पारिजात (विसं १९९४–२०५०) मूर्धन्य नेपाली साहित्यकार हुन् । पारिजात आख्यान, गैर–आख्यान, कविता र संस्मरणात्मक लेखहरूका लागि प्रसिद्ध छिन् । उनले शिरिषको फूलका लागि  विसं २०२२ मा मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।  

जंगली फूलहरू फुलेको भिरालोमा 
पैतालाको काँडा झिक्तैथेँ, हजूर !
बाघ चितुवाको शिकार
खेले जस्तो होइन
मान्छेहरू जस्तै 
मान्छेहरूले जस्तै
सुसेल्दै, गीत भन्दै
छिल्लिँदै र जिस्किँदै
बनपाले र उनका मतियारहरूले
मेरो ज्यानसँग
जथाभावी गरे
मेरो इज्जत सबै लुटे
मलाई रक्ताम्मे पारे
काल नआएकी म
मर्न सकिनँ, हजूर।
माइती एकादेशमा
लोग्ने निम्छरो
ठूला–बडाको मुख हेरी
गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर।
बाहिर मेरो रक्षे गर्ने कोही छैन
मलाई ऊ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍... त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर !
झ्यालखानाभित्र ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पारिजात

लेखकबाट थप...