विसं २०११ मा धनकुटामा जन्मिएका अशेष मल्ल नेपाली नाट्यविधाका शीर्ष साधक हुन् । मल्लका कयौँ नाटक, कविता, बालकथा तथा बालनाटकसंग्रहहरू प्रकाशित छन् । साझा पुरस्कार, मोती पुरस्कार लगायत दर्जन पुरस्कार तथा सम्मानबाट सम्मानित मल्ल नेपालमा सडक नाटकको जन्मदाताका रूपमा समेत चिनिन्छन् ।

चराका पखेटा काटिदिनुस्
र, भन्नुस्,
जा
उड् आकाशमा ।
र, भन्नुस्,
तँ स्वतन्त्र छस् ।
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरू उखेलिदिनुहोस्
र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका वाणहरू
र,
कहिल्यै
सिकार गर्ने छैन
एकान्तमा
चराका पखेटा काटिदिनुस्
र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र,
गर्नुस् कल्पना
मुक्तिको ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अशेष मल्ल

लेखकबाट थप...