कल्पना चिलुवाल सचेत र प्रतिभावान कवि हुन् । 

घरका मजबुत जग र पिलर खोसेर
जसले थमाइदियो तिम्रो हातमा
काँचा इँटा र झिँगटी

घर-आँगन, खेत-खलियान
इनार-तलैया, गोठ-जङगल चारैतिरबाट
जसले खोसेर लगिदियो
तिम्रो कठोर श्रमको हरहिसाब

जसकाे काम
आँधीको भन्दा बहुतै निष्ठुर छ,
तर तिमी त गाली दिइरहेछौ
त्यो हुरीलाई र आफ्नै तक्दिरलाई

याद गर्यौ भने देख्नेछौ स्मृतिमा
सुन जस्तो धान, गँहु, मकै, तोरी
कौडीको भाउमा बेचिरहेको आफैँलाई
र ठूलो भुँडीवाल गल्लावालले
कुटिल मुस्कानसाथ किनिरहेको तिमीलाई

जब चार महिनामै रित्तियो
तिम्रो डेहेरीको अनाज
रित्तिन थाल्यो बालबच्चाको पेट
तब तिमीलाई थाहा भयो
आफ्नो हैसियत
जो सस्तोमा बिक्री हुन त सक्छ
तर, महँगाे वस्तु खरिद्न सक्दैन

याद गर्दै जाऊ
बगायौ जमिन्दारको ठूलो जमिनमा
ठूल्ठुलै पसिना दाना
पुग्यौ सहर र बेच्यौ पाखुराको श्रम
दूधको ग्यालिन,
तरकारीको बोरा सबै बोक्यौ
कहिलेकहीँ त
कठालो समातेर लग्यो
तिमीलाइ काठ तस्करले
घना जङ्गलभित्र
गर्न लगायो ट्रकमा गोलियाको लोड
बदलाकम एक बन्डल बिँडी थमाएर
घोक्र्यायो तिमीलाई मध्यरातमा जङ्गलबाट

अहो !
चुनावमा एक बोतल ठर्राको भरमा
त्यो दुब्लो शरीरले
कसरी बोक्न सकेको
त्यो मोटे नेतालाई

याद गर
आफ्नै घरको भग्नावशेषमा उभिएर
दाइजोमा एक लाख दिन नसक्ने थाहा पाएपछि
रामदुलारीकी बेटियाले कसरी आत्महत्या गरी
कसरी गाँउको सेठले त्यही साल
बनायो आफ्नो पाँचौ बङ्गला
मानव दासमा बेचिन हवाइजहाज चडेर गएको बेटा
कसरी फर्कियो बनेर लास

तिम्रो भोटले बनेको मन्त्री
अब चड्दैन साइकल
र भन्दैन तिमीलाई देखेर-
'राम राम काका !'

तिम्रो भत्किएको गाँउमा
सत्रिय हुनेछन् अब
एनजीओ र आइएनजीओहरू
पाउनेछन् केही क्लबले काम
छापिनेछन् घाइते शरीर र घरका तस्वीरहरू
बज्नेछ रेडियोमा
आँधीको समाचार
निर्माण भएको पीडाको पिरामिड
उद्घाटन गर्न आएझैँ
आउनेछन् प्रधानमन्त्री र मन्त्रीहरू
र, कुशल अभिनयका साथ
भावुक मुद्रामा फर्कनेछन् राजधानी

हावालेनै उडाइदिने कच्चा घरहरू
पहिरो जाने डाँडोमुनिका झुपडिहरु
बाढी आउने नदी किनारका
सुकुमबासी छाप्राहरू
आफैँमा हुन ती
विपत्तिको भविष्यवाणी

यो दुर्दशाको खुला भविष्यवाणी
कहिल्यै नसुन्ने नदेख्ने
शासक छ यो देशमा

तर, तिमी त गाली दिइरहेछौ
त्यो हुरीलाई र आफ्नै तक्दिरलाई

गालिका लायक
अरू नै कोही छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

कल्पना चिलुवाल

लेखकबाट थप...