ऐना अगाडि  निर्भीक  उभिन्छ
र, आफैँलाई कहिल्यै नहेरे झैँ हेर्छ।

सबैभन्दा पहिले खुट्टा हेर्छ
बाँझो खेत फोर्दा फोर्दा
कुर्कुचोमा परेका चिरा देख्छ
र, देख्छ
पैतालाभरि  कहिल्यै पखालिन नसकेका माटोका कणहरू ।

घुडा हेर्छ
मुजा परेको छालाभरि
दुःखहरू बोकेर हिँडेको
उकाली-ओराली देख्छ ।

पेट हेर्छ
अरूको भकारी भर्दाभर्दा
आधा पेट सुतेको रात देख्छ।

छाती हेर्छ
लहलह झुलाएको अधियाँ फसल देख्छ
र देख्छ
सधै अंकमाल गर्न  टाढिने हितैषी ।

हात हेर्छ
जलजलाउँदो फोकाभित्र अरूका रंगीन सपना देख्छ ।

आँखा हेर्छ
आफ्ना सन्तानको अपुरो सपना देख्छ ।

कान हेर्छ
आफूले सिर्जेका धुनहरू देख्छ
अपमानका कर्कश आवाज देख्छ ।

नाक हेर्छ
आफुले छोपिदिएका लाजहरू देख्छ

मुख हेर्छ
कहिल्यै ब्यूँतिन नसकेका मृत प्रश्नहरू देख्छ

शिर हेर्छ
नमिलेको मैलो टोपीभित्र
'निहुरी मुन्टी न' देख्छ ।

तपाईंलाई लाग्न सक्छ
उसले यस्तै यस्तै देख्छ ।

तर, यसपटक यो भन्दा धेरै, धेरै देख्यो।

जस्तो कि,
पैतालामा मुक्तिको बाटो देख्यो
जाँघहरूमा भिमकाय शक्ति  देख्यो
पेटमा भरभराउँदो आगो देख्यो
छातीमा चमचमाउँदो कवच देख्यो
हातमा धारिलो हतियार  देख्यो
आँखामा लुटिएको सपना देख्यो
नाकमा युगौँको अपमान देख्यो
मुखमा उन्मुक्तिको आवाज देख्यो
शिरमा सबैभन्दा बलियो विचार देख्यो ।

युगौँ युग बाँधिएको एउटा अ-मान्छे
आज ऐना अगाडि उभिन्छ
र बोकेर आफ्नै नयाँ प्रतिविम्ब 
निर्भीक लम्किन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

हरिशरण परियार

लेखकबाट थप...