नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा २०७८ मा प्रथम स्थान हासिल गर्न सफल भाेजपुरकी कविता राईकाे कविता 'देशकाे नक्सा' हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।
म कोरिरहेकी छु
देशको सग्लो नक्सा
खाली पानामा कोर्छु
असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार,
क्यानभासमा आफ्नी आमाको मुहारचित्र ।
अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु,
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखुन्जेल किच्चु, टाल्छु र मेट्छु धाँजाहरू
विषाक्त हावा बोकी आउने आँधी उडाउनै खोज्छ मलाई
बलेसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउनै खोज्छ मलाई
छानाबाट खसेका पानीका तप्कनासमेत
शिरदेखि पाउसम्मै भिजाउँछन् मलाई
तर पनि उभिरहन्छु पहाडजसरी
र घरको मूल खाँबो समातेर
कोरिरहन्छु सहस्र रेखाहरू ।
ओ सिमाना काटी जाने चराहरू !
पहाड भत्काएर बगिजाने खोलाहरू !
देवल उठाइरहेका पौरखी धमिराहरू !
माटोको दरबार बनाइरहेका कमिलाहरू !
सुन !
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले
तीन कोटि स्वाधीन मुटुलाई
जहाँ उम्रिएर प्रेम र विश्वासको बीउ
लटरम्म खुसीको घाम फल्छ
छामिहेर त,
आँखा चिम्लेर आफ्नै मुटुको ढुकढुकी
हो धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै
छुटेका मनहरू समेत एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...