एक्जाइल्ड भूट्नीज पेसाले शिक्षक र पत्रकार हुन् । सरभाङ भुटान घर भइ हाल भुटानी शरणार्थी शिविर, दमकमा बस्ने उनी सम्पादनमा समेत सक्रिय छन् । अध्ययन लेखनमा विशेष रुचि भएका भूट्नीजकाे बज्यूको आत्मकथा कविता सङ्ग्रह प्रकाशित छ । प्रस्तुत छन् उनका तीन कविताः
१. कवि
म कवि होइन
मसँग
आँखा छ
कान छ
जिब्रो छ
आफ्नै खुट्टप्रति असीम भरोसा छ ।
मेरो
सबभन्दा ठूलो अवगुण
मसँग प्रश्न छ
म कवि होइन ।
२. काँचुली
लण्डनको फुटपाथहरूमा
बेवारिसे सपना बनेर
कक्रिरहेको हुने थियो स्वाधीन भारत
टोकियोको कुनै सङ्ग्राहालयमा
मुस्किलले भेटिने थियो ग्रेट वालको अवशेष
यदि
गान्धीहरूले बेलायती लयमै गाएको भए
माओहरुले जापनी तालमै नाचेको भए ।
यति बुझ्नु,
लात्ताले नहानेको भए 'ड्रिग्लामनाम्जा'लाई
लुथर किङहरुले
गालामा नचड्काएको भए 'चावासुम'को
विपीहर"ले
देख्ने थिइनँ म पनि नयाँको सपना
पुरानो, जिर्ण र कथित तिम्रो नियम
सर्पलाई काँचुली नहुने भए
३. सबुत
ती तिम्रै बाजे हुन्
जो धनुजस्तो ढाडले
मुजा परेर बसेका उत्पीडनको अंशहरूलाई
जिन्दगी नाम दिएर
घिसारिरहेको छ पलपल ।
त्यो तिम्रै बाउको शरीर हो
जहाँबाट मूल फुटाएर
तिम्रो न्यायिक गर्जनको अभिलाषी पसिनाको धारा
मालिकको सोखिन इच्छाहरूको मोल चुकाउन खातिर
बर्षातको भेल जस्तै बग्न बाध्य छन् दिनहुँ ।
मेरो मित्र !
ओ...... मेरो न्यायप्रेमी मित्र
किन स्थिर छ करूणा भरिएको तिम्रो मुटु ?
यति बेला कहाँ छौ तिमी ?
के तिमी बच्चाको कलेटी ओठमा छौ ?
आतंक सल्बलाई रहेको
तिम्री आमाको विनित अनुहारमा छौ ?
या, फुलझैँ फक्रेकी
तिम्री बहिनीको इज्जतको रखवाली गरिरहेको छौ ?
कहाँ छौ तिमी ?
जुगौँ पहिले
लत्पतिएको हो जाली तमसुकमा
तिम्रो च्याब्जुबाजेको ओँठाछाप,
त्यो याद छ मालिकलाई
तर उसकै अघिल्तिर दम लिइरहेको
तिम्रो भिमकाय छातीबारे
उ पनि बेखबर छ ।
किन,
तिम्रो छाती
तिम्रो विचार र सपना
त्यो कागजको टुक्रा भन्दा जीर्ण देखिन्छ ?
यस्तो लाग्छ
दुनियाँमा अस्तित्वनै छैन तिम्रो
वर्षौं पहिले डीबी गुरुङ झैँ बिकिसकेको हौ तिमीपनि ।
मेरो मित्र !
ओ...... मेरो न्यायप्रेमी मित्र
निर्जीव भनिएको बादललाई हेर
र आकाशको गर्जनलाई सुन
आकशै भएर झर्ने बर्षाका बुँदहरू चिन
ती जम्मै बादलका अस्तित्वको सबूत हुन् ।
र सक्छौ
पेश गर तिमी पनि
आफू अस्तित्वमा रहेको यस्तै कुनै सबूत ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...