नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा २०७८ मा प्रथम स्थान हासिल गर्न सफल धादिङकी अमृता स्मृतिकाे कविता 'डढेलो पछि पनि वसन्त आउँछ' हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।
हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रीएको
पिँढीको गुन्द्रि बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !
न कुनै आहत
न कुनै पदचाप
समय आफैँ मलामी आफैँ मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रर्दशन गर्न
किलोको आड चाहिए जस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज
भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !
झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, चुरे भावर र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फूल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुख/बिरुवा पलाउँछन् ।
जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...