अनि देश ?
म बोल्न पाउछु ?
म सँग केही प्रश्नहरू छन् !
सायद सोध्दा सोध्दै म थाक्छु होला,
सक्नुहुन्छ भने मेरो आखामा पढ्नुस् न
परेलामा टासिएका एक एक कण धुलोमा प्रश्नै प्रश्नहरू छन्
मेरा बुढा बा–आमाका चाउरीका धर्साभरी प्रश्नहरू छन्
केही सनाखत हुन बाँकी प्रश्नहरू
केही नागरिकता नपाएका प्रश्नहरू
केही सिटामोल खोजिरहेका प्रश्नहरू
केही कलम हराएर खुकुरी धार लगाइरहेका प्रश्नहरू
विचरा कतिसम्म थेगुन् प्रश्नहरूले प्रश्नै प्रश्नको चाङ
कतै सिन्दुरका प्रश्नहरू
कतै सिमानाका प्रश्नहरू
कतै शान्ति र समानताका प्रश्नहरू
कतै भोक, कतै रोग र शोकका प्रश्नहरु
ओहो कति चर्को भुकेका यी भुस्याहा कुकुरहरू
मेरो प्रश्नको आवाज नै सुकिसक्यो
रुद्रघण्टी नै पो फोर्ने हुन् कि बिरालाका नङ्ग्राहरूले
पर्दा अगाडि र पर्दा पछाडिका प्रश्नहरू
छाप, लाहाछाप र औठाछापका प्रश्नहरू
हिंसा र अराजकता र लाज पचेका प्रश्नहरू
लाचार, दूराचार र व्यभिचारका प्रश्नहरू
अझै चिच्याउँ ?
ए साँच्ची,
मैले त सोध्नै बिर्सेछु
न्याय मरिसक्यो कि जिउँदै छ ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...