । यसैबेला क्यामेराको खाना सकेको थाहा दिन्छ र दुःख लाग्छ । गराखेतको कुनै पनि एङ्गलहरूमा स्क्रिनसट गर्न सकिन । गराखेत चोकमा झर्छु । गराखेतमै दिन बित्छ । गराखेत डाँडामा बसेर दृष्यभावहरू सुक्खिम र केहि नेपाल प्लटका सुन्दर डाँडा, चुली, पानीका झरना, पोखरीहरू, केही चोकहरू देखिन्छन्, मन उत्तै तान्छ । त्यसो त हाँडीपोखरी, कान्छीपोखरी, साइलीपोखरी, तिम्बुङ्पोखरी, जुम्ल्याहापोखरी, हाँसपोखरी हेर्दै हिँड्दा हजारौँ किलोग्राम थकित शरीर सिमल भूवाजस्तै हल्का भएर एक सुन्दरी तरुनीसित मस्किँदै काखमा प्रेमिल गफ अनि अँगालो मारेर मायावी गफ गरे जस्तै लाग्छ, प्राकृतिक रूपहरूमा । कत्ति चुमुँ–चुमुँ लाग्ने उनको सौन्दर्यताभित्र अनि हरेक–हरेक अंगहरूभित्र लुकुँ–लुकुँ लाग्ने, खेलुँ–खेलाउँ लाग्ने । न भोक लाग्ने, न प्यास । सुरम्यकलाले मोहनी ।बेलुकापख सुक्खिमबाट पाँचजना याक्थुङ्बा साथीहरू जडीबुटी संकलनका लागि बास बस्न आइपुग्छन् । चोकको गोठ सानो तर हामी भयौँ पन्ध्रजना । तैपनि निमाल्हामुले अँटाउन सकिन । धन्यवाद छ, उहाँलाई । गराखेत चोकका भाइ देण्डुप तामाङ् र डिबी राईको सहयोग अतुलनीय छ ।



गराखेत कसरी रह्यो भन्ने मेरो सोधाइमा ‘उहिले विष्णु भगवानले यहाँ धान खेती गरेकोले गराखेत भएको रे’ जवाफले मलाई वाक्क बनाउँछ । किनकि, गराखेत नाममा कहाँदेखि विष्णु भगवान जोडिएको यहाँ ? यस आख्यानले पछि गएर तिम्बुङ् पोखरी, यस आसपासका पोखरीहरू र डाँडाहरू सबै प्रभावी बन्न सक्छ अथवा अतिक्रमण भन्ने चिन्तामा छु । मैले चन्द्रहाङ् दाई र निमाल्हामु भोटियालाई पनि यो कुरा सेयर गर्छु । उहाँहरूले यो कुरा कत्ति गम्भीर तहमा बुझ्नु भो, थाहा भएन । चन्द्रहाङ् दाईले नै तिम्बुङ् पोखरीमा रहेको सानो देवीथान (सानो मन्दिर) बनाउनु भएको कुरा हिँडाइको कथाक्रममा सुनाउनु हुन्छ ।

१८ गते बिहानै उठेर वरिपरि सफा वातावरण र सुक्खिम क्षेत्र अवलोकन हुन्छ । चिया खाएर बिहानको ६.३० बजे यात्राराम्भ गर्छौं । माइकोपिला लिन्छु भने भवानीले एउटा विखमा लिन्छन्, फोटोमा । तेर्सो हुँदै भञ्ज्याङ् पुगेर ओरालो लाग्छौँ । यो भञ्ज्याङकाे पानीढल नेपाल र सुक्खिमको सिमाना रहेछ, पीलर छ । यसलाई सुरके भनिँदो रहेछ र सुरके चोक पनि रहेछ तर गोठ रहेनछ । अक्कर ढुङ्गाका पहाड, चौरीहरू चरीरहेका भेटिन्छन् । सुनपाती, माइकोपिला, खोकिम, पाँचऔले, एक्लेविर, केन्जोहरू र भदौरे फूलहरू देखिन्छन् । निक्कै तल पुगेपछि सुनपाती र चिमलहरूले आफ्नो यौवनका वासनाहरू दिँदैछन् । यहाँबाट तिम्बुङ् जाने र गराखेत जाने बाटो छुट्टिने रहेछ । यहिनेर विभिन्न वस्तुहरूको पाइतला रहेको ढुङ्गा छ । निक्कै तेर्सो ओरालो हिँडेपछि पहाडे मेगुचोकमा पुग्छौँ, पुग्नेबेलामा थोरै उकालो भएर । पहाडे मेगु चोकको मालिक दिपक नाम्नु राई हुन् । 

बिहानको खाना यही हुन्छ । रमेश भाइले खाना पकाई खुवाउँछन् । रमेश भाइको हरेक छाकमा ईश्वरीय भाग पाउँछन्, आशिर्वाद पाउँछन् खाना पकाइदिए वापत । पाःन्थःर क्षेत्रको चोकहरूमा ताप्लेजोङकाे चोकहरूभन्दा थोरै फरक पाउँछौँ । यहाँ हरेक गोठमा चर्पीघर र चोकभित्र काठको पटाइ बिछ्याएर फराकिलो बनाएको भेटिन्छन् । हामीले बिहानको खाना खाएर लगभग बिहानको ११ बजे मेगुबाट प्रस्थान गर्छौं । सुनपाति टिप्दै गर्दा चन्द्रहाङ् दाईले रमेश भाइका लागि ढुङ्गा सिलेट ल्याइ दिन्छन् । मुनाल, चिलिमे आदि चराहरूको पाइला पनि बालुवामा टेकेको भेटिन्छ । पलाँसका बाक्लोघारी, सुनपातीका परफ्युम लिँदै अलिपर तरुनी धारा पुग्छौँ । 

तरुनीधारा (मेन्छ्या वाःधारा) नामै अचम्म यार, यो डाँडाको पाटामा । किन तरुनी अथवा (मेन्छ्या) रह्यो ? भवानी तावा भन्दैछन्, मेरै कानमा । ‘हाउ, यो तरुनीधारा (मेन्छ्या वाःधारा) को दन्त्यकथा, एकगुरुङ् गोठालाले सर्वाङ्गै सुन्दरी तरुनीले पिसाब फेर्दै गरेकी देखे रे पटक–पटक । ती गोठाला कामुक रसायनले यौनोत्तेजित भएर दृष्यभ्रम तरुनीमाथि जाइ लागेछन् । आँखै बन्द भए रे र आजीवन अन्धो बन्न पुगे रे । ती पात्र अझै दार्जिलिङमा जिउँदो छ रे हाउ । तरुनीधारा (मेन्छ्या वाःधारा) को नाम यसरी गोठालाहरूले राखी दिएका रे ।’ उहिले, सुसुवे लालाङ्वेको स्वप्निल कथा झैँ सुनेर सुनेको कुरा न हो, वास्तविकता बाहिर छु म । यायावरी यात्रुहरू पनि यौनोत्तेजित र कामुक रशायनी बन्न सक्छन् भनेर नै होला, तरुनीधारा (मेन्छ्या वाःधारा)लाई गारो लाएर सबै छोपिदिएकी । अनि सर्मिन्दापन । यिनीभन्दा मास्तिर बुढीधारा (काम्मो वाःधारा) चैँ कस्ती छिन् होला प्रश्नहरूभित्र हामी लाग्छौँ, कौतुहल मोड्दै ।

त्यसपछि फेदुङ् क्षेत्र प्रवेशमा एउटा अनौठो ढुङ्गा पनि भेटिन्छ । जुन सर्पको आकारमा प्राकृतिक रूपमा कुँदिएर टाउको ड्रागनको जस्तो र पुच्छरसम्म भएको चित्र छ । यसपछि पहाडको शिरमा फेदुङेक्षेत्र हुँदै विखमाको बोट हेर्दै घोप्टे क्षेत्रमा पुग्छौँ । घोप्टे रेञ्जदेखि नेपाल र सुक्खिमका उत्तरी भागहरू अत्ति मनोरञ्जनपूर्ण ढंगले देख्न सकिँदो रहेछ, नियालेर हेर्छौं असिमित प्राकृतिक छटाहरू ।

नामै घोप्टे, कापी छ हाम्रो नयाँ यायावरी यात्रुको लागि । बाेध हुन्छ, स्वप्निल पहाड, वनजंगल र जडीबुटीहरू देख्दा । डाँडाको टुप्पोमा कत्रा–कत्रा अजंगको ढुङ्गाहरू बसेको । सायद लाग्छ, पोरोक्मी यम्भाप्मी देवताले उचालेर राखे जस्तो । मुन्धुमी गन्धहरू पाइने । ढुङ्गा गेगे्रनहरू, टेक्दा पुरै हल्लिने ढुङ्गा तख्ताहरू, सानोबाटो, तल्लोपट्टि हेर्दा रिङ् लाग्ने ढुङ्गेभिर, मधेसमात्र बस्ने मान्छेहरू यहाँ पुगे भने एकपटक प्राण नै तान्ला जस्तो प्राकृतिक ढुङ्गे पहरा नाघ्दै, अवलोकन गर्दै एउटा पालाम आउँछ बिना बेसुर ।
‘ ....
डाँडैको टुप्पी, ढुङ्गा ताला ... खै एए, खै एए
विस्तारै हिँडौँ, ज्यानै जाला ... खै एए, खै एए
सुक्खिमको हावा, कानै चिर्ने ... खै एए, खै एए
प्रकृति हेर्दा, मनै पिर्ने ... खै एए, खै एए
...... ।’
पहाडको टुप्पी ढुङ्गाको ग्याग्रान भिर, पहरा हुँदै ढुँड चोकमा गफिँदै पुग्छौँ । डाँडै–डाँडा अनि ढुङ्गै–ढुङ्गा, पानी पनि पाउन नसकिने, यत्ता हेर्यो तलभिर, उत्ता हेर्यो तलभिर, यात्रुहरूलाई साह्रै दुःख पाउने क्षेत्र नै यही रहेछ, आक्को हाउ । मानसिक पसिना बगेर हत्तु होइन, भोग्दैछु । हावा, हुरी र दर्के पानी यही लाग्दो रहेछ तर हाम्रो यात्रामा त्यसो हुँदै छैन । प्रकृतिले साथ दिइरहेछ, मेरा अंगहरू हेर है भनेर अनि अघाउन्जी हेर्छौं, प्राकृतिक अंगहरू मरुञ्जेल । डाँडामा ढुङ्गाको थुप्प्रोहरू कसरी आए होला ? सायद टेथिस सागर चुम्केर पहाड उठ्दा यस्तो बनेको या त सोधुङ् लेप्मुहाङ्को जलप्रलयपछि पानी सुक्दा यसरी ढुङ्गाहरू उठेको होला, कल्पना बाहिर हुन्छन् । हाम्रो यात्राभरि हुरी र दर्के पानी नभएकोले साथीहरू अचम्म मान्छन् । कुरामा हाँसीमजाक जस्तो जीवन भाइलाई भन्छु, ‘मलिसा याक्थुङ्बासँग हिँडिएको छ नि यार ।’



डुँढचोकमा चाउचाउ नास्ता खान्छौँ । चोक मालिक प्रेम राई (जुँगे जेठा) । डुँढ एक अनौठो प्रकृति । साँच्चै सुँगुरको चारो खाने ठ्याक्कै डुँढजस्तो लाम्चो आकारको सानो प्राकृतिक उपत्यका । तेसैले डुँढ भनेको रहेछ । भवानी र चन्द्रहाङ् दाइ बिस्तार आउन छोडी राखेर लगभग बेलुका ३ः३० बजे हिँड्छौँ । निक्कै पर पुगेपछि धेरै कुकुरहरूले हामीलाई स्वागत गरीरहेका छन्, चुपचाप अनि सुनसान डाँडानेर इकोसाउण्डमा ठूलो थर्कमान आवाजले । यसरी जंगल, झाडीहरू पारगर्दै फलेके चोकमा बेलुका ५.३० बजे बास बस्न पुग्छौँ । फलेके चोकको मालिक पदम भट्टराई । गोठपुग्ने बित्तिकै निक्कै ठूलो पानी नै पर्छ । एकैछिनमा प्लाष्टिक ओडेर भवानी र चन्द्रहाङ् दाई आइपुग्छन्, स्यूस्यू गर्दै । गोठको शुरूवात नै चन्द्रहाङ् दाइका बाजेले गर्नु भएको रहेछ, कथामा भेट्छु । ‘भेडा हुँदै चौरी गोठ गर्दै एकसय चालीस जत्ति गाईहरू पालेको रहेछ ।’ बेलुका घ्यूको मेजमानीले सबैलाई खुसी बनाउँछन्, पदम भट्टराई । हिमाल यात्रामध्ये धेरै आरामले सुत्न पाएको नै यही भो, पटाई बिछयाइएको कारणले । 

जङ्गलमा रूख भालु, भुइँभालु, बनकुकुर, कस्तुरी, मृग, जरायो, रेडपाण्डा, बनेल, चितुवा, हिउँचितुवा, स्याल, वनविरालो, वनभेडा, गिद्ध, डाँफे, मुनाल, चिलिमे, कालिज लगायत थुप्रै पक्षी तथा वन्यजन्तुहरू पाइन्छन् तर भुइँभालु, वनकुकुर, चितुवाहरूले चोक(गोठ)हरूलाई दुःख दिलाउँदै आएका छन् । यसबारे सबै मौन छन् । यो साल यस क्षेत्रको लगभग चालीस पचास वटा पशु धनको नाश गरिदिएको कुरा हरेक चोकका मालिकहरुले अन्तरकथाको व्यथा नै बनाएका सुनिन्छन्, एकै मतले । याक, डि, उराङ्, डिम्जु, गाई, तोले, जोक्पे, भेडाहरू लगायत थुप्प्रै पालुवाहरू तस्करहरूले सिध्याएका कुरा बेलीबिस्तारमा आउँछन् । उहाँहरूको यस्तो अन्तरकथा किन बन्यो होला ? वास्तवमा उनीहरूको पशुधन नै सम्पूर्ण घरको धन हो । धान, मकै, अलैँची, अदुवा, आँप, लिची, सुपारी, सुन्तोला, चिया आदि जे भने पनि खेती पशुपालन नै हो । नुनदेखि सुनसम्म किन्नका लागि नै पशुधनको घ्यू र छुर्पीको आम्दानीबाट गर्दछन् । तसर्थ पशुधनमा तस्करबाट हानी भयो भने तराईको धानबालीहरूमा बाढी पसे सरह नै हुने रहेछ भन्ने कुरा अन्तरकथाहरू सुनिन्छन् । 

भाद्र १९ गते बिहानै उठेर चिया पिइ ६.४० बजे फेरि उकालो लाग्छौँ, लामिडाँडा हुँदै बज्रथाम डाँडा भएर । बिहानको आठ बजे बलेचोकमा पुग्छौँर  चोक मालिक भुवानी विक्रम पेघा । यहाँसम्मको खानाहरू रमेश (धन) दाहाल भाइले नै स्याहार्छन् । खाना खाएर उकालो लाग्छौँ, बिहानको ११ः२० मा । एक सासपछि बले पोखरी भेटिन्छ । पहाडको निधारे थोरै उकालो देउराली हुँदै तेर्सो गरेर दार्मेडाँडामा पुग्छौँ । दार्मे डाँडा हुँदै मेजर डाँडाको छेउबाट धुपसल्ला जीवन र रमेश भाइहरूले काटेर लौरो जस्तो बनाइदिएर बोक्ने काम म र महेन्द्र भाइले गर्छौं । मेजरडाँडादेखि भिरको ओरालो सोलिङ् विछ्याएको बाटो हुँदै झर्छौं । यसपछि खरीजुकाहरू तर्कँदै विब्ल्याँटे पोखरीमा पुगिन्छ हुँदै साङ्गाडाँडामा । यसैबेला मेरीआमा सिकिस्त बिमार भएको समाचार चन्द्रकला लाओति तावाले मलाई जानकारी गराउँछन् । सन्तोष नेम्बाङ् मार्फत भतिज डिल्ली हाङ् नेम्बाङ्को फोन प्राप्त हुन्छ र उसैको फोनबाट बैनी माइलीसँग फोन वार्ता हुन्छ । राम्रै रहेछ । अनिमात्र रमेश भाइले पोलेको मकै र चिया खुसीले खान्छु । त्यसपछि ओरालो चन्द्रहाङ् दाईको घरमा सरासर झर्छौं । लड्दै पढ्दै तिम्तिम्बुको चन्द्रहाङ दाइको घरमा पुग्दा ठ्याक्कै एकफन्का मारी सकेका हुन्छौँ । बेलुका चन्द्रहाङ् दाइको घरमा पुगेर बेलुकाको मेजमान हुन्छ, छिप्पिएको भालेको सुप मासुसँग ।

२० गते बिहानै उठेर बिदा माग्छौँ र ट्याक्सी वडाध्यक्ष देउकुमार योङहाङ्ले भनिदिन्छन् । मेरो भारि जीवन भाइले बाेकेर टावर चोकसम्म पुर्याउँछन्, कस्तो सहयोगी अमिट सम्झनादायी । संयोगवश पहिले ल्याउने जन्तरे गुरुजी (लेखनाथ) कै गाडी पर्छ र जीवन भाइसँग बिदाइ माग्छौँ । ट्याक्सीले गन्तव्य तताउँछ, च्याङ्थापु हुँदै हुर्रिएर मध्यपहाडी लोकमार्ग चिर्दै मेची लोकमार्गको गोपेटारको आशिष होटल खाना । महेन्द्र भाइ जोरपोखरीमै उत्रन्छन् । लगभग १२ बजे फेदेनमा तीन जना पुग्छौँ । आज नौ दिन हुँदैछ मेरो यात्राको । अनुभव छ, पहिले नौदिनमा घर पुगेको सालमा मेरो हजुरआमा गुमाएँ, आमा पनि सिकिस्त बिमारको खबर । तसर्थ रोकिन्छु, फेदेनमा । २१ गते गन्तव्य पुग्छु।

घरमा पुगेर एकखालको असीमित योजनाहरू बने, मानस पटलमा । त्यसो त त्यहाँ हिँडुञ्जेल थकाइले के न के आएछु जस्तो बेलामौका भएपनि घर पुगेर ‘फेरि जाउँ जाउँ’ लागि हाल्ने प्राकृतिक छटा, सुरम्यता, सौन्दर्यताले उल्टो मोहनी लगाएर उत्तै तान्ने अनौठो क्षेत्र पर्दो रहेछ । कालीखोला आकाशे हुँदै ठूलो भञ्ज्याङकाे हाइट्रेकिङ एरियामा पानी, बोर्ड र चोकहरू प्रशस्त पाइएता पनि चर्पीको व्यवस्था नहुनु, प्लाष्टिक जन्य वस्तुहरू लापरवाही रूपमा फालिनु, गोठ सुधार नहुनु नै पहिलो समस्या देख्छु । आकाशे उकालोमा र घोप्टे देउरालीमा पानीको अभाव, आराम गर्ने स्थानहरू नहुनु, होमस्टे तथा घुम्ती दोकानको व्यवस्था नहुनु पनि समस्या मान्छु । शीतभण्डार गरेर पिउने पानीको व्यवस्था, होचा खालको पाटीहरूको व्यवस्था, आराम गर्ने चौताराहरूको व्यवस्था र बाटो मर्मत, भ्यूटावरहरूको व्यवस्था, चोकहरू थप व्यवस्था, बाटाहरूमा छेकबार रेलिङकाे व्यवस्था, दूरीको हिसाबले चोकहरूको व्यवस्था, फोन टावरहरूको व्यवस्था, डस्टविनहरूको व्यवस्था, पशुधनमा सरकारबाट अनुदान तथा तस्करबाट नाश भएमा क्षर्तिपूर्तिको व्यवस्था, घुम्ती दोकानहरू, चोक सुधारमा होमस्टे, बिजुलीको व्यवस्था या हाई अल्टिच्युटको सोलारको व्यवस्था, खाना पकाउन र खानका लागि आवश्यक सामानहरू जुटाएर, लौरोहरू बनाएर, जडीबुटीहरू, दूध तथा मासुजन्य वस्तुहरू, धुपहरूको परिकारहरू व्यवस्था भए यायावरी यात्रुहरूलाई सेवासुविधा हुन्छ । यस क्षेत्रका युवाहरूले ट्रेकिङ व्यवसाय सञ्चालनमा तयार हुनु पर्दछ । स्थलगत क्षेत्रको परिभाषा गरिदिने, सरल र महँगो रुटहरू बनाइदिने, यात्रा गराइ दिने, पकाइदिने, बिमार हुँदा ओखतीको व्यवस्था आदि कार्यहरू गर्नसक्नु पर्दछ । 
मोटरे बलका लागि कालीखोला नै उत्तम देखिन्छ तर मोटरबाटो निर्माण गर्दा विभिन्न जैविकता माथि समस्या आई सुन्दर प्रकतिलाई कुरुप बनाउन सक्छ । ठूला–ठूला पहिरो गएर बाढी जान सक्छ । इङ्वाखोलाका तितेमाछाहरू र पानीलाई दुषित बनाउन सक्छ । यदि मोटरबाटो लानुपरे बिखेचउर यात ठूलो भञ्ज्याङसम्म मात्र लैजानु पर्दछ । पाःन्थरबाट मेगुसम्म मोटरबाटो पुर्याउन सके धेरै राम्रो हुन्छ । मेगुबाट सेलेलेसम्म वा फलैँचाबाट गंगावा, बोर्मे हुँदै सेलेलेसम्म अथवा ठूलो भञ्ज्याङ्सम्म केवलकार राम्रो हुन्छ । इङ्वाखोला जलविद्युत आयोजना हुँदा माथि उल्लेखित कार्ययोजनाको भौतिक निर्माणहरू गराउनु लगाउनु पर्छ । जैविक विविधताका फोटोहरू बनाएर सेन्सर गर्नुपर्दछ । युवाहरूले अधिक रूपमा रोजगार पाउन सक्ने मु्ख्य आधार नै तिम्बुङ् पोखरी पैदलयात्रालाई लिन सकिन्छ किनभने चिवा–सुक्खिमको मोटरबाटो खोल्ने बित्तिक्कै भारतीय पर्यटकहरूले सयौँ युवाहरूलाई रोजगार दिनसक्छ ।

तिम्बुङ् पोखरी यात्रागर्दा फलैचा या च्याङ्थापु या तिम्तिम्बुमा बास एकदिन अनिवार्य हुन्छ । यहाँबाट कालीखोला रुट बनाउने हो भने आकाशेमा खानागरी निकासचोकसम्म पहिलो दिन, यहाँबाट बिखेमा बिहानको खाना गरी ठूलो भञ्ज्याङ्सम्म दोस्राे दिन, यहाँबाट बिहान पोखरीको दर्शनपछि (क) कालीखोला रुट फर्किने हो भने ठूलो भञ्ज्याङमा खाना खाएर आकाशे या धिमाले तेस्राे दिन र भोलिपल्ट फलैँचा हुँदै फर्कने चौँथो दिनसम्म (ख) फलैँचा रुट फर्किने हो भने फुको खाना खाएर मेगुसम्म तेस्राे दिन, यहाँबाट डुँडमा बिहानको खाना गरी फलेकेसम्म चौँथो दिन यहाँबाट बलेचोकमा बिहानको खाना गरी साँगा वा तिम्तिम्बुसम्म पाँचौ दिन लाग्छ । छोटो दूरी फर्कँदा कालीखोलाको रुट हुन्छ ।  फलेके हुँदै फर्कने रुट एकदिन लामो हुन्छ तर अजीव वस्तुहरूको अवलोकन यही क्षेत्रमा । फलैंचादेखि फलेके रुट बनाउने हो भने बिव्ल्याँटेमा बिहानको खाना गरी फलेकेसम्म पहिलो दिन, डुँडमा बिहानको खाना गरी मेगुसम्म दोस्राे दिन, फुको खाना खाएर तिम्बुङ् पोखरी दर्शनपछि कालीखोला रुट या फलेके रुट फर्कन सक्छौँ । उकालो हिँड्न सक्ने र लेक नलाग्ने व्यक्तिलाई एकदिन छिटो हुनसक्छ ।

कालीखोलादेखि माथि पाङ्दुवा, कोप्चे, बिखेचउर, डण्डुबारी हुँदै ठुलो भञ्ज्याङ् तिम्बुङ् पोखरीसम्मको सबै भू–भागहरू, इवानागीहरू त्यहाँकाे रैथाने पेघा (बेघा) र माङ्मू याक्थुङ्बाहरूको किपट हुन् तर सबै बेचिसकेको भन्ने कथन पथप्रदर्शक दाइ चन्द्रहाङ् योङ्हाङ् सुनाउनु हुन्छ । यत्ता तिम्बुङ् पोखरीदेखि मेगु, घोप्टे, डुँढ, फलेके, मेजरडाँडा, साङ्गासम्मका वरपर आसपास सबै भू–भागहरू पेघा र माङ्मूहरुकै किपटमा पर्दो रहेछ, बोर्मे जंगलको सूनखानी समेत । उहाँका बाजेले विसं २००८ मा पेघा र माङ्मुहरूको किपट जग्गालाई (फलेकेदेखि तिम्बुङ् पोखरीसम्म) चौरी पालनका लागि चरनक्षेत्र भोगचलन गरिखानका लागि भोगबन्धकी पास गरिदिएका समेत जानकारी दिन्छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...

सम्बन्धित समाचार