गिरीराज बाँस्काेटा

गिरीराज बाँस्कोटा डेढ दशकदेखि साहित्य र सञ्चारमा सक्रिय छन् । पत्रकार महासंघ पाँचथरका सभापतिसमेत रहेका गिरीको ढुङ्गाको प्रेम कवितासङ्ग्रह प्रकाशित छ ।

डेढ दशकदेखि, साहित्य र पत्रकारितामा सक्रिय कवि गिरीराज बाँस्कोटा पत्रकार महासंघ पाँचथरका सभापति हुन् ।

शून्यताबाट उठ्ने छ समय 
बगिनेछ खोलाझै निरन्तर, अविराम
चट्टाने बाटो त कहिले समथल छिचोलेर
जरुर पुगिने छ सागर 

घर्की जानेछ यो समय 
जिन्दगी मान्नु बाचुन्जेलीलाई 
सपना भन्नु उद्रिरहन्छन्, च्यातिरहन्छन्
टालुला, भरुला
सपना टाल्नु भन्या टालेको लुगाजस्तोमात्र  हैन्
रोएर नधोएको अनुहार जस्तो पनि हैन्
रहरको बाटोलाई ठेसहरूले कहाँ छेक्न सक्छ र ?

लड्दालड्दै उठौला 
हिँडौला दूरको क्षितिज नियाल्दै 
डुब्नु त छँदै छ, घामजून जस्तै 
आखिर पथिक न हौँ यो युगको 

दुःखहरू, पिरहरू हुन्छन् 
दुख्छ नि मन कहिलेकाहीँ
भिज्छन् नि परेली आँसुले 
तर दिनहरू नहिँडाइ कहाँ सुख छ र 
टिकाउनु छ जीजिविषा 
र बग्नु छ निरन्तर

भुइँ चिरेर निस्कन्छ  ’मुल’ पानीको
काडालाई काखमा राखेर फक्रिन्छ फूल
सुख, दुःखलाई साथ राखेर घर्किन्छ दिनरात 
पातहरू झर्दै गर्छन् 
पालुवाहरू फेरिँदै गर्छन्
यो यायावरलाई
इमानको बाटोमा लैजानु छ 
विद्रोह बोल्छ अन्यायमा
भलै स्वर सानो किन नहोस्
प्राप्ति भन्दा त पुण्य नै जाती 
सुख भन्दा खुसिनै मिठो
गणित भन्दा अनुभव नै उत्तम 

छेक्नेहरू भेटिन्छन् हरेक निमेषमा 
रोकेर कहाँ रोकिन्छ हावाको बहाव
रोक्दा कहाँ अडिन्छ झर्नाको गति 
ठोकिँदै, जोगिँदै 
लड्दै, उठ्दै 
बगिने छ निरन्तर, निरन्तर

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गिरीराज बाँस्काेटा

लेखकबाट थप...

सम्बन्धित समाचार