सुमन लिङदेन

फोटोग्राफी गर्न रुचाउने ईलामका सुमन लेखक हुन् ।

थ्य: देखिन्छ फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल ।

सुदुरपूर्व पान्थर जिल्लाको नागी गाउँ । यही गाउँको देउराली बाटो हुँदै लोजिना आफ्ना बाख्राहरु खोर लाँदैछिन् । साँझले छोप्नुअगावै बाख्रालाई खोरबास लगाइसक्नुपर्ने हुन्छ । बाटोनेरकै देउरालीमा फुलिरहेको हुन्छ सेतो फूल । जुन फूल आफ्नी दिदी नुमाको चुल्ठोमा सिउरिदिनु लोजिनाको दिदीप्रतिको अनुराग हो । उसले त फूलजत्तिकै सजाउनु छ आफ्नी दिदीलाई । साँझ उक्लँदैछ । दिदीलाई भनेर फूल टिप्दैछिन् लोजिना । दिदीको चुल्ठोमा सिउरिदिएपछि फूल, उनको सौन्दर्य अझ उकालिएको कल्पिँदी हुन् कि, लोजिनाको अनुहारमा चमक छ ! ठीक त्यतिबेलै नेपथ्यमा देखिन्छ फक्ताङलुङ हिमाल । हिमालको काँधकाँधसम्म पुगिसकेको हुन्छ, बुढो घामको सुनौलो किरण । 



पूर्वी पहाडी शैलीको खरको छानो भएको साधारण घर छ । सिकुवातिरै मोडिएको छ मूल ढोका । सिकुवाको एकछेउमा लोजिनाले आफ्नो बुवा, काकाजनहरु केही विशेष कुरा गरिरहेको देख्छिन् । केही अपरिचित तथा नौला मानिसहरु पनि छन् । लोजिनाले खास कुरा के हो ठम्याउन सक्दिनन् । जे होस्, दुवै पक्षको अघिल्नेर केही चीज छ । नाङ्लो छ, नाङ्लोमाथि सिजङ्वा (रक्सी), सुन, केही नगद र फूल राखिएको छ । नुमालाई माग्न कुटुम्ब आएका छन् । केही समयको वार्तालापपछि मगनीले मान्यता पाउँछ । नुमाका अभिभावक आफ्नो शर्तमा अडिग छन् । शर्तअनुसार बेहुला पक्षले बेहुली पक्षलाई माग गरेअनुसारको सुनौली–रुपौली (सुन, चाँदी, नगद या जिन्सी/वस्तु) बेहुली पक्षलाई बुझाउनुपर्ने हुन्छ ।

बेहुली जन्मघरबाट बिदा हुँदैछिन् । भनिन्छ, जन्मघर छाडेर कर्मघरमा भित्रिनु महिलाको लागि एकै जन्ममा पुनर्जन्म हो । नुमा भावविह्वल हुन्छिन् । बिदा भएर श्रीमानको घर जाँदैगर्दा नुमा पटकपटक जन्मघरतिर फर्किंदै हेर्छिन् । ईङमिवा र कुटुनीहरु नुमालाई कर्मघरसम्म लान उद्दत छन् । यसैयसै आफ्नो मनलाई जन्मघरमै राखी कर्मघरका लागि बिदा हुन्छिन् नुमा । उता लाम्दाःक्मा (स्वागत गर्न)का लागि तयार छन् बेहुलातर्फ । डोलीमा छिन् नुमा । च्याब्रुङको आवाज गुञ्जिरहेको छ । च्याब्रुङ नाचको टोली फरकफरक तरिकाको नाचले स्वागत गरिरहेछ बेहुलीलाई । त्यसबखत स्वागतार्थ तिम्मक (जोरनाले भरुवा बन्दुक) पनि पड्काइन्छ । विवाह वा मृत्युमा बन्दुक पड्काउनु सांस्कृतिक परम्पराजस्तै रित बसिआएको छ लिम्बू समाजमा । यसरी परिवार र आफन्तजनहरुको आशिष थमाउँदै बेहुलीको स्वागत गरिन्छ । 

खुशीसाथ चलिरहेको नुमाको परिवारमा एकदिन बज्रपात आउँछ । ओझाहाङ अर्थात नुमाको श्रीमानको आकस्मिक मृत्युसँगै चलचित्रले फरक बाटो लिन्छ । भर्खर जम्दै गरेको घर, बेलैमा श्रीमानको मृत्युले आहत भएको नुमाको जीवन ! चलचित्रको बिचमा एउटा संवाद छ । भावविह्वल नुमा तागेरानिङवाभुमाङसँग मन दुखाइरहँदा नुमाको बोजु फुङलोतिले नुमालाई सम्झाएको संवाद हो, 'ए... किन यसरी मन दुखाउँछौ ? छोरीमान्छेको कर्म त यो तानको धागोजस्तै हो । चुँडिन्छ, जोड्नुपर्छ । फेरि चुँडिन्छ, जोड्नुपर्छ ।' बिचबिचमा नुमाको जीवनमा अनेकन घटनाहरु जोडिन्छन् । उनको जीवनमा आइपर्ने अनेक उतारचढावसँगै चलचित्रको सिलसिला अघि बढ्छ । 



एकदिन फेरि नुमाको मगनी हुन्छ । 

पहिलो श्रीमानजस्तो छैन दोश्रो श्रीमान् । सुब्बा खलकको रुपमा देखाइएको छ गिरिहाङलाई । गिरिहाङ उर्फ कलाकार प्रेम सुब्बा । मेला धाउनु, फौदारी गर्नु, धुम्रपान–मदिरापान गर्नु, झगडा गर्नु गिरिहाङको आदत नै बनिसकेको छ । एक किसिमले गाउँको छोटे राजाकै रवाफ छ उनमा । श्रीमानबाट पाउनुपर्ने प्रेम कहिल्यै आभास गर्दिनन् नुमा । 

स्याउलाले छोपेका डेराहरु छन् । पैकार गर्नेहरु आ-आफ्नै डेरामा व्यस्त छन् । कोही रोटी पोल्न व्यस्त छन् त कोही तरकारी बनाउन । धान नाच्नेहरु धान नाचिरहेका छन् । यतिकैमा मेलामा एक्कासी होहल्ला हुन्छ । एक्कासी उर्लेको झगडाले बजार उठाउँछ । गिरिहाङलाई घेरिन्छ । शत्रुको घेरामा परेको श्रीमानलाई जोगाउन नुमा बिलौना गर्छिन्  । त्यसैबखत उनीमाथि श्रीमानले गरेको हर्कतले नुमाको शिर ढल्छ । 

एक बिहान, नुमा घरमा नभएको खबर आउँछ । त्यत्रो सुनौली–रुपौली तिरेर विवाह गरेकी श्रीमती घरमा नभएपछि दलबल र तुम्याहाङसहित नुमाको घरमा जारी उठाउन आउँछ गिरिहाङ । केही भनाभैली चल्छ । अन्तत: तुम्याहाङको वचनले पक्रेपछि जारी तिर्न बाध्य हुन्छ नुमाको परिवार । खोजौं, कहाँ खोजौं नुमालाई ? तिर्नुपर्ने हर्जना सुनौली–रुपौलीको दोब्बर छ । अन्त्यमा घरखेत जम्मै बन्धकी राखी गिरिहाङमार्फत लिइएको सुनौली–रुपौलीबापतको दोब्बर हर्जना तिरिन्छ । 

देउरालीमा अर्को देउराली भएर बिरक्तिएका छन्, नुमाका बुवा । आफूले गाँसेको माटोसँगको सम्बन्ध छुटाउनुपर्दा यसै मन मानिरहेको छैन उनको । 'हिँड्नेलाई बाटो बस्नेलाई माटो' भने झैँ देउरालीमा  फूल चढाई बिदा हुन्छन् त्यहाँबाट । अन्त्यमा, त्यहाँ चढाइएको फूल लोजिनाले आफ्नो चुल्ठोमा सिउरिन्छिन् ।

खास, कहाँ गइन् त नुमा ? नुमाको परिवार कहाँ जाला ? यसरी दर्शकमाझ कौतुहलता खडा गरेर समाप्त हुन्छ चलचित्र । 

चलचित्र नुमाफुङ पान्थरको विभिन्न ठाउँमा खिचिएको हो । एकाध कलाकारबाहेक चलचित्रका अन्य कलाकारहरु नौला छन् । कलाकारितामा नयाँ अनुहार भए पनि चलचित्रमा सबैको उपस्थिति जब्बर छ । चलचित्रको शुरुदेखि अन्त्यसम्म लोजिनाको उपस्थिति छ । गाउँघरमा हुर्केकी बालिकाको मनोविज्ञानलाई गज्जबले न्याय गरेकी छिन् लोजिनाले । यो हिमवत खण्डमा बसोबास गर्ने सम्पूर्ण आदिवासी लिम्बूहरुको आर्थिक, सामाजिकलगायत समग्र पक्षलाई चलचित्रमा उजागर गरिएको छ । सामान्य कृषि र पशुपालनमा आधारित परिवारको कथा हो यो । त्यहि कथामार्फत जनसांस्कृतिक परम्परालाई उठाउनु नुमाफुङको अर्को सबल पक्ष हो । 

दृश्य बढ्दै जाँदा चलचित्रमा केही बिम्बात्मक प्रयोग पनि गरिएको छ । नेपथ्यमा फक्ताङलुङ हिमाल देखिनु आफैँमा याक्थुङ सभ्यताको बिम्ब हो । सपनामा लोजिनाले आफ्नो भेना रुखको हाँगाबाट चिप्लिएको देख्नु, भेना (ओझाहाङ)को मृत्यु हुनु, गिरिहाङले नुमालाई घोडाबाट लखेटेको सपना देख्नु, नुमा घरमा नहुनुजस्ता दृश्यहरुले आमजनविश्वासको प्रतिनिधित्व गर्छन् । अन्त्यमा, बुवाले देउरालीमा थमाएको फूल उनले कपालमा सिउरिनु, आदिलाई चलचित्रमा सांकेतिकताको रुपमा देखाइएको छ ।

प्रत्येक कर्मकाण्डीय अनुष्ठानमा पुरोहितको रुपमा फेदाङबालाई देखाइएको छ । अनुष्ठान कार्यमा फेदाङबालगायतका पुरोहितहरु समाजमा विश्वासका पात्रहरु हुन् । उनीहरु मुन्धुम गाउँछन् । पाषाण युगदेखि नै विकसित भएर वंशाणुगत रुपमा वा एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको मुन्धुम परम्परा लिम्बू समाजका लागि एक प्राचीन र महत्वपूर्ण सम्पदा हो । मुन्धुमलाई प्रकृतिवादी दार्शनिक चिन्तनको रुपमा पनि व्याख्या गर्न सकिन्छ । पूर्वीय संस्कृति र सभ्यताको एउटा महत्वपूर्ण अबयव मुन्धुम पहिलापहिला मौखिक या श्रुतिपरम्परामा सिमित भएको भएता पनि पछिल्लो समय मुन्धुमलाई लिपिबद्ध गर्ने काम भइरहेको छ ।



नुमाफुङ चलचित्रमा लिम्बू समाजलाई परिभाषित गर्ने धेरै कुराहरु उठान भएका छन् । तीमध्ये निम्न विषयहरुको संक्षिप्त रुपमा चर्चा गरौं: 
१) सांस्कृतिक पक्ष:
चलचित्र नुमाफुङमा विशेषत: पूर्वी नेपालमा बसोबास गर्ने लिम्बूहरुको सांस्कृतिक पक्षलाई उठान गरिएको छ । अन्य विभिन्न जातिहरुको आआफ्नो चिनारी भएजस्तै जातिगत रुपले लिम्बूहरुको पनि आफ्नै बिशेषता छ । मुख्य रुपमा यो जातिलाई बुझ्न उनीहरुको साप्पोक चोमेन (कोखपूजा) हुँदै साम्दाखु (संसारिक लोकबाट पितृ भएको ठाउँसम्म पुर्याइने अनुष्ठान)सम्मको यात्रा तथा कर्मकाण्डलाई नियाल्नुपर्ने हुन्छ ।

२) वैवाहिक पक्ष:
फरकफरक जातिअन्तर्गत विवाहका तरिका पनि फरकफरक हुन्छन् । आआफ्ना चलन र रितअनुसार विवाह गरिन्छ । लिम्बू जातिमा प्राय: तेन्धाम् मेःख्खिम् (मागी विवाह) हुन्छ । तरुण युवायुवतीहरुको राजीखुशीमा पनि विवाह हुन्छ, जसलाई लिम्बू भाषामा हाङगाम फात्चा भनेर भनिन्छ । पछिल्लो समय राजीखुशी विवाह अर्थात् हाङगाम फात्चाको चलन बढ्दो छ । विवाहका अन्य प्रचलन पनि छन् लिम्बू समाजमा ।

चर्चा गरौं, लिम्बू समाजमा प्रचलित मागी विवाहबारे । लिम्बू समाजमा विवाह प्रचलनबारे 'हज्सन पाण्डुलिपि'को भोल्युम ७४, ८४ र ८५ प्राज्ञ बैरागी काँइलाद्वारा उल्था भइसकेको छ । जहाँ, लिम्बू समाजमा प्रचलनमा रहेका वैवाहिक पक्षबारे लेखिएका छन् । साधारणतया सुनौली–रुपौली भनिने उक्त रितलाई नेपाली भाषामा चारकलम भनिन्छ । जुन रित (पैसा वा सुन दुवै) मगनीमा केटापक्षबाट लिइन्छ । यसलाई लिम्बू भाषामा कुम्माथङना भनिन्छ । 

पछिल्लो समय लिम्बू समाजमा सुनौली–रुपौलीलाई छोरीचेलीको रित खाएको भन्ने आरोप लागेको साँचो हो । तर, हरेक रितको आफ्नै सांस्कृतिक तथा आर्थिक मूल्य पनि हुन्छ । पहिला छोरी बिहेदान दिँदा लिइने यस्ता दस्तुरलाई लिम्बू जातिभित्र विवाहित महिलाको सुरक्षाकोषको रुपमा लिइन्थ्यो । एकापसमा गरिखान मन्जुर नभएको खण्डमा, श्रीमानले सौता हालेमा अथवा श्रीमानको अकालमा मृत्यु भएमा सुनौली–रुपौलीबापतको सुनचाँदी, नगद वा जिन्सी वस्तुले उसलाई बाँकी जीवन धान्न ठुलो सहारा दिन्छ भन्ने मान्यताअनुरुप यो प्रचलन रहिआएको मान्छन् तुम्याहाङहरु । तर, पछिल्लो समय कतिपय ठाउँमा विवाहको बढ्दो खर्च र अन्य ठाउँमै त्यसको प्रयोग भएकोले सुनौली–रुपौलीलाई छोरीचेलीको सोतरित खायो भनिएको साँचो हो । अहिले सुनौली–रुपौलीको प्रचलन (लिने/दिने कुरा) विवाह गर्ने युवायुवतीको परिवारमा निर्भर गर्दछ । आजसम्म यो रितलाई सांकेतिक वा मूल्यमान्यताको रुपमा लिम्बूहरुले कतैकतै बचाउँदै आएका छन् । फरक यति हो, सुनौली–रुपौलीकोबापतको मूल्य पहिले बढी हुन्थ्यो भने अहिले संकेतको रुपमा थोरै राखे पनि हुन्छ । 



३) साप्पोक् चोमेन् अर्थात कोखपूजा: 
नुमा गर्भवती भएको खबर आएपछि लोजिना र उनको साथीलाई नुमाको घर पठाइन्छ । त्यसलाई लिम्बू भाषामा साःसे भनिन्छ । उनीहरु नुमाको घर पुग्दा घरमा पेटपूजाको अनुष्ठान फेदाङबाद्वारा भइरहेको हुन्छ । 

यो त भयो चलचित्रमा देखाइएको दृश्य । के छ त साप्पोक् चोमेन् को अनुष्ठानिक अर्थ ?
साप्पोक चोमेन् गर्भवती आमा र गर्भमा रहेको बच्चाको रक्षाको लागि गरिने विशेष प्रकारको अनुष्ठान हो । गर्भ बसेको ५-६ महिनापछि यो अनुष्ठान गरिन्छ । गाउँघरतिर यो अनुष्ठान गर्दा प्राय: पानी बगेको छेउ कतै गरिन्छ । फेदाङबाको अनुसार यो अनुष्ठान गर्दा पानीमा गएर विशेषगरी वागङमा र पक्चाना:मा देवताको पूजा गरिन्छ । अनुष्ठान सकिएपछि फेदाङबाले गर्भवती महिलालाई केही नियमले बाँधिदिन्छन् । त्यो नियमको पालना गर्नु महिलाको परमकर्तव्य हुन जान्छ । नियमअन्तर्गत गह्रौँ भारी नउचाल्नू, एक्लै खोला वारपार नगर्नू/नतर्नू, खान हुनेनहुने बार्नू, ईत्यादि पर्छन् । 

४) मृत्युसंस्कार: 
दृश्यमा ओझाहाङको अकस्मात् मृत्यु हुन्छ । आफन्तजन, छिमेकीहरु भेला हुन्छन् । उसलाई चेधाप (हरियो बाँसबाट बनाइएको लाश बोक्ने खट)मा राखेर चिहान गाड्ने ठाउँमा लगिन्छ । फेदाङबाले मृत शरीरको लागि माटो मागेपछि मृत शरीरलाई माटोमा गाडिन्छ । नियमपूर्वक मृत शरीरलाई माटोमा गाड्ने काम भएपछि बिदाईस्वरुप मलामीजनहरुले देब्रे हातले माटो दिने गर्छन् । मृत्युको प्रकारअनुसार लिम्बू समाजमा भौतिक कर्मकाण्ड गरिन्छ । मृत्युसंस्कारलाई सबैभन्दा लामो र जटिल संस्कारको रुपमा लिइन्छ । यसअन्तर्गत धेरै प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । यसअन्तर्गतकै मेरिङ थक्मा अर्थात विरह गानाबारे थोरै चर्चा गरौं । 

मेरिङ थक्माका पनि विभिन्न चरणहरु हुन्छन् । सुरुमा आफ्नो प्रिय मान्छेको मृत्यु भएको कुरालाई नकारिन्छ । 'अहिले उठिजालाजस्तो छ, कस्तो उज्यालो अनुहार,' भन्दै शोकगीत गाइन्छ । त्यसपछि माङसँग बिलौना गरिन्छ, 'उसँगै मलाई पनि लैजाऊ, एक्लै किन पो बाँच्नु र !' अन्त्यमा शोकाकुल आफैँले, 'मृत्यु शास्वत छ, म पनि एकदिन तिमीसामु आउने नै छु । केके लाऊँ लागेको थियो होला ! केके खाऊँ लागेको थियो होला ! बरु तिम्रो नाममा फलैंचा बनाइदिउँला,' भन्दै मृत्यु हुनेको नाममा अन्तिम बिलौना गर्दछ ।

शीर्षक या नामको सन्दर्भमा नुमाफुङ
नुमाफुङ दुई लिम्बू शब्द नुमा र फुङ मिलेर बन्छ, जसको नेपालीमा उल्था गर्दा सुन्दर फूल हुन जान्छ । नुमाको जीवनमा यत्रो उतारचढाव छ, कसरी सुन्दर फूल भयो त ? चलचित्र हेरिसकेपछि जो कसैको मनमा यो प्रश्न आउँछ । नुमाफुङ नाम संकेतिकताको रुपमा राखिएको छ । लिम्बू समाजमा महिलाहरु सधैँ नै नुमाफुङ हुन् भनेर तुम्याहाङहरु भन्छन् । आखिर कसरी त ?

कुनै लिम्बू महिला जब विवाह गरेर दोश्रो घरमा जान्छिन्, त्यसलाई कर्म गरिखानु पनि भनिँदो हो । उसको लागि एक किसिमको विशिष्ट अधिकार जन्मघरसँगै जोडिएको हुन्छ । जस्तोकि, लिम्बू महिलाहरुको सैमुन्द्री माइतीमै सुरक्षित हुन्छ । यसलाई लिम्बू भाषामा मेलुङ फुसिङमा भनेर भनिन्छ । राई या अन्य जातिमा 'बागदाता' भनेर भनिन्छ । यो जन्मघरबाट कर्मघरमा क्रिया सार्ने प्रकृया हो । तुम्याहाङहरुका अनुसार क्रिया सार्ने प्रकृया या सैमुन्द्री दिने चलन प्रारम्भमा लिम्बू जातिमा पनि व्याप्त थियो । तर यसले नफापेको हुनाले मृत्युपछि मात्र सैमुन्द्री दिइन्छ भनेर भनिन्छ । सैमुन्द्री नछिनाइकन निज चोला उठेको महिलाको मृत्यु कर्मकाण्ड गर्न पाइँदैन । सैमुन्द्री छिनाउनु भनेको एक किसिमले मामामावलीलाई (महिलाको माइती) चोला उठेको मानिसको क्रिया गर्न अनुमति माग्नु जस्तै हो । लिम्बू समाजमा सैमुन्द्रीले विवाह गरिसकेपछि पनि महिलाको हक अधिकार जन्मघरमा सुरक्षित छ भन्ने बुझाउँछ । श्रीमानसँग मन मिलेन, सँगै रहन सकिएन या श्रीमानको चोला उठ्यो भने विवाहित महिलाले जन्मघर आई आफ्नै तरिकाले रहन सक्छिन् । 

अन्त्यमा,
चलचित्र नुमाफुङ एक घटनाप्रधान कथ्य हो । चलचित्र लिम्बू समाजलाई सुक्ष्मरुपमा चिहाउने आँखीझ्याल बनेको छ । प्रारम्भमा चलेका कतिपय रितहरु अहिले आएर समस्याको रुपमा देखापरेका छन् । पछिल्लो समय रितलाई रितकै रुपमा ग्रहण नगरी आर्थिक श्रोतको रुपमा त्यसलाई प्रयोग गर्नु ठुलो समस्या हो । चलचित्रमा देखाइएको पनि यही छ । भूमिसुधार ऐनपछि सुब्बा सुभाङ्गी, आगे सुब्बाहरु स्वत: खारेज हुँदै गए । पछिल्लो समय कतिपय थुममा सुभाङ्गी प्रथा सामन्तप्रथा जस्तै भएको साँचो हो । तर प्रथमतः सुभाङ्गी, आगे सुब्बाहरु सरकारको कर संकलकमात्र नभई क्षमताअनुसारको वंशको प्रमुख, समुदायको नेता र किपट भूमिको संरक्षकको रुपमा थिए । राज्यको नीति तथा केही रुपमा आफ्नै अहमले सुब्बा, सुभाङ्गीहरुले धेरैथोक गुमाए । त्यही अहमलाई गिरिहाङको चरित्रमार्फत देखाइएको छ ।



प्राय: हाम्रो सिनेमाको रिफरेन्स दक्षिण भारत बन्न पुगेको देखिन्छ । पछिल्लो समय साँच्चै हेर्नलायक चलचित्र कमै मात्रामा बनेको साँचो हो । यसमा धेरै कुराको प्रभाव होला । चलचित्रको अर्थराजनीति गहिरो देखिन्छ । त्यसमध्ये चलचित्रमा व्यवसायिकता खोजिनु एक हो । यसले गर्दा चलचित्रमा मौलिकता खोज्नेहरु पनि कतै हराएका हुन् कि भन्ने लाग्छ । त्यसो त चलचित्र देशको राजनीति र साहित्यबाट टाढा रहन नसक्ला । समाजको ऐना पनि होला चलचित्र । तर त्यो ऐनामा चलचित्र नुमाफुङमा झैँ कहिले पो प्रतिबिम्बित हुने हो समाज !

नुमाफुङ (सन् २००४)
निर्देशकः नवीन सुब्बा
कथाः काजिमान कन्दङ्वाकृत 'कारोबार कि घरबार'
संगीतः न्ह्यु बज्राचार्य
भाषाः नेपाली र लिम्बू


 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सुमन लिङदेन

लेखकबाट थप...

सम्बन्धित समाचार