प्रकाश आङ्देम्बे कवि, चलचित्र निर्देशक तथा निर्माता हुन् ।
पिँजडा त पिँजडा हो
आस्था, विचार होस् या सिसाको
जहाँबाट संसार देख्न त सकिन्छ, तर मुक्त हुन सकिँदैन ।
उता
पुतली, माहुरी, चराहरू छर्लङ्गको भ्रममा
सिसाको झ्यालबाट बाहिरिन खोज्दा
जसरी पटक–पटक ठोक्किएर घाइते हुन्छन्
र मर्छन्, विडम्बनाको अकाल मृत्यु
यता
आस्था, विचारको झ्यालबाट उसै गरी देखिन्छ भ्रामक स्पष्टता
ठोकिन्छन् मानिसहरू पटक–पटक र ढल्छन्, व्यर्थ मृत्यु
पिँजडा त पिँजडा हो
आस्था, विचार होस् या सिसाको
जहाँबाट संसार देख्न त सकिन्छ, तर मुक्त हुन सकिँदैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...