धरानमा जन्मिएका प्रदीप योङहाङ लिम्बू सचेत र प्रतिभावान कवि हुन् ।
कम्युनिज्म
सोसियाेलिज्म जस्तै
अरूअरू इज्मको भिड
भर्खरै आएको छ,
बिकिनीज्म ।
बिकिनीज्म
कुनै समुद्रको तटमा
बिकिनी पोज दिनेहरूले प्रतिपादन गरेको सिद्धान्त होइन ।
न त कामुक नजरहरूको रेल रोक्ने स्टेसन नै हो ।
बिकिनीज्ममा 'नग्नता' छ
तर नाङ्गो हुनका लागि आह्वान छैन
न त छाती र गुप्ताङ्ग छोप्ने कान्छो-कान्छी कपडाको टेन्डर आह्वान नै गरेको छ ।
जिब्रोबाट खोसेर लगेपछि भाषाको आवरण
जिब्रो नाङ्गो भयो
पैतालाबाट खोसेर लगेपछि चालहरूको मौलिकता
पैताला नाङ्गो भयो
शरीरबाट खोसेर लगेपछि पहिरनको स्वाभिमान
शरीर नाङ्गो भयो
र नाङ्गो भयो
एउटा अस्तित्व,
एउटा सभ्यता ।
नाङ्गो हुनु भनेको गुप्ताङ्ग नछोपिनु मात्रै होइन ।
सत्ताले नङ्ग्याएको
त्यही नाङ्गो अस्तित्व
त्यही नाङ्गो सभ्यता
उभिरहेको छ 'बिच'मा
र यो 'बिच' समुद्रको होइन
तातो सडकको हो ।
जहाँ प्रतिबिम्बित भैरहेको छ,
एउटा लठुवा सत्ता ।
विद्रोह गर्न, काँधमा नभएपनि बमको झोला
युद्ध गर्न,आफ्नो पक्षमा नभएपनि हजारौँ सैनिक
त्यो नाङ्गो शरीरलाई कमजाेर नसम्झिएस्, लठुवा सत्ता
किनकी बिकिनीज्म समयले जन्माएको प्रश्न हो,
र प्रश्न कहिल्यै कमजाेर हुँदैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...