काठमाडौँ –  चर्चित आख्यानकार नयनराज पाण्डेको लामा कथाहरूको संग्रह ‘जियरा’ सार्वजनिक भएको छ ।

१३ वटा लामा कथा समावेश रहेको जियरा निषेधाज्ञाको कारण कुनै कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो ।

एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक, बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले ‘जियरा’लाई बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको लेखक पाण्डेले बताएका छन्। ‘जियरा’का कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ । 



सङ्ग्रहमा मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्रह ‘जियरा’मा लेखकले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् । त्यस्तै, लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । 

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएका पाण्डेको कथासङ्ग्रहमा पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । उनले भने, “मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जस्तै ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ।” पुस्तकको मूल्य ४७५ रुपैयाँ छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...