‘शेरनी’ मानिस र प्रकृतिको सम्बन्धलाई कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । र, मानिस मानिसबीचको सम्बन्ध कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । एकातिर बाघको त्रास छ अर्कातिर बन्दुक बोकेर हिँड्ने उत्तिकै खतरनाक मान्छे छन् । भोटका लागि जे पनि गर्न तयार नेता छन् । आफ्नो प्रमोसनका लागि सरकारी काममा झेल गर्ने कर्मचारी छन् । र, एउटी विवेकशील युवतीलाई आफ्नो पुरातन सोचमा ढाल्न निमग्न नातेदारहरु छन् । के यी मानिसका लागि बाघभन्दा बढी खतरनाक छैनन् ?
अमित मसुरकरको ‘शेरनी’ हेरियो । यो शब्द आफैँमा एउटा विम्ब हो । जसरी उनको अघिल्लो फिल्मको शीर्षक ‘न्युटन’ एउटा विम्ब थियो । ‘न्युटन’ भारतको एउटा त्यस्तो कर्मचारीको कथा थियो जसलाई आफ्नै इमान्दारी र आदर्शको घमण्डले जमिनतिर तानिरहेको थियो । जब यो कर्मचारीको भेट आफ्नो हातमा रहेको बन्दुकको भारलाई देशको भार ठान्ने सुरक्षा अधिकारीसँग हुन्छ र यी दुई मिलेर छत्तीसगढको माओवादी प्रभावित आदिवासी इलाकामा चुनाव गराउन खोज्छन्, ‘न्युटन’ त्यो भोट बाक्सामा नत्थी गरिएको लोकतन्त्रको कथा थियो ।
शेरनीचाहिँ एकसाथ दुई ‘स्त्री’ को कथा हो । एउटा आफ्ना बच्चासहित मानव बस्ती पार गरेर यात्रा गरिरहेकी जंगलकी बघिनी र अर्की जंगल र जनावरको रक्षामा खटिएकी डिएफओ । जिल्ला वन अधिकृत विद्या भिनसेन्ट खासमा यो कथाकी बघिनी हो र कथाकी बाघ । फिल्ममा केही गजबका सहायक पात्र छन् । एउटा लम्पट हाकिम, केही निरिह सहायकहरु, एउटा इमान्दार अनुसन्धाता र झल्लु सिकारी ।
जंगलले एउटामात्रै जनावरलाई सहारा दिँदैन । जंगलले हरिण र उसको शिकारी बाघ दुवैलाई उत्तिकै अवसर दिन्छ । सबैका लागि जंगल उस्तै छ । फरक खाली उसको आफ्नो चरित्रका कारण हुन्छ । जंगलको शिकार र शिकारी दुवैले भरिएको हुन्छ । जो बाँच्यो त्यो शिकारी, जो मर्यो त्यो शिकार । यही कुरा सहरको सन्दर्भमा पनि भन्न सकिन्छ ।
फिल्मले उठाउने प्रश्नचाहिँ मान्छे र बाघमा को बढी खतरनाक ? को कसको शत्रु ? भन्ने हो । बाघ मान्छेको बस्तीतिर आइरहेको हो कि मानिसले बाघको बस्ती अतिक्रमण गरिरहेको हो ? बाघ संसारबाटै लोपोन्मुख भएकाले यसलाई जोगाउनु पर्ने भएबाटै थाहा भइहाल्छ, अतिक्रमणकारी को हो भन्ने कुरा !
निर्देशक अमित यस्ता कुरा फिल्ममा सोझै बोल्दैनन् । तर जब बघिनीको बाटो नै छेक्ने गरी जंगल फँडानी गरिएको र खनिज उत्खनन् गरिएको क्षेत्रमा पुगेर ’शेरनी’ विद्याले आँसु पुछ्छे दर्शकलाई थाहा हुन्छ, आतंक कसले मच्चाइरहेको छ ।
एकातिर मानव वस्तीतिर अघि बढिरहेकी र घेरामा पर्दै गइरहेकी बघिनी छ । अर्कातिर कर्मचारीतन्त्र, नेताहरुका अर्कमण्यता र अबुझ परिवारले घेरा हालेकी बघिनी छ । एक हिसाबले हेर्दा यी दुवैको अस्तित्व संकटमा देखिन्छ । फिल्म यो द्वन्द्वका कारण पनि रोचक छ ।
फिल्मले अर्को एउटा आयामको पनि उठान गर्छ– राजनीतिका नाममा भोट बटुल्न र दादागिरीमात्र देखाउन जान्नेहरुले कसरी हरेक कुरालाई भोटसँग साट्छन् । न विकासको कुनै भिजन छ न समाजलाई सकारात्मक दिशातिर लैजाने कुनै सोच ! खाली दिमाग र लठैत कार्यकर्ता भएका नेतालाई के चाहियो– उनीहरु बाघलाई नै आतंककारी घोषित गर्छन् । कोही बाघ मार्ने शिकारी लिएर आउँछ कोही सरकारले मान्छेभन्दा बाघलाई बढी महत्व दिएको भनेर आगो बाल्नतिर लाग्छ ।
यो सबका बीच भारतको कर्मचारीतन्त्र चल्नै शैली, सोच र दर्शन कसरी मक्रालिएको काठजस्तो खोक्रो छ भन्ने दर्शाउन निर्देशक बाघको साहारा लिन्छन् । ‘न्युटन’मा छत्तिसगढका माओवादीको आतंक द्वन्द्वलाई अघि बढाउने तत्व थियो । ‘शेरनी’मा त्यो बाघिनी छ । यी दुवै जंगलबासी ! दुवैका शिकारी तैनाथ । र, दुवै शिकार गर्न पनि तैयार !
भारत वरपर झन्डै ४२ वटा नरभक्षी बाघको शिकार गरेका शिकारी केनिथ एन्डरसनले लेखेको एउटा मेमोयर पुस्तक छ– ‘कल अफ दि म्यानइटर’ । यो मैले आजसम्म पढेका मध्ये अद्भूत लागेको पुस्तक हो । जंगलबारेको यति सघन अनुभूति सितिमिति पढ्न पाइदैन र बाघबारे जानकारी पनि ।
एन्डरसनको एउटा भनाई छ– बाघबाट मानिसलाई तबसम्म खतरा छैन, जबसम्म बाघलाई मानिसबाट खतरा छैन ! जंगल बाघको साम्राज्य हो । त्यहाँ उसका केही नियम छन् । त्यो नियमलाई मानिसले लगातार तोडिरहने हो भने बाघले त्यसको सजाय दिन्छ । र, बाघ किन नरभक्षी हुन्छ भन्नेमा पनि उनको खोजका केही निष्कर्ष छन् । हालै बर्दियामा बाघ र मानिसको द्वन्द्वका केही घटनाहरु देखिएका छन् । त्यसको गतिलो अध्ययन नगरी सोझै निष्कर्ष पेश गर्ने प्रवृति पनि देखियो तैपनि यसको अध्ययन हुने हो भने बाघ र मानिसको आगामि सम्बन्धका पहेलीहरु खुल्न सक्छन् ।
मानव सभ्यताको कथा नै खासमा प्रकृतिसँगको संघर्षमा मानिसले आफूलाई कसरी निखार्दै थप बुद्धिमान बनाउँदै ल्यायो भन्ने आख्यान हो । यो आख्यान किन हो भने बुद्धिको कुरा मानिसको कल्पना हो । यो यात्रामा बाघ शिकारी युगदेखिकै प्रमुख पात्र हो । मान्छेको इतिहास र साहित्यलाई हेर्ने हो भने बाघ एउटा ठूलो डरको विम्बका रुपमा उपस्थित भएको पाइन्छ । खासमा डरको कल्पना र त्यसलाई जित्ने तरिकाको आविस्कारले नै मानिसलाई अघि बढ्न सिकाएको हो । अन्य प्राणीसँग त्यो कल्पना गर्ने शक्ति नभएका कारण उनीहरुको विकास हुन सकेन भन्ने युवल नोहा हरारी आफ्नो पुस्तक ‘स्यापियन्स’मा लेख्छन् ।
प्रकृति र पर्यावरणको दोहनलाई नै विकास मान्ने मानिसको सोचको सबभन्दा ठूलो नमूना नेपाल सरकारले ढुंगा रोडा बेचेर विदेशीको ऋण तिर्ने नीति बजेटमै ल्याएर प्रस्तुत गरिसकेको छ ।
प्रकृति र पर्यावरणको दोहनलाई नै विकास मान्ने मानिसको सोचको सबभन्दा ठूलो नमूना नेपाल सरकारले ढुंगा रोडा बेचेर विदेशीको ऋण तिर्ने नीति बजेटमै ल्याएर प्रस्तुत गरिसकेको छ ।
एकातिर मानव बस्तीतिर अघि बढिरहेकी र घेरामा पर्दै गइरहेकी बघिनी छ । अर्कातिर कर्मचारीतन्त्र, नेताहरुका अर्कमण्यता र अबुझ परिवारले घेरा हालेकी बघिनी छ । एक हिसाबले हेर्दा यी दुवैको अस्तित्व संकटमा देखिन्छ । फिल्म यो द्वन्द्वका कारण पनि रोचक छ । यी दुई शेरनीको भेट कस्तो होला ? यसका लागि फिल्म हेर्नुस् ।
‘शेरनी’ मानिस र प्रकृतिको सम्बन्धलाई कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । र, मानिस मानिसबीचको सम्बन्ध कसरी सुधार्नुपर्छ भन्ने पनि कथा हो । एकातिर बाघको त्रास छ अर्कातिर बन्दुक बोकेर हिँड्ने उत्तिकै खतरनाक मान्छे छन् । भोटका लागि जे पनि गर्न तयार नेता छन् । आफ्नो प्रमोसनका लागि सरकारी काममा झेल गर्ने कर्मचारी छन् । र, एउटी विवेकशील युवतीलाई आफ्नो पुरातन सोचमा ढाल्न निमग्न नातेदारहरु छन् । के यी मानिसका लागि बाघभन्दा बढी खतरनाक छैनन् ? यस्ता सोच भएका मानिसका हातमा कुनै देशको कर्मचारी तन्त्र छ भने त्यो व्यवस्था जंगलको बाघजस्तै लोप हुने खतरामा छैन ?
बस, मसुरकरले यस्ता प्रश्न उठाएका छन् । यसको उत्तरबारे विमर्श गर्ने होमवर्कचाहिँ निर्देशकले दर्शकलाई नै दिएका छन् । यसरी दर्शकको दिमागमा केही विचार र प्रश्नहरु हालेर छोड्ने निर्देशक मलाई मन पर्छन् । कुनै चोरले साफ गरेको आलमारीजस्तो दर्शकको दिमाग पनि थुतेर लैजाने निर्देशकहरुले मनोरञ्जनको परिभाषा गरेको देखेर दिक्क भइरहेका बेला त यस्ता निर्देशकको मूल्य झन् बढेर जान्छ !!
(यो सामाग्री लेखक तथा सम्पादक यज्ञशको फेसबुक पेजबाट साभार गरिएको हो ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...