हराउँदैन कहिल्यै यहाँबाट
हतार नगर्नुस्, ढुक्कसँग हेर्नुस्
पृथ्वीकाे अट्ठाइस डिग्री अक्षांश
र चाैरासी डिग्री देशान्तरमाथि
पुर्खाहरुकाे पदचाप जस्ताे देखिने
सदाबहार इन्द्रेणी हाे याे
मिलाउँदै जानुस् हृदयकाे लेन्स
तपाईंकाे आँखाकाे रेटिनामा
बन्दै जानेछ एउटा बहुरङ्गी विम्ब
आँखाकाे रेटिनाबाट
मस्तिष्ककाे मध्यविन्दुमा आइपुग्दा
तथ्याङ्क विभागकाे तालिका जस्ताे लाग्न सक्छ
नियाल्दै जानुस् तालिकाका काेठाहरु
प्रत्येक काेठामा
फरक फरक बान्की अनुहार फेला पर्नेछन्
मस्तिष्ककाे मध्यविन्दुबाट
मनकाे मझेरीमा आइपुग्दा
रङहरुकाे राजधानी जस्ताे लाग्न सक्छ
चहार्दै जानुस् राजधानीका चाेकहरु
प्रत्येक चाेकमा
फरक फरक शैलीका शालिक भेटिनेछन्
महायज्ञकाे मण्डप जस्ताे
रङ्गीबिरङ्गी विम्ब जाे बनेकाे छ
ठ्याक्कै देशकाे नक्सा जस्ताे देखिन्छ
राता, निला, पहेँला, हरिया...
थरिथरिका धर्साहरु जाेडिएर
निर्माण भएकाे नक्साभरि
फैलिएकाे छ, इन्द्रेणी सभ्यता
र इन्द्रेणी राष्ट्रियता उचालेर
विश्व मानचित्रमा उभिएकाे छ
एउटा सुन्दर देश...
डाँफेकाे प्वाँख जस्ताे
रङ्गीचङ्गी झन्डा फरफराई रहने
इन्द्रेणीकाे देश हाे याे
वा इन्द्रेणी हाे याे देश
धितमरुन्जेल हेर्नुस्
रङहरुकी रानीकाे रूप
हेर्दाहेर्दै इन्द्रेणीकाे दर्पणछायाँ
यत्ति कुरा हेक्का राख्नुहाेला
गाढा भयाे भने एउटा मात्र रङ
भद्दा भइदिन्छ इन्द्रेणी
फिका भयाे भने मात्र एउटा रङ
मधुराे देखिन्छ इन्द्रेणी
खुइँलिएर गयाे भने कुनै एउटा रङ
शाेभा सिद्धिन्छ इन्द्रेणीकाे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...