विसं २०२८ मा जन्मेकी जनताकी कवि निभा शाह सशक्त प्रगतिवादी हस्ताक्षर हुन् । शाहका ‘मनसरा’, ‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ कवितासंग्रहहरू प्रकाशित छन् ।
मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।
रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।
जब कि मनसरा !
रगत–पसिनाले नै
दुनियाँ बदलिने हो
रगत–पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले चिरेको दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आगोको आवाज सरन मनसरा ।
(मनसरा कविता संग्रहबाट)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...