झापा-दमकमा रहेर साहित्य सिर्जनमा सक्रिय सुब्बा सचेत कवि हुन् ।
उल्टो समाजको यो गतिलाई
गणितीय हिसाबमा जब मैले
भागा गरेर बराबर क्षेत्रफल निकाले
शुरू गरें
म
सुल्टो हिँड्नलाई
कतिपय आफन्तहरूले सोचे होलान्
तेरो र विज्ञानको ध्रुवीकरण मिल्दैन भनेर
कति साथीभाइहरूले भने होलान्
तेरो गन्तव्य त्यता होइन भनेर
कति चिने जानेकाहरूले भने होलान्
फलाना बौलायो भनेर
चिन्दै नचिनेकाहरूले सोचे होलान्
कुनै धर्मका पादरी
या
प्रख्यात धर्म गुरु भनेर
जब मैले धर्तीलाई आकाश
र
आकाशलाई धर्ती बनाएर हेरें
आफू स्वयं टाउको जमिनतिर
खुट्टा आकाशतिर फर्काएर हेरें
यो ब्रह्माण्डको उल्टो गति
र
हाम्रो समाज उस्तै लागेपछि
म उल्टो हैन
आजकल
सुल्टो हिँड्न थालेको छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...