सन् १९८४ मा दार्जिलिङमा जन्मेका कवि किरण नामसाङ काम्बाङ्ग प्रतिभावान एवं सचेत कवि हुन् ।
संवेदनाका तरल ईश्वरहरू
मेरो छातीमा बस्दैनन्
कङ्क्रिटका ठोस बुद्धहरू छन् मसित
आत्मीयजनका घाउहरूमा
पीरो खोर्सानी दल्नु
कठ्याङ्ग्रिएको शुष्क ओठहरू छन् मसित
गीता
अर्थात्
श्रीमद्भागवत गीता
पूजाकोठामा बन्द छ
अशान्त पृथ्वी महाकालको आलिङ्गनमा
मालरोडका घुम्ती–घुम्तीमा
शान्ति–शान्ति
समाधिस्थ
सास फेर्न चाहन्छन्
ईश्वरलाई पाता कसेर उभ्याइएको छ
हृदयको अँध्यारो कुनामा
हृदय प्रभुको साम्राज्य हुने गर्थ्यो रे
कालापानी जतिकै कुख्यात छ अहिले
सहानुभूतिका
आँसु हैन
अक्षर हैन
शब्द हैन
ईश्वरको गाउँ नै विस्थापित बन्दैछ हृदयबाट
हातहरू पछाडि राखेर
आत्मग्लानिपूर्ण
नतमस्तक उभिएको छु म
आफ्नै अगि
आफैँसित खाएको
झूटा कसमहरूको दोषमा
हे ईश्वर !
तपाईं हराएको सूचना मनको बन्द कोठामा
गुञ्जिरहेको छ यतिखेर !!
याे पनि पढ्नुस्ः उपेन्द्र सुब्बाकाे कविताः साँल्दीज्यू! अर्को एक ट्वाँक थपूँ कि ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...