कविता विश्वविद्यालयका अवैतनिक प्राध्यापक मानिने चन्द्रवीर तुम्बापो सचेत र प्रतिभावान कवि हुन्।
मैले नै उमारेको हुँ मेरै मिहिनेतले
यो डाँडा यो पाखामा हरियो मुस्कान
मेरै पसिनाको धारमाथि
थपक्कै अड्याएर राखेको हुँ
यी चमकदार हिमाल
पानीको भर्याङबाट,ओरालेर ताराहरू
मैले नै छरेको हुँ,
शहरभरि धप् धप् उज्यालो
सृष्टिको पहिलो नाबालक घामलाई
घैला जस्तो कम्मरमा बोकेर
जंगलको गाउँ छिचोलेर
शहर ब्युँझाउन आइपुगेको हुँ
शितको संगीतमा बिहान
मेरै रगत उम्रिएर
झन् झन् राता फुल्दै गएका हुन्
मेरी प्रियसीको चुल्ठोले बनेको
नागबेली पहाडहरुको सिउँदोमा गुराँस
ओ शहरको वरिष्ठ नयाँ कवि
कुनै फोटोग्राफरले खिचेको तस्वीर हेरेर
तिमी लेखिरहन्छौ सधैँ
हिमाल,पहाड र गुराँसको कविता
धागो बनाएर धागो जस्तै
तन्काउँदै तन्काउँदै मैले नै ल्याइपुर्याएको हुँ।
यो मरुभूमिको छातीमा नदी।
मैले नै खोसेको हुँ मेरै वेगले उफ्रेर
चुच्चोमा बीऊ च्यापेर
आकाश सँगै कुदिरहेको चरासँग
त्यसपछि नै हो,
खेतमा किसानको सपना उम्रन थालेको
मैले नै निकाले हुँ ओढारबाट मानिसहरूलाई
मेरै प्रथम चेतनाले बनाउन सिकाएको हुँ घर
र बसाएको हुँ सुन्दर यी बस्तीहरू ।।
ओ शहरको वरिष्ठ नयाँ कवि
कुनै चित्रकारले कोरेको चित्र हेरेर
तिमी लेखिरहन्छौ सधैं
नदी,चरा र बस्तीका कविता
मात्र बरण्डामा बसेर रमिते कविता लेख्नु
कविता फलाक्नु होइन मेरो अधिकार
पुग्नु छ बतासै बतास टेकेर
आफ्नो सातो अपहरणमा परेर
मुर्छा परेको गाउँ,बस्ती
आफ्नो पहिचान गुमाएर शोकमा उभिएको पहाड
आफ्नो रङग चोरी भएर,
फुल्न नसकेको सुनाखरीको देशमा
र कुनै दन्त्येकथाको चामत्कारिक नायक जस्तो
फर्काउनु छ मैले,
डाँडापाखाको हरियो मुस्कान
पसिनाको औंलाको टुप्पोमाथि
थपक्कै अड्याएर राख्नु छ
फेरि अर्को नयाँ हिमाल
ओ वरिष्ठ नयाँ कवि मै हुँ
म नै हुँ
यो पृथ्वीको देब्रे कुनामा छेलिएको
प्राचीन कवि ।
याे पनिः चन्दवीर तुम्बापोको कविताः ‘ओ तानाशाह’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...