०१९ को अन्त्यतिर चीनको हुवान सहरबाट सुरु भएको कोरोना भाइरसलाई  विश्व  स्वास्थ्य संगठन [ WHO ] ले विश्वव्यापी महामारिको रुपमा  घोषणा गर्यो । जुनबेला नेपाल सरकार पर्यटन वर्ष - २०२० को विभिन्न  योजना परियोजना बनाउँदै थियो । चीनमा देखापरेको कोरोना भाइरस थाईल्यान्ड हुँदै विश्वभर तिब्र रूपमा फैलिरहेको उक्त भाइरस नेपालमा २०२० फेब्रुअरी २० मा दुइसय बाह्र जनाको RT-PCR परिक्षणपछि एक जनामा प्रमाणित भयो । उक्त  घटना सँगसँगै  कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको ,संक्रमितको मृत्यु हुनेको संख्या बढिरहेको ,साथै  विभिन्न मुलुकहरुमा भाइरस फैलिन नदिन लकडाउन सुरु भएको समाचारहरुले नेपालमा कोरोनाको त्रास झन् बढायो । तत्पश्चात कोरोना प्रमाणित भएको करिब एक महिनापछि नेपाल सरकारले विभिन्न नियम सहित २४ मार्चदेखि २१ जुलाई २०२० सम्म पहिलो चरणको लकडाउनको घोषणा गर्यो । पहिलो चरण ,दोस्रो चरण, तेस्रो चरण हुँदै लकडाउनको समय लम्बिदै गयो । यसैबीच एकातिर कोरोनाको त्रास थियो भने अर्कोतिर देशको राजनैतिक उथलपुथल, सिमा विवादको घटना, बढ्दो चोरी डकैती ,बलात्कार र हत्याको घटनासँगै कोरोना संक्रमितको अझ बढ्दो संख्याले गर्दा जनजीवन अझै कष्टकर बन्यो । पछिल्लो समय यस भाइरसको रोकथामको लागि भ्याक्सिन साथै विभिन्न प्रयास हुँदै आइरहे पनि संक्रमितको संख्या र मृत्यु हुनेको संख्यामा खासै परिवर्तन आएको छैन ।  आज हामी पहिलो चरण लकडाउनको चरमबिन्दुदेखि अहिलेको अवस्थासम्म आउँदाको केहि रंगकर्मीहरुको अनुभवलाई राख्दैछौँ ।

 

नाटक सकिने बित्तिकै म घर गएको थिएँ । त्यसको केहि दिनपछि लकडाउन सुरु भयो । म भर्खर रंगमञ्चमा  यात्रा गर्दै थिएँ  । सायद, त्यसैले होला के पाउँछु के गुमाउछु भन्ने नै थिएन । पाउने कुरा नभएपछि गुमाउछु  भन्ने पिर नहुँदो रैछ ।  पहिले पहाडमा हुँदा खेतीपातीको काम निक्कै गरिन्थ्यो, तर झापा झरेपछि  खेतमा काम गरेको थिइन । खेतबारीमा काम गर्दाको रमाइलो थाहा पाएँ परिवारसँग धेरैपछि लामो समय बिताउन पाएँ । आफु सँगसँगै हुर्केको साथीभाईहरुसँग लामो समय बिताउन पाएको थिईनँ,
लकडाउनले त्यो जुराइदियो । मेरो लागि सबैभन्दा ठुलो कुरो सम्बन्धहरुको महत्व बुझायो ।

-अरुण पौडेल , रंगकर्मी

 

कडाउन सुरुहुँदा म काठमाण्डौमै थिएँ । अलिअलि काम हुँदै थियो । अचानक सबै काम रोकिएपछि  के गर्ने के नगर्ने थाहा भएन । आउने बाटो कतै नभएपछि  घरभाडा तिर्ने पैसा दाजुले दिनुहुन्थ्यो ।  लकडाउन सुरु भएको दुइ तीन महिनापछि अचानक बुवा बिराम भएको खबर आएर म घर जानु पर्ने भयो । अभावको बेला प्राइभेट कारमा महँगो भाडा तिरेर गाउँ  गएँ । बाहिर निस्कने , कतै हिँड्ने अवस्था नभएपछि  घरको काम गर्न थालियो । सागसब्जी उत्पादन तिर लागेँ। आमाबुबालाई काम गर्ने पालो दिन पाउँदा छुट्टै खालको रमाइलो हुँदो  रैछ । 

-प्रकाश गुरागाई , रंगकर्मी

मैले आफुलाई कति समय दिएको रहेछु भन्ने थाहा पाएँ । भर्खर काम गर्ने मौका मिल्दै थियो । मान्छेहरु भेट्ने ,मान्छेहरुसँग चिनजान हुँदै  थियो । विडम्बना लकडाउन भैदियो, घरमा आफु एक्लो भएपछि जिम्मेवारीहरु पनि छिट्टै आफुनजिक आउँदो  रहेछ ।  घर बस्दा सबैले कमाए तैँले पनि कमाउनु पर्छ, जागिर खानु पर्छ भन्ने कुरा साथीभाई घरपरिवारबाट सुन्दा र  सबै कामहरु रोकिएको देख्दा कुनै कुनै बेला त होकी  जस्तो पनि बनायो । तर लकडाउन बिचमा पनि साथीभाईसँग  मिलेर नाटक सम्बन्धि केहि काम गरें, किताब पढें, गाउँको बुढापाकाहरुसँग उनीहरुको भोगाई सुनेँ तब समस्या त सबैसँग रहेछ भन्ने महसुस भयो । हामी पैसा, नाम, भविष्य भन्दाभन्दै आफ्नो बारे सोंच्न नाभ्याउँदो रहेछौँ । जे होस् लकडाउनमा मैले आफुले आफुलाई बुझ्ने मौका पाएँ ।

-सन्जिव योगी, रंगकर्मी

नाटकको तालिमपछि केहि काम गर्ने मौका जुरेको थिएन । धेरै समय खाली बस्दा आफैँलाई दिक्क लागिरहेको थियो । अफसोंच त्यहि समयमै लकडाउन भयो, म गाउँ फर्किएँ । मसँगै गाउँको धेरै मान्छे गाउँ फर्किएको थिए । अचानक गाउँ पुगेर के गर्ने केहि थाहा थिएन । केहिदिन गाउँको साथीभाईहरुले सबैजना गाउँघरतिर भएको बेला कृषि सम्बन्धि केहि काम गरौँ भनेर योजना बनाए, म पनि त्यसमा सामेल भएँ । हामी सबै भएर कृषि अनुदानको लागि कामहरु गर्यौं । किताब पढने , फिल्म हेर्ने ,
घरपरिवार साथीभाईसँग भएर पनि होला मलाई  समय बिताउन त्यस्तो गाह्रो  भएन । हामी सधैँ हतारमा हुन्छौँ,लकडाउनले  राम्रो काम गर्नको लागि धैर्य गर्नुपर्ने रहेछ भन्ने सिकायो ।

-सौजन लिम्बु , रंगकर्मी

कहिल्यै योजनाहरु बनाएर नचल्ने मान्छे, पोहोरकै बर्ष चाहिँ केहि कामहरु गर्छु भनेर योजना बनाउँदै थिएँ । झ्याप्पै गाडिको ब्रेक लागेको जस्तो लकडाउन सुरु भयो । हुन त लकडाउन अघि पनि त्यस्तो उत्पात कामहरु त केहि  थिएन, सामान्य कामहरु चलिरहेको थियो ।  सुरुसुरुका दिनहरु रमाइलै भयो जिन्दगीमा कहिल्यै नहेरेको फिल्म हेर्नेदेखि लिएर किताब पढ्ने, तास खेल्ने, फूल गोड्ने , खाना बनाउने सबै कामहरु खुब जाँगर लगाएर गरियो । तर कोरोनाको एकदमै त्रास  थियो । म आफ्नो परिवारसँगै  बस्ने भएकाले अत्तिनै सावधानी अपनाइरहेकी थिएँ । कतै आउने,जाने गरिएन । घर नजिकै हुनुभएको आफन्तहरुसँग पनि बार्दलीबाट कुरा हुन्थ्यो । मास्क र स्यानिटाइजरको हाहाकारले अब त कोहि बाँचिन्न जस्तो लागेको थियो। तर बिस्तारै समय बित्दै गएपछि जब एकदुइ महिना बित्यो दिक्क लाग्न थाल्यो,अनि वरिपरि भएको साथिभाई आफन्तहरुसँग त्रासमै भएपनि भेटिन थालियो । अरुबेला घरमा मामा, दाजुहरु आउँदा खासै कुरा हुँदैन  थियो । त्यो बेला त सिधै तासको बुक लिएर भिड्न बस्ने , धेरैपछि आफ्नो मान्छेहरुसँगको मिठो सामिप्यता महशुस भयो । आर्थिक नोक्सानी, अब के हुन्छ होला भन्ने डर, काम गर्न नपाउँदाको  छटपटी त थियो नै । तर जिन्दगीमा सबैभन्दा ठुलो कुरा बाँच्नु रहेछ भन्नेकुराको महशुस पनि गरियो । हरेक दिन समाचार हेर्दा यति जना पुग्यो भन्दा मुटु चिसो हुन्थ्यो । दिक्कै लागेर बिस्तारै मैले त समाचार हेर्नपनि छाडिदिएँ ।  जिन्दगीको एकबर्ष यत्तिकै खेर गयो जस्तो लाग्छ । पहिलोपल्ट लकडाउनपछि मण्डला पुग्दा मलाई  सपनाजस्तै  लागिरहेको थियो।  हामी अनलाइनबाट त्यतिबेला  प्लेब्याक थिएटरको काम गर्दै थियौँ ।त्यो बेला जत्ति म काममा फोकस कहिल्यै भएको थिइन । लामो समयदेखिको कामको भोक, अनि अरुको अनुभवमा काम गर्न पाउँदा आहा ! लकडाउनले धेरै कुराहरु फेरिदियो । आर्थिक कुराहरु, नाटक र फिल्मको कुराहरु कति साथिभाइहरु छुट्नु पनि भयो ।  कति योजनाहरु बिगारिदियो तर त्यस्तो अप्ठ्यारो परिस्थितिमा पनि, सिकाएको राम्रो कुराहरु चाहिँ जिवनमा स्वास्थ्य , समय र स्वतन्त्रता को महत्व । सानोसानो कुरामा खुशी हुने तरिका , अनि हरेक दिन योगा र मेडिटेशन गर्ने बानी पनि लकडाउनले  बसालेर गएको छ ।

-सारदा अधिकारी 

कडाउन हुनु एकदिन अघि सम्म म काठमाडौँ मै थिएँ  । सेनिटाइजर, एक प्याकेट माक्स र ९ वटा किताब बोकेर गाउँ (भिमफेदी) हिँडे । आफुलाइभन्दा पनि घरमा बिरामी बुवा आमालाइ रोग सर्ला भन्ने डर थियो । घरमा पुगेको १५/२० दिन  त्रासमै बित्यो । त्रासमय भए पनि काम गर्न हिंडडुल गर्न भने गाउँमा पाइन्थ्यो । लकडाउन सहरमा मात्र थियो । ५ महिना घरमा बसेँ । आमा बुवा दाइसँग  बर्षौंपछि लामो समय बस्न पाएँ । लकडाउन  भएपछि मेरो तीन वटा राम्रा प्रोजेक्ट पछि सर्यो । दुई वटा नाटक र  एउटा फिल्म । त्यसपछी मलाई रंगमञ्चतिर फर्किन सक्छु  भन्ने लागेन । सायद, त्यही सोंचले नै होला लकडाउन खुकुलो हुँदै गर्दा काठमाडौ फर्किएँ र अनलाइन व्यापार सुरु गरेँ । लकडाउनले मेरो जिन्दगीमा नराम्रो मात्रै गरेन राम्रो पनि गर्यो । झन्डै ५०/६० वटा गजल लेखेँ । २/३ वटा जति कथाको खाका तयार पारेँ । १३ वटा गीत लेखेँ  । ७ वटा आफ्नै गीतमा संगीत भरें । सबै भन्दा सुखद कुरो त इन्टरनेट भन्दा पर बसेँ ।

-संगीता थापा


 
कोरोना महामारिले चिन अस्तव्यस्त भैरहदाँ नेपालमा लकडाउनको हल्ला चल्न सुरु भैसकेको थियो। मान्छेहरु महिनाभरिको लागि राशनको चाजोपाँजो मिलाउन थालिसकेका थिए ।सरकारले भिडभाड कम गर्न मास्क र सेनिटाइजरको प्रयोग गर्न सुचना बाँडिसकेको थियो। मान्छेहरुमा डर ब्याप्त भैसकेको थियो, त्यसैबीच म लगायत हाम्रो टिम नाटक 'सब ठीक छ' मञ्चन गर्दै थियौँ  । जसोतसो हामिले मञ्चन सकायौँ। मञ्चन सकिएको केहिदिनपछि देशमा लकडाउन सुरु भयो। लकडाउनको सुरुवाती समय सामान्य नै बित्यो, लगभग महिनाभरिको निम्ति तयारी गरिएको थियो। सुरुका केहिदिनहरु व्यस्त दैनिकिबाट छुट्टी पाएझैँ लाग्यो । परिवारसँग समय बिताएँ । फिल्महरु हेरेँ,पुस्तकहरु पढेँ,सामाजिक सन्जालमा निरन्तर साथिहरुसँग कुराहरु गरेँ ,एक प्रकारले समय अभावमा कुरा नभएर  बिग्रिन लागिसकेका सम्बन्धहरु पुर्ण रुपमा स्वास्थ्य भए,परिवारसँग  सबै प्रकारका दुखसुखहरु साटियो,यसरी हेर्दा लकडाउन पुर्ण रुपमा नकारात्मक रह्यो भन्न मिल्दैन। जब लकडाउन थपिँदै गयो,गोजी रित्तिदै गयो, तब मानसिक रुपमा केही बिचलन सुरु भयो। सामाजिक सन्जालमा दिनदिनै भोकै, प्यासै हिंडेर गाउँ जाँदै गरेका मान्छेहरुको कुरा सुनिन्थ्यो,व्यापार बन्द भएर ऋण तिर्न नसक्ने डरले आत्महत्या गरिरहेका व्यापारीको समाचार पढिन्थ्यो,फलानो देशमा यति मान्छेको मृत्यु भयो, थप यतिमा कोरोना संक्रमण भेटियो जस्ता समाचारहरुले मानसिक रुपमा कमजोर बनाउँदै लग्यो। सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको राहत वितरण कार्यमा भएका गडबडी ,घरेलु हिंसा ,महिला हिंसा ,जातिय विभेद,बालबालिका माथिको हिंसाका समाचारहरु देख्दा काम गर्ने हुटहुटी भएर आउंथ्यो। सामाजिक सन्जाल मार्फत केही व्यक्ति  र संस्थाहरुसँग  छलफल र कार्यन्वयनको निम्ति प्रयासहरु गरियो। व्यस्त  दैनिकीले गर्दा हेर्न र देख्न नपाईएको समाजको अर्को रुप देख्न/पढ्न र महशुस  गर्न पाईयो। व्यस्तताबीच  देखिएको सामाजिक एकता,सद्भाव इत्यादी केवल ढोंग  हो भन्ने बुझियो,हामीले सुन्दर देखिरहेको समाज कति कुरुप छ भन्ने प्रष्ट देखियो। धेरै प्रकारका अमानवीय घट्नाहरुबारे समाचार र आर्टिकलहरु पढियो ती सबैलाई हेर्दा हामी बस्ने समाज कति ढोँगी छ भन्ने प्रस्टै बुझियो।हामी दुई अनुहार लिएर बाँचिरहेका छौँ। भित्र एउटा छौँ बाहिर अर्कै छौँ । सामाजिक सन्जाल, सभा-समारोह वा सार्वजनिक  ठाउँमा देखिने सभ्य मानिस आफ्नै घर परिवारभित्र भने असभ्य छन्। यस्ता धेरै घट्नाहरुको  साक्षी बनियो। यस्तै यावत कुराहरुलाई नै माध्यम बनाएर छिट्टै नै रंगमञ्च वा अन्य कुनै डिजिटल मञ्च मार्फत समाजिक विषयवस्तुसँग सम्बन्धित  रहेर केही गर्ने योजना निर्माण गरेको छु। निकट भविष्यमानै त्यसलाई मुर्त रुप दिने प्रयास गर्दैछु। 

यसरी हेर्दा आफू र आफू बस्ने समाज बुझ्नको लागि व्यक्तिगत  रुपमा एकदमै ठूलो अवसर  बनेको छ मेरो निम्ति लकडाउन ।अर्को तर्फ देश,परिवार र समाजलाई हेर्ने हो भने,आर्थिक,रोजगारी शिक्षा जस्ता क्षेत्रमा नगन्य क्षति भएको छ। कोरोनाकालका सकारात्मक र नकारात्मक दुवै प्रकारका अनुभवहरु समेटिएको छ यद्दपी फेरि उठ्ने हौसला भने कायमै छ।

-कृष्ण खड्का

थाहा छैन म नाटकको लागि  हुँ या होइन, नेपाली रगंमञ्चलाई मेरो आवश्यकता छ या छैन । तर यति चाहिँ हो नाटक नभएको भए म सायद यो फोहोरी सहरमा हुन्न थिएँ । रगंमञ्चलाई समर्पित गरिसकेको जीवन पनि कोरोनाले अलग्याई दियो । करिब  १ वर्ष जति भौतिक शरीरलाई मात्र घिसारेर बाँच्नुपर्यो । सपना पुरा गर्नलाई बाँच्नु थियो आतिएर जानी नजानी धेरै क्षेत्रमा हात हालियो । मिठो अनुभव मात्र भयो, मनले नगरेको काम सफल त कहाँ हुन्थ्यो र, मनले गरेको काममा कोरोनाले ताल्चा लगाईसकेको थियो । सबैतिर ताल्चै ताल्चा थिए, लकडाउन नै लकडाउन । यो लकडाउनले वर्षदिन मेरो जीन्दगीको आयु खोस्यो ठिकै छ । तर मेरो सघंर्षको एक अशं खोस्यो, मेरो सिकाईको एक अशं खोस्यो । अझै मेरो सपनाको अर्को अशं खोस्छ कि भन्ने डर छ ।

-कवि राई,रंगकर्मी 

खोलामा दुवाली छेकेर भंगालो अर्कैतिर फर्काई दिएझैँ भयो लकडाउन । किनकि, कोभिड १९ ले मजस्ता धेरैलाई आफ्नो मनको प्यास मेट्न दिएन । यसो भन्दै गर्दा कस्तो खाले प्यास हो भनेर सोँचीरहनु भएको होला तर प्यास धेरै किसिमका हुन्छन् , त्यो हजुरहरुलाई पनि थाहा छ । मेरो प्यास भनेको नाटक हो । म नाटकको प्यासी थिएँ, त्यही प्यासहरु मेट्नको लागि नाटकको रिहलसिहर्लमा  थिएँ  । तर अचानक कोभिड  १९ ले हामीलाई अलग हुन बाध्य बनायो र त्यही अनुसार चैत ११ बाट लक डाउन हुने भएपछि हामीले पनि  शिल्पी थिएटरबाट केहि समयको लागि छुट्टी पायौं र हामी आ-आफ्नो घरतर्फ लाग्यौँ । मनमा अनेकौं कुराहरु  खेल्यो, तर पहिला पहिला आउने स्वाइन फ्लू  र डेङ्गुजस्तै भाईरस त  होलानी केही समय पछि हराउँछ  भनेर सोचिँयो । विडम्बना  दिन,हप्ता,महिना बित्दै गएपछि मेरो मनको समय सहि तरिकाले चल्न छोड्यो मनले समय चिन्न छोड्यो रात र दिन दुवै  मेरो लागि नभैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर समय परिस्थिति अनुसार बाँच्नै पर्यो । लकडाउन को समयमा मैले धेरै काम कुराहरु गर्न पाइनजस्तो महशुस  भयो । तर फेरि यहि बेला मैले आफुलाई नियाल्ने मौका भने चाहिँ पाएँ  । किनभने यति धेरै समय फुर्सद मिलाएर मैले आफ्नो बारेमा सोँचेको थिइनँ । आफ्नो कमि कमजोरी पत्ता लगाएँ ।  मेरो खासै पढ्ने बानी थिएन यो लकडाउनको समयमा पढ्ने बानी बनाएँ । केही आफुलाई पढ्न मन लागेको पुस्तक र बिना थिङ्ग दिदिले लेख्नुभएको ' याम्बुनेर ' पनि पढ्ने /बुझ्ने मौका पाएँ  । राजन मुकारुङ दाजुको कबिता 'हाटाजाने अघिल्लो रात ' खुब राम्रो लाग्यो । अनि पश्चिमतिरको द्वन्दकाल समेटिएको 'फुर्लुङ' जस्ता धेरै किताब पढेँ । मलाई चित्र बनाउन खुब रहर लाग्छ तर सिकेको भने छैन, त्यो फुर्सदको समयमा मैले युटुवबाट अव्सट्रयाक  चित्र बारे केही कुरा सिकेँ र बनाउने कोशिस पनि गरेँ । लकडाउनले गर्दा कार्टुन तस्वीर पनि बनाउने कोसिस गरेँ  । आफू उकुसमुकुस भएर बसिरहेको बेला प्रकाश आङ्देम्बे सरले मलाई अचानक म्यासेज गर्नुभयो अनि भन्नू भयो तँ  पनि रुबाई लेख्छस् हैन केही रुबाईहरु मलाई पठा । म खुसी भएर हुन्छ त भने, तर एकै छिनपछि म फ्यास्स भएँ । कहिलेकाहीँ लेख्न त लेख्थें, तर मलाई रुबाईको बारेमा त्यति धेरै थाह थिएन । त्यसपछि मैले थिएटरबाट रुबाईबारे लेखिएको पुस्तक पढेँ अनि केही पुराना र नयाँ गरि केही रुबाईहरु पठाएँ  अहिले मेरो रुबाईहरु पनि समेटिएको  ' खैयामालाई प्रश्न ' प्रकाशित  भएको छ । पहिल्लोपल्ट रेडियो नाटक पनि गरेँ । बिराटनगरको गुरुकुलमा नाटक  'मुनामदन' पनि गरेँ , दुखको कुरा  त्यो नाटकले यस्तो अविस्मरणिय क्षण बन्यो कि पहिले मेरो खुट्टा मर्कियो । दोस्रो दिन  स्टेज स्मोकर धुवाँ प्रयोग गरिएको थियो नाटकमा, त्यो धुवाँको कारणले गर्दा मेरो आँखा इन्फेक्सन भयो । अहिले मैले चस्मा लगाउनुपर्ने भएको छ, केही समय सम्म ।यस्तै यस्तै भयो मेरो लकडाउन  ।  

-मानाहाङ्ग लावती 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...