रुबाई चार हरफमा लेखिने काव्यविधा हो । यसलाई एक वचनमा ‘रुबाई’ बहुवचनमा ‘रुबाइयात’ भनिन्छ । जसको पहिलो, दोस्रो र चौथो हरफमा तुकान्त हुन्छ, तेस्रो पंक्ति चाहिँ स्वतन्त्र । म स्रष्टा गोविन्द विकलको एउटा रुबाई उदाहरणको लागि प्रस्तुत गर्दछु ।
तिमी भयौ खोलाको सङ्लो पानीजस्तै
तिमी भयौ मेरो आँखाको नानीजस्तै
बिर्सनै नसक्ने भएँ अब म तिमीलाई
मेरो जीवनको श्वास फेर्ने बानीजस्तै
रुबाईको आफ्नै लय हुन्छ । नियम हुन्छ । पहिलो, दोस्रो र चौथो हरफ तुकान्त हुन्छ । तेस्रो हरफ स्वतन्त्र हुन्छ । भनिन्छ, सन् २५१ (आजभन्दा लगभग अठारसय बर्ष पहिले)मा अरबको कुनै एक गाउँमा याकुब नाम गरेका सुल्तानको सानो छोरा बन्दुकसँग मस्त खेलिरहेको थियो । एक गोली पड्काएर ऊ खुशीले भुइँमा पल्टियो । त्यहीबेला, उसको मुखबाट प्रसन्नतापूर्वक केही सुन्दर वाक्य निस्कियो । त्यो वाक्यमा एउटा सुन्दर लय भेटियो । तत्कालिन समयका लोकप्रिय स्थानीय कवि रौदकीले यही लयलाई समातेर तत्काल केटोको एक हरफमा बाँकी तीन हरफ थपि चार पंक्ति निर्माण गरिदिए । यसरी रुबाईको प्रारम्भिक संरचना सृजना भयो । रुबाई पूर्ण भयो ।
सुरुवाती समयमा रुबाई अरबी भूमिको देन भए पनि यो विधाले प्रख्याति भने इरानमा पायो । दशौँ शताब्दीको उत्तरार्ध र एघारौँ शताब्दीको पूर्वार्धमा यो विधामाथि उमर खैयामले प्रशिद्धि हासिल गरिसकेका थिए । अङ्ग्रेजी कवि/अनुवादक एडवर्ड फिजराल्डले अँग्रेजीमा र हेमन्त अग्रवालले हिन्दीमा अनुवाद गरेको उमर खैयामको एक रुबाई उदाहरणस्वरुप राख्न चाहन्छु ।
अभि समय कुछ शेष बचा है अभि अन्त मे है कुछ देर
क्योँ न जीभर जश्न मनाएँ जब तक बने राख के ढेर
जहाँ मिलेगी राख खाक मे वहीँ खत्म होगा ये खेल
सुर, संगीत, सुरा से मधुरेँ कभि नहि फिर होगा मेल
(अनुः हेमन्त अग्रवाल)
Ah: make the most of what we yet may spend
Before we too into the dost descend
Dost into dost and under dost to lie
Sans wine, sans song, sans singer and sans end
(Fitzerald)
रुबाई विधाको समग्रतामा प्रवेशअघि चारहरफे (क्वाट्रन) विधाको संक्षिप्त अध्ययन जरुरी छ :
रुबाईको संरचना सँगसँगै अङ्ग्रेजी साहित्यमा चर्चित क्वाट्रन विधाको ऐतिहासिक कालखण्डका ऐतिहासिक संरचनागत विधाहरुलाई पनि केलाउन/बुझ्न जरुरी छ । क्वाट्रन पनि एकप्रकारको कविताको स्वरुप हो । जसलाई चार हरफमै लेखिन्छ । जसलाई प्राचीन भारत, प्राचीन ग्रीस, प्राचीन रोम, प्राचीन मध्यपूर्वीय एसिया (चाइना, जापान, कोरिया, आदि), आदि विभिन्न मुलुकका विभिन्न भाषामा नामाकरण प्रयोग गरिन्थ्यो ।
एम्विक पेन्टामिटर
यो पारम्परिक अङ्ग्रेजी कविता र पद्य नाटकमा उपयोग गरिने लय हो । शब्द, मात्रा, लय, आदिको मिटर ख्याल गरेर लेखिन्छ । अङ्ग्रेजीमा यो लय सामान्य तवरमा जहाँकहिँ पनि प्रयोगमा आएको पाइन्छ । मुख्यतया वीररस र करुणरसका सन्दर्भमा यो लयलाई उपयोगी पाइन्छ । नाटककार विलियम सेक्सपियरले आफ्नो नाटक लेखनमा सनेटभित्र यो लयलाई अधिकतर प्रयोग गरेको पाइन्छ । जसलाई ककखख, कखकख शैलीमा प्रयोग गरिन्छ । यो शैलीलाई लोकप्रियताको शिखरमा पुर्याउने काम भने अङ्ग्रेजी कवि, प्रोफेसर थोमस ग्रे (सन् १६/ १२/ १७१६–३०/ ७/ १७७१) लाई जान्छ । ‘इलजी रिटन इन अ कन्ट्री चर्चयार्ड’ उनको लोकप्रिय काव्य हो ।
सिचिंगु जेक्कु/ ली बाइ/ जेंजु
‘मध्यरात्री गीतकाव्य’ चौथो शताब्दी आसपासमा चिनमा प्रख्यात ग्रन्थ थियो । जसमा अनिवार्य पाँच वर्णवाला अक्षरको रेखा हुन्थ्यो । शास्त्रीय चाइना काव्य परम्पराभित्रको यो संरचनालाई ली बाई(ली बो/ ली पो) भनिन्छ । जापानमा यसलाई जेंजु (उच्चारण तलमाथि हुनसक्ला) नामले जानिन्छ । जुन काव्यमा प्रत्येक सात चाइना(खान्जी) अक्षरको चार वाक्य समेटिएको हुन्छ । ‘सिचिंगु जेक्कु’ शैली पनि प्राचिन चाइना र जापानमा प्रयोग हुने लोकप्रिय काव्य लय थियो । यो शैलीको क्वाट्रनमा लाइनको सात वर्णको लम्बाईलाई प्रयोग गरिन्थ्यो । तत्कालिन समयमा लय प्रमुख भए पनि कहिलेकहीँ लय भङ्ग भए छुट हुन्थ्यो ।
शायरी
यो शैली विशेष मध्यपूर्व भाषा/ सँस्कृति/ साहित्य/ सभ्यतामा विकसित शैली हो । जसलाई जर्जियन भाषा, सँस्कृतिको उपज मानिन्छ । जसलाई जर्जियन कवि सोता रुस्ताभेल्लीले आफ्नो काव्य ‘द नाइट इन द प्यान्थर्स स्किन’ मा यो शैली प्रयोग गरेर लोकप्रियताको टाकुरामा पुर्याएका थिए । यो लयमा सोह्र मात्राको वाक्यांश हुन्छ । जसको आठौँ र नवौँ मात्राको बिचमा विश्राम हुन्छ । यसलाई कककक संरचनामा सृजना गरिन्छ ।
पन्टुन
यो मलायम भाषा, सँस्कृतिको देन हो । चार हरफमा लेखिने यो लयको सुरुवात सन् १५ औं शताब्दीमा भएको पाइन्छ । विशेषत: माया प्रेमलाई अत्यन्तै प्रतिकात्मक हिसाबले प्रयोग गरेर लेखिन्थ्यो । यसलाई कखगघ लगायत अन्य विविध लयमा पनि लेखिएको पाइन्छ ।
डिकेसिलेविक क्वाट्रन
यो पनि एक चर्चित शैली हो । यो संरचनामा प्रत्येक दश सिलेवसमा चार पंक्ति रहन्छ । यसलाई ककखख, कखकख संरचनामा लेखिन्छ । इस्वी सन् सोह्रौँ शताब्दीको अन्त्य र सत्रौँ शताब्दीको पूर्वार्धमा कैयौँ अङ्ग्रेजी स्रष्टाहरुले यो संरचनालाई प्रयोगमा ल्याएको पाइन्छ । मुख्यतया कवि, लेखक जोफ्रि च्योसरले यसलाई एउटा उचाई दिए । उनलाई ‘अँग्रेजी साहित्यको पिता’ भनेर पनि उल्लेख गरेको पाइन्छ ।
व्यालेड
आर्थर रैकह्मद्वारा प्रयोगमा स्थापित कविताको एक रुप । यसमा मूलतः गाउँदै नाच्ने प्रचलन छ । यसलाई नृत्यगीत पनि भन्न मिल्छ । जुन शैली मध्ययुगीन फ्रान्सको गीति शैली बैलाडी/ बैलेडबाट सृजिएको पाइन्छ । उन्नाइसौँ र बीसौँ शताब्दीमा ब्रिटेन, आयरल्याण्डमा यो शैली निक्कै लोकप्रिय थियो । क्रमसः सम्पूर्ण युरोप हुँदै अष्ट्रेलिया, उत्तर अफ्रिका, उत्तर अमेरिका, आदि देशहरुमा पनि फैलियो । यसमा कखकखखगखग को संरचनामा तेह्र पंक्ति हुन्छ । जसमा दुईदुई हरफमा तुकान्त हुन्छ जहाँ चौध शब्द हुन्छ । आठ र छ लाइनको बिचमा आवश्यकताअनुसार कखख या कखगख शैली दोहोर्याउने गरिन्छ ।
रुबाई
मध्यपूर्व भौगोलिक/ भाषा/ सँस्कृति/ लयको देन हो रुबाई । सन् २५१ को आसपास यो लय संरचना भएको पाइन्छ । उद्गम भूगोल र सँस्कृति अरब भए पनि यसले प्रसिद्धि भने इरानमा पायो । दशौँ शताब्दीको उत्तरार्ध र एघारौँ शताब्दीको पूर्वार्धमा यो विधामाथि उमर खैयामले प्रशिद्धि हासिल गरिसकेका थिए । जसलाई अँग्रेजी कवि/ अनुवादक एड्वर्ड फिजराल्डले ‘रुबाईयात अफ उमर खैयाम’ टाइटलमा अनुवाद गरेर विश्वप्रसिद्ध बनाए । एकवचनमा रुबाई, बहुवचनमा रुबाइयात/रुबाइयाँ भनिन्छ । यसलाई अधिकतर ककखक को संरचनामा लेखिन्छ । यदाकदा कककक को संरचनामा पनि लेखेको पाइन्छ । कवि, सन्त, सुफी रहस्यवादी चिन्तक मोहम्मद रुमीले पनि रुबाई सृजना गरेको पाइन्छ । क्वाट्रनको विश्वव्यापी साहित्यिक प्रसङ्गमा पनि रुबाईलाई रुबाईकै नामले स्विकारिनु र आधिकारिक हिसाबले ककखक संरचनामा लेखिनुले पनि रुबाई आफैँ मौलिक विधा हो भन्ने कुरामा स्पष्ट हुन्छ ।
प्रसङ्गवस उमर खैयाम
रुबाईको अध्ययन गर्दा उमर खैयामलाई अध्ययन नगरी यो विधाको समग्रता पूर्ण उभिन सक्तैन । खैयाम एक राम्रो कवि,दार्शनिक हुनुका साथै मुख्यत: गणितिज्ञ, ज्योतिविद, खगोलशास्त्री आदि विधाका ज्ञाता नै थिए । उनको पूरा नाम Ghiyath al-Din Abu'l-Fath 'Umar ibn Ibrahim Al-Nishapuri al-Khayyami हो । उनको जन्ममिति सम्बन्धि अलगअलग धारणा छ । उनको जन्ममिति सम्बन्धि अलग अलग धारणा छ । कतै (सन् १०३८–११३१सम्म) त कतै (सन्१०४८ ९१११३सम्म) उल्लेख छ । (हालको इरान) पहिले निशापुरमा उनी जन्मिएका हुन् । उनको बाल्यकाल बाल्ख (हाल अफगानिस्तानको उत्तरी भूभाग) मा वितेको थियो । खैयामले काराखानिद, सेल्जुक, समरकन्ड (मध्यकालिन समयमा एसियाको शक्ती सम्पन्न केन्द्रहरु) मा शिक्षा हासिल सँगै धेरै समय व्यतित गरेका थिए । उनले बिजगणितको सिद्धान्तमाथि उल्लेखनिय काम गरेका थिए । अल्जेव्रिक समीकरणको ज्यामितिय हल सृजना गरे । यसैको परिष्कार रुपलाई वर्तमान समयमा ‘पास्कल ट्रायङगल’ को रुपमा जानिन्छ । उनले खगोलशास्त्रमा काम गर्दा एक सौर्य वर्षको दुरीलाई दशमलवको छैटौं स्थानसम्म पत्ता लगाए । यसैको आधारमा उनले नयाँ क्यालेन्डरको अविस्कार गरे । जसलाई तत्कालिन इरानी शासक लागु गरेका थिए । यसरी जलाली संवत या सेल्जुक संवतको सुरुवात भयो । कतिपय स्रोतअनुसार खैयामलाई यो पनि ज्ञात थियो कि, ‘पृथ्वी आफ्नो अक्षमा घुम्छ । यो ब्रह्माण्डको केन्द्र होइन भनेर ।’ जबकी यूरोपमा झण्डै चारसय बर्षपछि यो निष्कर्षमा कपर्निकस पुगे तर तत्काल धार्मिक अन्धविस्वासको आधारमा उसको सिद्धान्तलाई अस्विकार गरिएको थियो । खैयामको धार्मिक आस्थालाई लिएर पनि फरक फरक मान्यता पाइन्छ । कतिले सिया मुस्लिम, कतिले सुफी, कतिले त नास्तिक समेत भनेका छन् । उनको सृजनालाई गहन अध्यन गर्दा यति चाहिँ पक्कै थाहा लाग्छ कि मुल्लाह (धर्मभिरु पुजारी, पण्डित) हरुद्वारा जबर्जस्ती लादिने धर्मभिरुता र अफिमआस्था बिरुद्ध उनको विद्रोह थियो । कतिपयले खैयामलाई तत्कालिन समय र समाजका अगुवा सन्त, धार्मिक, सामाजिक सुधारकको रुपमा समेत उल्लेख गरेका पाउँछौ ।
खैयामको अर्थ
उमर खैयाका रुबाइयातबाट, दर्शन र आध्यात्मिक उत्प्रेरणाबाट उत्प्रेरित भई भारतीय साहित्यकार डां हरिवंशराय बच्चनले खैयामकी मधुशाला कृति सृजना र प्रकाशन गरेका छन् । आफ्नो कृति खैयामकी मधुशालाको तेस्रो सस्कंरणमा आफ्नो भनाईमा केही बिचारहरु पोखेका छन् । त्यो राख्न चाहान्छु । “म त्यस्तै तीन या चार कक्षामा हुँदा हाम्रो घरमा मासिक पत्रिका ‘सरस्वती’ बुवाले ल्याउनु हुन्थ्यो । त्यसमा अगाडिको पन्नामा रंगीन चित्र छापिन्थ्यो । सुन्दर युवतीहरुको विशेष । तसर्थ बुवाले पढेर राख्ने वित्तिकै भाइ र म त्यसपत्रिकाको चित्र काट्नको लागि कैँची बोकेर तयारी हुन्थ्यौं । यसरी नियमितझैँ पत्रिका आयो । बुवाले पढेर थन्क्याउनुभो । भाइ र मैले कैँची बोकेर काट्नलाई पत्रिका झिक्यौं । हामीलाई अचम्म लाग्यो । एक बुढो, चिन्तित, मुसलमानको तस्बीर पो छापिएको थियो । नाम थियो उमर खैयाम । भाइले मलाई सोधे “यो उमर खैयामको अर्थ के हो ?” मैले पनि भाइको छेऊमा किन नजान्ने हुनु भनेर गफ दिए । “यो बुढा उमेर खत्तम हुन्छ । मानिसको जीवन दुई दिनमा सकिन्छ भन्ने चिन्ताले यस्तो भएको हो ।” मेरो कुरा भाइले कति बुझ्यो थाहा भएन तर मैले दह्रो गफ लगाए । यही कुरा अलिपछि भाइले बुवालाई मैले भनेको प्रसङ्ग उधृत गर्दै बताए । “बुवाले सही हो” भनेर भन्नु भो । मलाई हौसला दिनलाई बुवाले त्यसो भन्नुभो भन्ने सम्झे उबेला । तर जब मैले फिजराल्ड अनुवादित एक रुबाई पढेँ । साँच्चै नै भन्नुपर्छ त्यहाँ खैय्यामले जीवनको अनिश्चिताप्रति चिन्ता/चिन्तन व्यक्त गरेको पाएँ । ‘रुबाई’ को बारेमा पनि उनले भनेका छन् । “सायद यो शब्द पनि हामीले घरमा बोलिने अवधीभाषाको खडी बोलीको शब्द ‘रुलाई’ ‘रोलाई’ ‘रुवाई’ हुँदै ‘रुबाई’ भयो होला भन्ने लाग्थ्यो । आफ्ना सृजनामा आफ्नो गुनासो, पिडाहरु समेटेको हुनुपर्छ खैयामले भन्ने लाग्थ्यो । समय अन्तरालमा जब म फिजराल्डको अनुवादित सृजनामा डुब्न थालेँ म फेरिदङ्ग परें । वास्तवमा खैयामले मान्छेहरुको इच्छा, आकांक्षाहरु सांसरिक सिमाभित्र छट्पटिएको उल्लेख गरेका छन् । मान्छेहरुको कलिलो सपनाहरु यतार्थको कठोर सत्यमा ठोक्किएर टुक्राटुक्रा हुनुको नियति उल्लेख गरेका छन् । उनका रुबाइयात अध्यन गरेपछि मलाई लाग्यो कि, रुबाइयात मानिसको जीवनप्रतिको आशक्ती औ जीवनको मानिसप्रतिको उपेक्षाको को गीत हो । यसरी एकदिन अध्यनकै क्रममा अँग्रेजी लेखक जी।के। चेस्टरटन्को खैयाम प्रतिको भनाई पनि भेट्टाएँ इmबचुक एजष्यिकयउजथ ष्क लयत तजभ एजष्यिकयउजथ या जबउउथ उभयउभि दगत गलजबउउथ उभयउभि। । अन्तमा उनी भन्छन् । जानअन्जानमा मैले उनको बारेमा जे धारणा बनाए अन्तत कहिंकहीं गएर सारमा ति कुराहरु मेल खाए ।”
बच्चनले भनेका कतिपय प्रसङ्गको कहीं न कहीं सारमा खैयामको चिन्तनसँग, दर्शनसँग अर्थ होला । सागर, नदी, इनार, झर्ना, धारा, कुवा, आदि रुप जहाँको भए पनि सारमा पानी एकै हो । पानी पानी हो । यस अर्थमा चिन्तन र मननका स्रोतहरु एकै अस्तित्वबाट प्रारम्भ भएकोले मिल्न पनि सक्ला । यधपी खैयाम नाम हुनुको खास वस्तुगत अर्थ भने फरक छ । उनका बुवा ‘इब्राहिम खेमे(तम्बु)’ बनाउने काम गर्दथे । फारसी भाषामा ‘खेमा’को अर्थ ‘तम्बु’को काम गर्ने, टेन्टको काम गर्ने भन्ने हुन्छ । उनको पितालाई फारसीमा पेशागत हिसाबले ‘खेमा’ जोडेर बोलाइन्थ्यो । पछि बुवाको नामसँगै जोडिएको पेशाको नाम अपभ्रंश हुँदै खेमाबाट खैयाम हुन गयो । यता रुबाईको ऐतिहासिक अर्थ पनि छ । ‘रुबाई’ अरबी शब्द ‘रुबा’ बाट उत्पन्न भएको हो । जसको अर्थ हुन्छ चार । नामाकरणको ऐतिहासिक तथ्य नै चार हरफमा लेखिने साहित्यको विधा रुबाई हो ।
रुबाई अंग्रेजी साहित्यमा स्थापना
ब्रिटेन साम्राज्यले ग्रेटब्रिटेनको सपनालाई व्यापकता दिन मध्यएसिया(मुगल शाषित क्षेत्र), दक्षिणपुर्व एसिया (विशेष भारतबर्ष) साथै संसारका सबै महादेशहरुमा आफ्नो साम्राज्य विस्तार र शासनको नाममा आक्रमण, लुटपाट गर्ने क्रम लामो समयसम्म चलायो । सम्भव भएसम्म भेटिएका बहुमुल्य खरखजना सँगसँगै सवै वस्तुहरु, डकुमेन्टसहरु(कला, साहित्य, सँस्कृतिसँग सम्बन्धित) आफैसँग लगे । तिनै मध्ये अन्तत: उमर खैयामका रुबाइयातको पाण्डुलिपि पनि लगे । लुटेर, खोसेर वा बटुलेर ब्रिटेन ल्याइएको लेखनिय सामाग्रीहरु हेर्ने काम फारसी भाषाका ज्ञान भएका प्रोफेसर कवि, लेखक, एडवर्ड फिजराल्ड ९सन् ३१ मार्च १८०९– १४ जुन १८८३० लाई यो जिम्मा दिए । उनले भाव र संरचना दुवैको मर्मलाई ध्यानमा राखेर खैयामका सृजनालाई पटक–पटक अनुवाद गरी विश्वभर परिचित बनाए ।
पाँचौ सँस्करणसम्म आइपुग्दा फिजारल्डद्वारा अनुवादित खैयामको एक रुबाई :
"A Book of Verses underneath the Bough,
A Jug of Wine, a Loaf of Bread-and Thou
Beside me singing in the Wilderness
Oh, Wilderness were Paradise enow!"
नेपालीमा अनुवाद :
वृक्षको छहारीमा एउटा कविताको पुस्तक अनि
मदिराको प्याला, एक रोटी साथमा तिमी पनि
मेरो छेउमा तिमी गाइरहेकी त्यो वन्यतामा
आहा त्यो वन्यता नाचेको आज नयाँ स्वर्ग बनि
प्र.डा. गोविन्दाराज भट्टराई
भाषामा हजारौँ पटक खैयामका रुबाइयात अनुवाद भएका छन् । खैयामको फारषीभाषाको रुबाइयातबाट प्रत्यक्ष अनुवाद अत्यन्त न्युन मात्रामा प्रकाशन भएका छन् । धेरैभन्दा धेरै चाहिँ फिजराल्डबाट अनुदित रुबाइयात नै अनुदित र सँस्करित भएका छन् । भइरहेका छन् ।
फिजराल्डको बारेमा
रुबाइयातको प्रसङ्ग उठाउँदा अँग्रेजी कवि, अनुवादक फिजराल्ड र उनको योगदानलाई पनि बुझ्न जरुरी छ । उनको पूरा नाम एडवर्ड फिजराल्ड(सन् ३१ मार्च १८०९ देखि १४ जुन १८८३ सम्म) हो । उनी युरोपका मध्यकालिन कवि थिए । उमर खैयामका फारषी रुबाइयातलाई अँग्रेजी साहित्यमा अत्यन्तै सुन्दर तरिकाले संरचनागत र भावगत पक्षलाई ख्यालमा राखेर अनुवाद गरे । मारकाट, युद्दले आक्रान्त बनेका युरोपका आम मानिसहरुमा खैयामका स्त्री र मदिराको सृँगार भाव पोखिएका रुबाइहरुले एकप्रकारको नयाँ अनुभव, रिफ्रेस्मेंट जन्मायो । नयाँ आशा, उमङ्ग र मानवीय सौँन्दर्यप्रति पुन लालयित बनायो । खैयामका अनुवादित रुबाइयात रातारात सबैको मनका स्थापित हुन पुग्यो । अँग्रेजी साहित्यमा (रोमान्टिसिज्मः वडस्वर्थ, किट्स, शेली, वाइरन आदि)को प्रारम्भ यहि समयबाट उत्प्रेरित भएको हो पनि भनिन्छ ।
खैयामका रुबाइयातको भावपृष्ठ
१) खैयामको दर्शन जीवनको क्षणभंगुरतामाथि निजत्वको खोज हो । निदा फाजली (प्रशिद्द भारतीय कवि)
२) प्रारम्भः उमर खैयामको रुबाइयात भित्र नियाल्ने हो भने मानवीय जीवनका यावत उतारचढाव र नस्वरताले पारेको असरभित्र नीजि अस्तित्वको खोज भेट्टाइन्छ । भौतिक जीवनको घेराभन्दा पर आध्यात्मिक आकाशमा अस्तित्व खोज्ने । शरिरमा अशरिर र अशरिरमा शरिर खोज्ने चिन्तन पाउन सकिन्छ । -डा. हरिवंश राय बच्चन
३) रुबाईमा सौन्दर्य, प्रेम, भक्ति, बैराग्यता, जीवनप्रतिको रहस्यता आदि हुनुपर्दछ । -प्रा.डा. गोविन्दराज भट्टराई
४) ‘एक बारको जिन्दगीमा खाऊँ, पिऊँ, मजा गरौँ’ अर्थात् ‘खाइसार कि लाइसार मरेपछि लम्पसार’ जस्तो भोगवादी दर्शन ध्वनित हुने उनका रुबाइयात वास्तवमा आस्तित्विक क्षणभङ्गुरताप्रति सृजनात्मक स्वीकृति हुन् । -कवि: मनप्रसाद सुब्बा, दार्जिलिङ्ग
खैयामका रुबाइयातका बिशेषता र फिजराल्डद्वारा अनुवादको प्रसङ्ग
१) विशेषत उमर खैयामका रुबाइयातमा रक्सि र स्त्रीको प्रसङ्ग बढी उल्लेख पाइन्छ । जब फिजेराल्डले खैयामका रुबाइयात अनुवाद गरे तब युद्द, साम्राज्यवादको धङधङीले आक्रान्त तत्कालिन युरोपमा (अँग्रेजीमा) यसले सृङगारभाव पैदा गर्यो । खैयामका “खाऔं, पिऔं, मस्त रहौं” भावनाले साराका सारा कवि /कलाकारलाई रिफ्रेस बनायो । भिक्टोरियन सँस्कृतिबाट अवाक जमातले नयाँ मनौवैज्ञानिक दिशा पायो । यसरी अँग्रेजी साहित्यमा स्वच्छन्दतावाद(रोमान्टिसिज्म)को प्रारम्भ भयो । वड्सवर्थ, वाइरर्न, शेली, किट्स आदि जस्ता पपुलर कविहरु यसैका प्रतिनिधि हुन् । साहित्यमा मात्र नभई रोमान्टिसिज्मको असर कला, सङगीत आदि अनेकन् विधामा पनि पर्यो ।
२) उमर खैयामका रुबाइयतामा समावेश जुन बिम्ब र चिन्तन छ । ति माथि धेरै आध्यात्मिक चिन्तकहरुको पनि भनाई, लेखाई, बुझाईहरु छन् । ती मध्ये एक हुन् सन्त ओसो (रजनिस) ।
उनले भनेका छन् कि “फिजराल्डले खैयामको रुबाइयातलाई गलत अनुवाद गर्यो । उनले सिधा रक्सी र स्त्री भनेर अनुवाद गरे । यसको मर्म र आध्यत्मिक दर्शन यस्तो थिएन । रक्सि यानकी नशा(परमपरमेश्वरको नशा, स्तुति, रहस्य। स्त्री यानकी जवानी, क्षणभगुंगर बैँस, क्षणिक आकर्षण आदि । थाहा नपाइ छिटो वित्ने समयवस्थाको प्रतिक) । धार्मिक सम्प्रदायले, धार्मिक अफिमले मान्छेहरुले जीवन भुलिरहेको अवस्थाको वोध गरेर, धार्मिक अत्यचारको, धार्मिक रुढताको दलदलबाट समाजलाई मुक्त गराउन, व्यंग्य स्वरुप रक्सी र भट्टीको प्रतीक प्रयोग गरेका थिए । एउटा स्त्रीको मतलव सवैभन्दा आकर्षण समयको प्रतिक । जो क्षणिक छ । क्षणभंगुर छ को अर्थमा उल्लेख थियो । भट्टीमा हजारौँ मानिसहरु,हजारौँ विचारहरु एकै ठाउँमा मिलेर बस्न, खान, गफिन सक्छन् तर मन्दिर, मस्जिदमा त्यो फराकिलो आकाश छैन भनेर व्यंग्य गर्थे । उनी मानवीयताप्रति एकदम सचेत थिए ।मानवीयता धर्मभन्दा, सम्प्रदायभन्दा, महत्पूर्ण छ ठान्थे । यही वकालत गर्थे उनी । वास्तवमा खैयाम तत्कालिन मुगल सन्त/दार्शनिक थिए । एक पथप्रदशक थिए । मद, मदिरा बर्जित आस्थाका एक अगुवाले रक्सी पिउने कुरा जायज तर्क थिएन । मुगल सँस्कृतिकोे मुल्यवोध, आइडोलोजी नबुझेको कारणले गर्दा खैयामका रुबाइयातलाई फिजराल्डले सारगत नभै रुपगत मात्र अनुवाद गरेको बुझिन्छ ।” रजनिश ओशोको तर्क सत्यको नजिक लाग्छ । यद्यपी फिजराल्डले खैयामका रुवाइयात अनुवाद नगरेका भए, रुबाइयातले चर्चा पाउने थिएनन् । अहिले आएर पुर्नमुल्याङकन गरिने थिएन ।
३) ‘जीवन क्षणभंगुरताको चिन्ता पाउन सकिन्छ खैयामका रुबाइयातमा । समय वित्दो छ । प्रतिपल चिप्लिदों छ । हामीले पाएको आयु घट्दो छ । जीवन अस्थिर छ । हामीलाई मृत्युले पर्खिरहेको छ । मृत्यु सत्य छ ।’ यी गहकिला भाव, वोधमा खैयामका सृजनाहरु पाइन्छन् । एक सन्तको चिन्तनको उचाइको बेला सृजिएका यी रुबाइयातको भावपृष्ट आध्यात्मिक लाग्छन् । यद्दपी मानवीय जीवन प्रकृति र बोधहरु विभिन्न रसहरुमा बहन्छन् । सृजनाको क्षेत्रलाई म समग्र बोधहरुमा, अनुभव र रसहरुमा व्यापकता दिनुपर्छ भन्ने पक्षमा छु । खैयामका सृजना हाम्रा लागि प्रेरणाका स्रोत हुन् । यसलाई उत्प्रेरणाको रुपमा लिएर समग्र भावमा सृजना गर्नुपर्छ भन्ने चेत अभिव्यक्त गर्दछु ।
कबिर र खैयामका दार्शनिक निकटता
उमर खैयामका रुबाइयातमा जुन चिन्तन, बोध पाइन्छ त्यो ठ्याक्कै कविर दर्शनसँग मेल खान्छ । खैयाम र कविर दुवै सन्त थिए । समयान्तर र भूगोलान्तरमा जन्म लिए पनि दुवै परत्माका (प्राकृतिक अस्तित्वका साधक) भक्त थिए । इश्वरीय शक्ती(प्राकृतिक शक्ती) जसले यो संसारको सृष्टी गर्यो उनीहरुको महिमा गाउँथे । पंचतत्वद्वारा निर्मित सारा प्राणीहरुमा मानिस सर्वश्रेष्ठ जाति हो तर विकासक्रमसँगै मानिसमा यत्ति अह्म र स्वार्थ झ्यागिंयो कि आज सृष्टीलाई कसैबाट खतरा छ भने त्यो मानिसबाट नै हो । धर्म, राजनैतिक, पद, प्रतिष्ठा, शक्ति आदिको प्रलोभनमा मानिसहरु कहिले बाहिर निस्कन नसक्ने गरी घृणाको दलदलमा फसेका छन् । कविर हिन्दु र मुस्लिमको नामको भ्रममा फसेका मानिसहरुलाई इश्वर सबै समान हुन् भनेर सतमार्ग देखाउँथे । हिन्दु र मुस्लिम दुवै धर्मको सुन्दरतालाई वकालत गर्थे, सम्मान गर्थे । उता खैयाम धर्मको अफिमले चुर्लुम्म मुस्लिम सम्प्रदाय, धर्मभिरुहरुलाई सचेत पार्न मस्जिद भन्दा (भट्टी) मधुशाला ठूलो हो भनेर व्यंग्य गर्थे । उनी व्यंग्य गर्थे “मस्जिदमा धर्मको नाममा सबैलाई प्रवेश निषेध गरिन्छ तर भट्टीमा हेर त सबैलाई प्रवेश छुट छ तसर्थ समानताको दृष्टिकोणले हेर्ने हो भने मधुशाला महान हो ।”
कबिरको एक दोहा
“माटी कहे कुम्हार से तु क्या रोन्धे मुहें,
एकदिन ऐशा आएगा कि, मै रोेन्धुगीं तोहे”
(भावार्थः– माटोले भन्छ कुमालेलाई तैलें के कुँदछस मलाई, एकदिन यस्तो हुनेछ कि, म कुँदनेछु तँलाई)
खैयाम भन्छन् :
“कल किसने देखा है जग में मत गाना प्रिय कल के गीत
आज पिला दो हो सकता है कल तक जीवन जाए बीत”
(भावार्थः आज बाँचौ खुलेर, के था भोलि आउँछ कि आउँदैन)
काव्य सृजनाको माध्यमबाट यावत विम्ब, प्रतिक, कथनहरु टिपेर सारा जनमानसलाई जीवन र जगतको महत्व दर्शाउने काम गरे दुवैले । जीवनको निस्सारता व्याख्या गरेर जीवनको सौन्दर्यवोध गराउँथे दुवैले । उसो त अन्य धेरै दार्शनिक, सन्त, कवि, कलाकार लगायत अन्य प्रतिभाहरुले पनि विभिन्न कालखण्डमा, विभिन्न भुगोलमा सारा जीवन र जगतका लागि अमुल्य योगदान दिएक /पुर्याएका छन् । कविर र खैयाम यसका प्रतिनिधि पात्र मात्र हुन ।
नेपाली साहित्यमा रुबाई
नेपाली साहित्यमा रुबाई भित्रिएको पनि लगभग छ दशक पुगेछ ।मुख्यतया फिजराल्डद्वारा अनुवादित उमर खैयामका रुबाइयातलाई नेपालीभाषामा अनुवाद गरी निम्न मितिमा निम्न स्रष्टाहरुले प्रकाशन गरे ।
१) उमर खैयाम (वि.स.२००८) अनुः आकियुयामा ग्वाइन, दार्जिलिङ्ग )
२) खैयामको रुबाई (वि.स.२०१४) अनुः जगत राई दार्जिलिङ्ग )
३) उमर खैययाका रुबाई (वि.स. २०१५)अनुः नवीन्द्रप्रसाद बान्तवा, दार्जिलिङ्ग )
४) उमर खैयामका रुबाई (वि.स. २०२१) अनु : दुर्गाप्रसाद भट्टराई)
५) उमर खैयामका रुबाइहरु (वि.स. २०२५) अनुः बुद्धकुमार मोक्तान, रन्तपुस्तक भण्डार)
६) उमर खैयामका रुबाई (वि.स. २०२६)अनुः फणिन्द्रप्रसाद आचार्य, काठमाडौं)
७) उमर खैयामका रुबाइहरु (वि.स. २०३२०अनुः केदार सत्याल, रँगेली, विराटनगर)
(नोटः– सन् १९२० मा केसर शमशेर जबराको निर्देशन तथा बरिष्ठ वास्तुविद किसोर नरशिंह राणाले निर्माण गरेको स्वप्न बगैंचामा पनि उमर खैयामका फिजराल्ड अनुदित केही अँग्रेजी रुबाइयातलाई पित्तलको पातामा खोपेर टाँसिएको छ । यी रुबाइयात प्रारम्भमा नै राखियो या पछि पुर्ननिर्माणपछि राखियो सही जानकारी प्राप्त गर्ने प्रयास जारी छ)
यसका अतिरिक्त भिमदर्शन रोक्का, भूपि शेरचन, हरिभक्त कटुवाल आदिका रचनाहरुमा पनि रुबाइको संरचना पाइन्छ तर वहाँहरुले त्यसलाई कविता, टुक्रा, छेस्को, मुक्तक आदि भनेकाले त्यसलाई हामीले पनि रुबाई नै हो भनेर जिकिर गर्न अव्यवहारिक हुन जान्छ । सायद यसको पछाडि यो संरचनालाई के भनिन्छ भन्ने अध्यन र सन्दर्भ सामग्रीहरुको तत्कालिन अभाव पनि हुन जाला । माथिका अनुदित कृतिहरु मौलिक नेपाली रुबाई नभएर स्रष्टा उमर खैयामका रुबाइयात को भावानुवाद मात्र हो । जुन फिजराल्ड अनुदित अँग्रेजीबाट नेपालीकरण भएका हुन् । नेपाली साहित्यमा रुबाईको संरचानागत मर्म र धर्ममा रहेको प्रथम मौलिक रुबाइयात कृतिको श्रेय भने वि।स।२०६१ सालमा प्रकाशित कृति ‘ग्याँसचेम्बरमा बुद्ध’ लाई जान्छ । यो कृतिपछि नेपाली साहित्यमा ‘रुबाई’ विधालाई उसकै अस्तित्व र नामाकरणमा स्विकार्न सुरु भयो । अहिले नेपाल, भारत, भूटान लगायत संसारभर छरिएर रहनु भएका स्रष्टाहरुले रुबाईका दर्जनौ कृतिहरु, पत्रपत्रिकाहरु, सोसियल मिडियाहरुमा पेज आदि प्रकाशित गरिसकेका छन् । यो छोटो अवधिमा रुबाई विधामा अनेकन नौलो प्रयोगहरु भएका छन् । रुबाईमा खण्ड काव्य, रुबाईमा महाकाव्य, रुबाई सवाल जवाफ, रुबाई नाटक, शिर्षक राख्ने आदि । विश्वको जुनसुकै भूगोलमा बसे पनि आज नेपाली रुबाइयातले साहित्यको आकाश ढाकेको छ । रुबाइयातको विश्वव्यापी लहरमा हामी पनि सृजना मार्फत हाम्रो मौलिकता, आइडिया, बोध आदिलाई लिएर विश्वव्यापी यात्रामा छौं । यो यात्रामा कुनै पनि साहित्यिक विधा लेखेर मात्र पनि हुँदैन । अर्थपूर्ण, शक्तिशाली सृजना भने सृजन सबैभन्दा मुख्य कुरा हो । फेरि पनि भन्छौं हरेक साहित्यिक विधा मुख्य कुरा हो तर त्योभन्दा मुख्य कुरा शक्तिशाली सृजना हो । चाहे विधामा परोस् या नपरोस् ।
नेपाली साहित्यमा रुबाई-मुक्तक भ्रम र वास्तविकता
मुक्तक बारे केही तथ्यगत अध्यन गरौं :
‘मनको भावनाबाट निस्कने प्रभावकारी टुक्रे कविता’ - सङक्षिप्त सब्दकोश
‘सन्दर्भ निरपेक्ष कविता गीत गजल आदिको लघुरुप’ - नेपाली साहित्य कोष
‘पूर्वीय काव्यशास्त्र अनुसार एक श्लोकमा लेखिएको स्वत पूर्ण रचना’ - नेपाली शब्दसागर
‘कथा सुत्रमा आवद्द नभएको एक सुत्रीय श्लोक, दण्डी, रुद्रट, वाण, भट्ट आदिले मुक्तकको स्रोत उखान टुक्का, झ्याउरे, रोइला, र चुड्का भनेका छन्’ - नेपाली बृहत शब्दकोश
सँस्कृत भाषाको ‘मुच’धातुमा ‘त’ प्रत्यय लागेर ‘मुक्त’ शब्द बनेको पाइन्छ । त्यसमा ‘क’ प्रत्यय जोडिएपछि मुक्तक शब्द बनिन्छ । मुक्तकको शाब्दिक अर्थ मुक्त, नियममा नबाँधिएको, समास रहित गद्य, कथासुत्रमा नबाँधिएको, स्वतन्त्र शैली भन्ने बुझिन्छ । यदाकदा ‘अग्नि पुराण’ (ईसाको नवौं शताब्दीमा सृजिएको विश्वास गरिन्छ ।) मा एक श्लोकमा रहने चमत्कारले युक्त पूर्ण कवितालाई मुक्तक भनेर परिभाषित गरेको पाईन्छ ।
पुर्वीय सँस्कृत साहित्यमा प्रयोग भएका शैलीलाई पनि मुक्तक मानिदै आएको छ । विशेष हिन्दु धर्मदर्शनहरुमा यिनको उल्लेख्य प्रयोग पाउन सकिन्छ । रामायण, महाभारत लगायत वेद र पुराणका कृतिहरुमा प्रयोग गरिएका विविध शैलीलाई पनि मुक्तक हुनुको स्रोतका रुपमा लिएको पाइन्छ । प्राय जसोले मुक्तकको स्रोत सँस्कृत साहित्यलाई मानेको पाइन्छ । बुझ्नै पर्ने सत्य कुरा के पनि हो भने नेपाली भाषाको सबै स्रोत सँस्कृत भाषा मात्र पनि होइन । यहाँ विभिन्न भाषा, सँस्कृति भएका आदिवासी जनजातिहरु पनि परापुर्वकालदेखि बसोवास गर्दै आएका छन् । प्राय उनीहरुसँग जीवन र जगतको लागि मौलिक आइडोलोजी छ । विश्वास पद्दती छ । भाषा र लयहरु छन् । जस्तै हाक्पारे, पालाम, ख्याली, साकेला सिली, मारुनी, हुर्रा, रोदी, सेलो, दोहोरी, गौरा, बालन, संगिनी, रत्यौली आदि । यसमा पनि मुक्त लय नै प्रयोगमा आएका छन् । “परापूर्वकालमा गीत गाएर दोहोरी खेल्ने क्रममा शब्दहरूलाई टुक्काको रूपमा छोटकरीमा मिलाएर गाइने चलनबाट नै मुक्तकको विकास भएको पनि पाइन्छ । त्यस्तै टुक्के गीतहरूलाई लय र समय मिलाएर गाउदै जाँदा त्यसलाई नगाएर वाचन गर्न थालेपछि मुक्तकको विस्तार हुँदै गएको उल्लेख पाइन्छ” । यो उल्लेख्य आधारले पनि त्यसलाई पुष्टी गर्छ ।
यद्यपी मेरो आफ्नो धारणा छ । जुन लय प्रयोग भए पनि, जुनै भाषा सँस्कृतिको उपज भए पनि ती विधा/शैलीहरुलाई उनीहरुकै नामाकरणमा स्विकारिनु पर्दछ । नाम भनेको आफैँमा शब्द, संज्ञा मात्र होइन । नामसँग भूगोल, जाति, सँस्कृति, आइडोलोजी, भावना, चेतना, तत्कालिन
समय, पहिचान आदि जोडिएको हुन्छ । प्रयोगका नाममा यीनिहरुलाई अर्कै सम्बोधन उचित लाग्दैन ।
मुक्तकको संरचनागत अध्यन गर्दा प्रसंगबश तीन संरचनाको स्रोत उल्लेख गरेको भेटिन्छन् ।
क) संस्कृत संरचनाका मुक्तक
ख) स्वतन्त्र संरचनाका मुक्तक
ग।) रुबाई संरचनाका मुक्तक
क, ख मा उल्लेख भएको स्रोत बारेमा हामीलाई भन्नु केही छैन तर ‘ग’ मा उल्लेख भएका रुबाई संरचनाका मुक्तक भने आफैँमा प्रष्ट छ । हामी रुबाई संरचनाको मुक्तक भनेर लम्बेतान तर्क गर्न उचित मान्दैनौँ । हामी सिधै ऐतिहासिक प्रमाण सहित यसलाई रुबाई भन्छौँ ।
नेपाल मुक्तक प्रतिष्ठान गठन २०७० र सोही बर्ष मुक्तकको रचनाविधा घोषणा पत्रका आवश्यक बुँदाहरुमाथि आफ्नो धारणा/राय उल्लेख गर्न चाहान्छु ।
- बर्तमान नेपाली साहित्यमा मुक्तक अत्यन्त लोकप्रिय रचना प्रकार भएकाले यसको समुन्नयन र स्तरीकरणका लागि गम्भीर विमर्शकासाथ कार्यहरु गर्ने
– यो अत्यन्तै सह्रायिन कार्य हो । तँपाई हामी सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरागर गरौं ।
- मुक्तकको विषय, संरचना र शैलीमा समेत नवीन प्रयोगहरु देखिरहेका सन्दर्भमा स्तरीय मुक्तकहरुलाई सम्मान गर्दै वर्तमानमा लोकप्रिय रहेको चतुश्पदी (चार हरफे) आयाममा विस्तारित मुक्तकलाई मानकस्वरुप प्रदान गर्ने,
– मुक्तकमा आएका नवीन प्रयोगहरुलाई किन उपेक्षा गर्ने रु वर्तमानमा हेको चतुष्पदी, क्वाट्रेन शैलीलाई मानक स्वरुप प्रदान गर्ने हो भने पनि ठिकै छ तर संसारमा क्वाट्रनको शैली लेख्ने दर्जनौ तरिका छन् । त्यसलाई पनि समावेस गर्ने कि ?
- नेपाली मुक्तकमा संस्कृत साहित्यको चतुश्पदी श्लोकी शैली, अरबी फारसीमा प्रचलित रुबाईयात र अंग्रेजीमा प्रचलित क्वाट्रेन र गध्य कवितात्मक शैलीका साथै नेपाली लोक लयात्मक शैलीसमेतको अन्तरमिश्रणबाट विकसित नेपाली मुक्तकमा मौलिकपनको खोजीका लागि प्रयास गर्ने
–यही बुँदाले स्पष्ट भन्छ कि, क्वाट्रेन शैलीका सृजनाहरु जो संसारभरबाट सृजना गरिन्छ । यी विधाहरुलाई पनि समेट्दै, अध्यन अुनसन्धान गर्दै, नेपाली विविध लोक सँस्कृतिको लयहरुलाई पनि समावेश गर्दै/गराउँदै नेपाली मौलिक मुक्तकको आधार स्वरुप तयार गर्ने । यो सुन्दर प्रस्ताव हो । अभ्यास हो ।
- लघुतम कविताका विविध रुप हाईकु, ताङ्का, दोहा, आदि छोटा कविता आफ्नै नामले परिचित भएकोले त्यस्ता रचनालाई मुक्तक अन्तर्गत नराख्ने ।
–तँपाईहरुलाई धन्यवाद छ । कि संसारमा स्थापित विधाहरुलाई हामीले उनीहरुकै अस्तित्व, परिचयमा यसरी नै स्विकार्नु पर्छ तर यी विधाहरुभन्दा पनि विश्वसाहित्यमा स्थापित विधा ‘रुबाई’ लाई चाहिं किन स्विकार नगर्ने रु जबकी उमर खैयामका रुबाईबाट उत्प्रेरित भएर संसारका सयौं भाषामा एघारहजार भन्दा बढी कृतिहरु प्रकाशित छन् । संसारका सारा स्थापित विश्वविद्यालयहरुमा रुबाई पढाइ हुन्छन् । हामी अनुरोध गर्छौं ,रुबाईलाई उसकै अस्तित्वमा स्विकारौं । विश्वमा स्थापित विधाको परिचयलाई तोडमोड गरेर लज्जित हुने काम नगरौं ।
केही जिज्ञासा/सन्दर्भ/निष्कर्ष
– मुक्तक विधालाई उसकै व्यापकतामा स्विकारौं । ग्लोबल संरचनाका टुक्रे कविता लगायत देशीय भाषा, सँस्कृतिका शैलीहरुलाई पनि उसकै नामाकरण सहित विधागत छानो भएर छहारी दिने काम गरौं । स्वरुप खोज्ने क्रममा संरचनालाई साँघुर्याउँदै अन्तत: एउटा स्थापित मानक विधा ‘रुबाई’माथि जबर्जस्ती लाद्ने काम नगरौं । हामी मुक्तकलाई सम्मान, प्रेम गर्छौं । कृपया रुबाईलाई पनि सम्मानले स्विकारी दिनुहोला ।
–कतिपय स्रष्टाहरु भन्नुहुन्छ रुबाई शैलीका मुक्तक भनेर । हामी भन्छौं कि रुबाई भन्नुस्, कि मुक्तक भन्नुस् यो रुबाई शैलीका मुक्तक भनेको के हो रु यो त ज्ञानको अलमल होइन र ?
–प्रविधिको जमाना छ । सन्दर्भ स्रोतहरु अनलाईभरी छ । ‘रुबाई’ के हो र? किन भन्ने र? अक्सफोर्ड, क्याम्ब्रिज, लगायत संसारभरका प्रतिष्ठित विश्वविद्यालहरु, बीबीसीले निर्माण गरेका डकुमेन्ट्रीहरु, लाइब्रेरी अफ कग्रेस , विश्वप्रसिद्द व्यक्तित्वका भनाईहरु, जताततै उपलब्ध छन् । हेर्न, मनन गर्न, बुझ्न सकिन्छ ।
–फिटजराल्डद्वारा अनुवादित, खैयामको रुबाई संरचना ठ्याक्कै हाम्रो रुबाई लेखनको स्रोत हो, आधार हो । यसमा हामी स्पष्ट छौं ।
–धेरै साथीहरु, अग्रज स्रष्टाहरु भन्नुहुन्छ । हामीले मुक्तक भनेर परिचय बनाइसक्यौं, कृति प्रकाशन गरिसक्यौं । अब रुबाईभन्दा हाम्रो मिहिनेत, नाम कहाँ पुग्छ ? नाम, चर्चा भन्दा पनि सत्य पहिलो सर्त हो । हामीलाई के लाग्छ भने सत्य कुरा ढिलोछिटो स्विकार्दैमा परिचय हराउँदैन । बरु सत्यलाई स्विकार्दा ढिलोचाँडो तँपाई प्रति एउटा विधागत इतिहासले साहित्य रहुन्जल सम्मान जनाउने छ । पहिला स्रोत अभावमा वा अन्जानमा रुबाईलाई मुक्तक भनियो समस्या त्यहाँ होइन । अब जानीजानी पनि रुबाईलाई मुक्तक भनियो भयो भने समस्या यहाँ हुनेछ ।
–कतिपय स्रष्टाहरु अनुकुलतामा रुबाई, प्रतिकुलतामा मुक्तक भन्नुहुन्छ । हाम्रो अनुरोध पहिला तँपाई अध्यन गर्नुहोस । खोज्नुहोस । तथ्यगत, ऐतिहासिकतालाई मनन गर्नुहोस् । यति अनुसन्धान गर्नुस् कि, हाम्रो खोज, अध्यनलाई पनि प्रश्न गर्नुहोस् । हामीसँग कमजोरी रहे खबरदारी गर्नुस् । हामी त निरन्तर खोज, सृजनामा प्रयासरत छौं । पहिला आफु स्पष्ट हुनुहोस् । त्यसपछि रुबाई हो कि मुक्तक हो स्पष्ट बन्छ । यो व्यक्तिगत निकटतासँगको कुरा होइन । एउटा साहित्यिक विधाको इतिहास, पहिचान र सत्यतासँग सरोकारको विषय हो । बरु रुबाई नभन्नुस तर नबुझी हावाको तालमा रुबाई भन्नु भयो भने यसले संकट निम्त्याउँछ ।
–कतिपयले मौलिकताको गफ दिंदै यो विधालाई विदेशी , अर्काको भुमिको समेत भन्न भ्याउनुहुन्छ । हामीलाई थाहा छ यो पृथ्वी हामी सारा प्राणी जगतको साझाघर हो । सबै यही सौर्यमन्डलको पंचतत्वद्वारा सृजित छौं । हामी सबैको राम्रोलाई सम्मान गर्छौ । आफ्नै भए‘नि नराम्रो कुरालाई अस्विकार गर्छौं । संसार ग्लोबल भिलेजको अवधारणमा अगाडि बढी सक्यो । (हुनत यसका पनि राम्रा नराम्रा पक्ष होलान् । यो बारे छुट्टै वहस गर्न सकिन्छ ।)अब हामी कोही कुनै कुराबाट अगल रहनै सक्तैनौँ । त्यसमाथि कला, साहित्य जसले हमेसा मानिसहरुलाई जोड्ने काम गर्छ । हामी पनि औधी सम्मान गर्छौं ।
रुबाई कसरी लेख्ने?सामान्य अवधारणा:
–अरबिक भाषामा ‘रुबा’को अर्थ नै चार भएको हुनाले रुबाई अनिवार्य चारहरफमा सृजना गरिन्छ । यसमा प्रचलिच संरचना ककखक हो । अथवा पहिलो, दोस्रो, चौथो हरफ तुकयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ । यदाकदा कककक संरचनामा पनि रुबाई सृजिएको पाइन्छ । यद्यपी हामीले उमर खैयामलाई एडवर्ड फिजराल्डका अनुवादद्वारा स्विकार्ने भएका हुनाले ककखक संरचनालाई नै मुख्य आधार मान्दछौं ।
–प्राचीन रुबाई स्थानीय भाषा, लयमा (छन्दमा) लेखिन्थ्यो । हामी लयमा लेखिएको रुबाई को संरचनागत, भाषिक पक्षलाई पनि सम्मान गर्छौं । वर्तमान अवस्थामा भने हामी रुबाईलाई अनिवार्य छन्दबाट मुक्त गरेर स्वतन्त्र मात्रामा, हाम्रो आफ्नै भाषामा सृङगारेर सृजना गर्छौं । जस्तो कि गजल बहरमा सृजित विधा हो तर हामीले नेपाली साहित्यमा यसलाई स्वतन्त्र लयमा पनि लेख्छौं÷लेख्यौं । कतिपय साथीहरुले छन्दमा भए रुबाई, छन्दमा नभए मुक्तक भनेका पनि पाउँछौ । यथार्तमा यो भ्रम हो । छन्दमा भए पनि छन्दमुक्त भए पनि ककखक संरचनामा लेखिएका सृजना रुबाई नै हुन् । अर्को कुरा गजलको उत्पत्ती भाव, रस सृङगारबाट प्रारम्भ हुन्छ जो स्त्रीलिङ्गसँग जोडिन आउँछ । यदाकदा रुबाईलाई पनि स्त्रीलिङ्गसँग जोडेर व्याख्या गरेको पाउँछौँ वास्तवमा यो बुझाई सत्य होइन ।
– ‘रुबाई’ एकवचन हो । बहुवचनमा रुबाइयात, रुबाइयाँ पनि भनिन्छ । नेपालीमा रुबाईहरु पनि भन्न सकिन्छ । संसारभरी स्थापित मानक, स्विकृति र प्रयोगमा उल्लेख भएको आधारमा ‘रुबाइयात’ (यद्यपी जबर्जस्ती हैन) भन्नु अझ उचित होला ।
–गजल मुसलसल, गैरमुसलसल भावमा सृजना गरिन्छ । अर्थात सम्पुर्ण गजलको शेरहरु एउटै भावमा पनि लेख्न सकिन्छ वा प्रत्येक शेरमा अलग–अलग भाव पनि व्यक्त गर्न सकिन्छ तर रुबाईमा त्यो छुट छैन । रुबाईका चारै हरफ एउटै भावमा केन्द्रित हुनुपर्दछ ।(सृजनशिल प्रयोगको हिसाबले कोही स्रष्टाले अलग भाव चारै हरफमा समावेश गर्न चाहान्छ भने पनि निषेध चाहिँ छैन ) । गजलका मध्यानुप्रासलाई काफिया र अन्त्यानुप्रासलाई रदिफ भनिन्छ । मध्यानुप्रास मात्रैको र अन्त्यानुप्रास मात्रैको पनि रुबाई सृजन सकिन्छ तर यसलाई तुक, प्रास भन्न सकिन्छ तर रदिफ र काफिया भन्न उचित हुन्न । किनभने रदिफ, काफिया गजलको भाषा हो । (माफि चाहान्छु कि, पहिला सन्दर्भ स्रोत र विस्तृत अध्यनको अभावमा मैले नै यी मध्यानुप्रास र अन्त्यानुप्रासलाई कहीँकहीँ काफिया र रदिफ भनेको थिएँ ।)
–स्वभावत उच्चारणको हिसाबले, श्रुती सहजताको हिसाबले, सम्मान मात्रा, शब्द या हिज्जे मिल्ने गरिको , चारै हरफ छरितो भए सुनमा सुगन्ध हुनेछ । यद्यपी यो पनि अनिवार्य शर्त भने होइन ।
– साहित्यिक विधा अनुसार स्रष्टाहरुलाई सम्वोधन गरिन्छ । उपन्यासकार, कथाकार, निवन्धकार, कवि, गजलकार आदि । तसर्थ रुबाई सृजने स्रष्टाहरुलाई ९कवि, साहित्यकार, रुबाइकारको सट्टा० ‘रुबाइहस्ती’ भनौ भन्ने अनुरोध, प्रस्ताव राख्दछु ।
–हरेक संरचनाझैँ ‘रुबाई’ लाई उसकै अस्तित्वमा स्विकार्दै, नेपाली स्थानीय भाषा, भाषी माझ पनि प्रयोगमा लान सकिन्छ ।
–रुबाई एउटा संरचना हो । यसलाई स्वतन्त्र सृजनात्मक हिसाबले पनि सृजना गर्न सकिन्छ । यसलाई माला उनेर सिंगो काव्य, महाकाव्य, गीत, गीति नाटक आदिमा पनि प्रयोग गर्न सकिन्छ ।
सृजना गर्ने तरिका
क) पहिलो हरफले भाव, विषयवस्तु, बिचार आदिको उठान, परिचय गर्छ/दिन्छ ।
ख) दोस्रो हरफले थप व्याख्या, विस्तृतिकरण, फैलावट गर्छ/दिन्छ
ग) तेस्रो हरफले विषयवस्तु, प्रस्तुतिलाई कौतुहलता, जिज्ञासा, प्रश्न गर्नकालागि लय प्रदान गर्छ/दिन्छ ।
घ) चौथो हरफले समग्र भावलाई एकमुष्ठ रुपमा उठाएर चोटिलो हिसाबले समष्ठीमा प्रहार गर्छ/दिन्छ ।
स्रष्टा दुर्गाप्रसाद रिमालको एउटा रुबाई
पत्थरले बनेका यी मुर्तीहरु दुःखमा रुन सकेनन्
भावना बुझेर मान्छेको आर्तनाद छुन सकेनन्
सायद पत्थरको पुजा, सम्मान गर्ने भएर नै हो‘कि
चाहेर‘नि मान्छेहरु कहिल्यै मान्छे हुन सकेनन् ।
समग्र रुबाईका हरफले बोकेका भावना मानवीय प्रवृति चित्रण गर्नमा केन्द्रीत छन् ।
उल्लेखित रुबाईमा पहिलो(रुन), दोस्रो (छुन), चौथोमा )(हुन) तुक/प्रास छन् । तेस्रो हरफ स्वतन्त्र छ । रुन, छुन, हुन मध्यानुप्रास हो । तीभन्दा पछाडि निरन्तर दोहोरिएर आएका ‘सकेनन्’ अन्त्यानुप्रास हो । हरफको अन्तिमा मध्यानुप्रास मात्र प्रयोग भएका पनि रुबाई हुन्छन् । मध्यानुप्रास अनिवार्य सर्त हो तर अन्त्यानुप्रास कहिलेकाहीं नहुदाँ पनि हुन्छ । भए सुनमा सुगन्ध हुनेछ ।
निष्कर्ष :
साहित्य सृजनाको क्षेत्र आफैँमा हार्दिकताको क्षेत्र हो । जुन, फूल, नदी, घाम, इन्द्रेणी, झरना आदिलाई यति महान कसैले बनायो भने त्यो साहित्यले हो । कुनै स्थापित, शासक, सत्ता, मानक र भ्रमहरुलाई कसैले बारम्बार प्रश्नले घोचिरहन्छ भने त्यो साहित्यले हो । राजनीतिले हजारौं सुन्दरता लत्याएर एउटा कुरुपता खोतल्छ । तर साहित्यले हजारौं कुरुपताबीच एउटा सुन्दरता खोतल्छ । सुन्दरताको आँखा हो साहित्य । सुन्दरताको एकल सत्तालाई प्रहार गर्ने अस्त्र हो साहित्य । हामी सृजनामा आफ्नो अस्तित्व खोजिरहेका छौँ । आफ्नो अस्तित्व खोज्नुको मतलव अरुको अस्तित्वलाई पनि सम्मान गर्नु हो । विश्व साहित्यमा हरेक विधाहरुका आफ्नो आफ्नै अस्तित्व छ, पहिचान छ । हरेकको रंग छ, स्वअर्थ छ र अर्थ हुनुको साँस्कृतिक , भौगोेलिक, भाषिक कारणहरु छन् । रुबाई विधा पनि त्यसमध्ये एक हो । आज विश्व ग्लोबल भिलेजको सोंचले साइवर कल्चरमा प्रवेश गरिसकेको छ । विश्वमा चलेका कुनै पनि तरंगबाट हामी मुक्त छैनौँ। यो ग्लोबल भिलेजमा हामीले रुबाईलाई पनि उसकै अस्तित्वमा स्विकार्न मन परायौँ । हामीले इतिहास, दर्शन, शिद्धान्त, प्रमाण, जीवन्तता र हार्दिकता सहित रुबाईलाई नेपाली साहित्यमा पनि रुबाई भन्ने हिम्मत गर्यौ । हामीले रुबाईलाई उसकै नाम, पहिचान सहित स्विकारी अगाडि बढ्न चाह्याँै र बढीरहने छौं । सहि स्रष्टा र सृजनशिलहरुले हाम्रो यो अभियानलाई भित्रैदेखि स्विकार्नु भएको छ । हामी पनि नेपाली रुबाईलाई विश्वमाझ गर्विलो तवरले उभ्याउने कसरतमा छौँ । रुबाई साहित्य मात्र होइन हामी अन्य साहित्यका विधालाई पनि उत्तिकै सम्मान गर्दछौ । हामीलाई थाहा छ, सृजनाका जुनै विधा पनि आफैमा नराम्रा हुँदैनन् तर सही स्रष्टा र सामथ्र्यवान सृजना पाएपछि ती आफै सुन्दर, शक्तिशाली र जीवन्त हुन्छन् । साहित्यको जुनै विधा भए पनि अभिव्यक्तिको माध्यम मात्र हुन् । कुन विधामा आफुलाई अभिव्यक्त गर्न सहज हुन्छ सर्जकले त्यही विधा हिंड्ने हो तर सृजनाको मर्म र धर्म समेटिनु पर्दछ । सही र सृजनात्मक साम्यर्थ भए मात्र हरेक विधा सम्मानित हुनेछ भन्ने वोध छ हामीलाई । यही लेख्नुस् भन्दैनौँ हामी । तपाईं त्यही विधामा कलम चलाउनुस्। जुन विधामा तपाईं आफुलाई सहज र सरल रुपमा अभिव्यक्त गर्न सक्नुहुन्छ । रुबाई सृजना पनि कसैको वाध्यता नबनोस् हामी यही चाहन्छौं ।
अन्तमा, हामीले वोध सहित, प्रमाण सहित, प्रेम सहित र गर्व सहित रुबाई बिधालाई रुबाई भनेर सृजना गर्दा कसैले पनि एकलकाँटे आधारमा हाम्रा सृजनालाई मुक्तक या अन्य विधाको गलत संवोधन नगरी दिन अनुरोध (खबरदारी) गर्दछौँ ।
अन्तमा आफ्नै एउटा रुबाई राखेर विश्राम चाहान्छु ।
मरुभुमि पनि नाँच्छु भन्दै उफ्रियो
आँसु पनि हाँस्छु भन्दै उफ्रियो
जीवनको महिमा के सुनाएँ‘थ्ये मृत्युलाई
म पनि अब बाँच्छु भन्दै उफ्रियो
(नोटः हामी नियमित अध्यन, अनुसन्धानमा छौँ । जानअन्जान कुनै कमजोरी भए निकट भविष्यमा सच्याउँदै तथ्यपरक आलेखहरु थप गर्दै लाने छौँ।)
सन्दर्भ सामग्री :
१) मधुशाला :डा. हरिवंश राय बच्चन
२) मधुशाला (नेपालीमा अनुदित): केदार सत्यालद्वारा अनुदित मदन पुस्तकालयको तर्फबाट
३) प्रा.डा. गोविन्दराज भट्टराईद्वारा २०६९ असोज १५ गते प्रस्तुत ‘रुबाइ एक विमर्श’ नामक कार्यपत्र
४) ग्यासचेम्बरमा बुद्द : प्रकाश आङदेम्बे
५) प्रकाश आङदेम्बेका रुबाइयात
६) कबिरका जीवन महिमा : रजनिश ओसो
७) दुर्गाप्रसाद रिमालकृत ‘समयको आयू’ पुस्तको भुमिकावाटः मन प्रसाद सुब्बा
८) उमर खैयाम से बच्चन तक : निदा फाजली
९)रुबाई स्वतन्त्र अस्तित्व एक विवेचना : राष्ट्रिय रुबाई महोत्सव ९वि।स। २०६७, असोज ८/९ दमकमा प्रस्तुत कार्यपत्र : कमन देवान
१०)_ The Rubaiyat Of Omar Khaiyam(scholar;s choice edition) ;- Frederick Baron Corvo and Jean Baptiste Nicolas, The Rubaiyat Of Omar KhaiyamM;- E. Fitzerald
११) Reading omar khaiyaam's rubaiyyat with Their Historical Context, Library of Congress :-Mehdi Aminrazavi (professor of Philosophy and Realigion at the University of Mary Washington discusses)
१२)Rubaiyaat of Omar Khayyam, Documentry by BBC
१३) Elegy Written in a Country Churchyard :- Thomas Gray
१४) Midnight songs poetry :- David Hinton
१५)The Knight in the Panther's Skin:- Shota Rustaveli
१६)shichigon-zekku- Goggle/WikipediA
१७)रुबाइयात अफ उमर खैयाम डकुमैन्ट्री, विविसी१८०
१८)विम्ब प्रतिविम्व (रेडियो नेपाल):रमेस पौडेल
१९)रुबाईयात शैलीका मुक्तकः सिद्धान्त र रचना (समकालिन साहित्य) डा.रुपक श्रेष्ठ
२०)मुक्तक के हो : अल्पबिराम विष्णुकुमार श्रेष्ठ (द नेपाली भिजन अष्ट्रेलियमा प्रकाशित
२१) उमर खैयामकी रुबाइयाँ : हेमन्त अग्रवाल
प्रस्तुत आलेख क्रिएटिभ सर्कल अष्ट्रेलियाद्वारा प्रकाशित 'खैयामलाई प्रश्न' कृतिबाट लिइएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...