-लिला निशा
सत्ते !
मनको आँखीझ्यालबाट
चिहाई हेर त तिमीले पनि
अनकन्टार बगरमा पनि
क्याक्टसहरु उम्रिएका छन् ।
विश्वास लागेन ?
चिहाई त हेर,
मनको आँखीझ्यालबाट
थाहा छैन उनीहरुलाई
आफू बाँचेको घाइते युग लिएर
कैयौँ युग बिताएर यसरी नै
ठिङ्ग उभिएर
उजाड, निरस
विभत्स कैयौँ लामा रातहरु
सुर्यको प्रचण्ड ताप
अनि
तातो हावाको वेगले
उडाएका धुलोसँगै
बाँच्न विवश छन्
ती क्याक्टसहरु ।
सत्ते !
बाँचेका नै छन्
ती क्याक्टसहरु त
आफू बाँचेको घाइते युग लिएर
बादलको गड्याङगुडुङसँगै
क्याक्टसका आँखाहरू
आकाशतिर फर्किदिन्छन्
एक झोँका वर्षाको आशामा ।
यसरी हजारौँ समस्याका बावजूद पनि
एउटा सानो सम्भावनाको आशामा
भत्भत पोल्ने
बालुवाका नाङ्गा डाँडाहरुमा समेत
वसन्तको विश्वास लिएर
बाँच्न सक्छन् क्याक्टसहरू ।
(कवि लिला निशा हाल अमेरिका निवासी नेपालीमूलकी पूर्व भूटानी शरणार्थी हुन् । सामाजिक अभियान र कलासाहित्यमा सक्रिय उनको कविताकृति ‘बूढो रुख र सान्नानीको इन्द्रेनी’ प्रकाशित छ ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...