बेन्जू शर्मा

नेपाली इतिहास संस्कृति तथा पुरातत्वमा पिएचडी शर्मा कवि तथा कथाकार हुन् ।

बेन्जु शर्माको जन्म विसं २००४ मा डिल्लीबजार, काठमाडौँमा भएको हो । कविता र कथाका क्षेत्रमा कलम चलाएकी शर्माका विभिन्न कविता तथा कथासंग्रहहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, महेन्द्र विद्याभूषण, सुवर्ण पदक, रत्नश्री सुवर्ण पदक लगायत सम्मानबाट सम्मानित शर्मा नेपाली इतिहास संस्कृति तथा पुरातत्वकी पिएचडी हुन् ।

सादा फुलस्केपको मेरो मनमा
तिमीले केही रेखाहरू कोर्यौ
केही चित्रहरू बनायौ
तर रङ्ग राख्न किन बिर्सियौ ?
निर्जीव रेखामा मात्र बाँधिदिएर
एउटा अस्थिपञ्जर बनाएर
किन कतै अलमलियौ ?
कसैले तिमीलाई
अँगालोभित्र बाँधेर राख्यो होला
एउटा बन्धनभित्र बन्धित पार्योध होला
मलाई यो अस्थिपञ्जर चाहिँदैन
रङ्गभित्र रँगिएर
गुराँस बन्न चाहिरहेछु
गुराँसका राता ओठहरूले
तिमीलाई सिन्दूर छर्न चाहिरहेछु
आँखाहरूभित्र बन्धित गरेर
तिमीलाई मुटुको जेलमा
जन्मभरका लागि
कैद गर्न चाहिरहेछु।
तिमी अस्थिपञ्जर मै
मलाई जियाउन चाहन्छौ भने
मेटिदेऊ यी रेखाहरू
सेतो आकाशमा टोलाएको
मेरो मन
शून्यताको गहिरो खाडल खनिएको
मेरो मन
सादा फुलस्केपमै बाँच्न चाहन्छ
कुनै ऋतुहरूलाई यहाँ प्रवेश हुनेछैन
मलाई शून्य–शून्य नै स्वीकार हुनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

बेन्जू शर्मा

लेखकबाट थप...