तिलविक्रम नेम्बाङ अर्थात् वैरागी काइँलाकाे जन्म विसं १९९६ साउन २५; पौवा गाउँ, पाँचथरमा भएकाे थियाे । नेपाली साहित्यका मूर्धन्य साहित्यकार काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका थिए । क्लिष्ट र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँलाले मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धानहरू लिपिबद्ध गरेका छन् । उनका दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । साझा पुरस्कार(२०३१), सिद्धिचरण काव्य पुरस्कार(२०५३), विपी–साहित्य सम्मान पुरस्कार( २०७६), रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बा श्री पुरस्कार(२०७५) लगायका सम्मानबाट सम्मानित काइँला नेपाली वाङ्मयका शीर्ष व्यक्तित्व हुन् ।
मेरो हजुर
सपना त रातभरिलाई हो !
गञ्जी र कमेजले ढाकेको
स्याल र फ्याउराले मात्र
अपशकुनको आवाज कराउनलाई
सम्साँझै बास बस्ने
गाउँभित्रकै यौटा बुढो ओढार– हाम्रो छात्तीलाई
अफिसको फाइलको बिटाले
अरुप्रति नदेखाई नहुने
लोकाचार र बाध्यताको धर्मसंकटले
हिर्काउँदै निर्ममतापूर्वक....
मुख पनि नधोईकन
आफ्नो आदिम अनुहार
टेबलका ऐनामा हेरेपछि
एकजना आफूलाई त साँच्चो भन्नुपर्छः
सपना त रातभरिलाई हो !
सपना त रातभरिलाई हो,
निद्रा नटुटेसम्म,
बिम्झिने बित्तिकै
अज्ञानको अन्धकारबाट
सखारै सूर्यमन्दिरमा
कन्ये केटीहरुले चढाउने फूलसित
आफ्नै हातले पनि चुँडिदिनु पर्छ !
(जस्तो कि आज पनि मैले
हजुरको निम्ति भनेको मेरो मायालाई
पर....‘डीलमा गाडिदिएको छु
आमाबाबुको निम्ति बलिदिएको मेरो माया,
भन्दछन्.......
त्यहाँ फेरि चमेलीको बोटमा उम्रिएको छ !
मैले पनि कति खेप पहेँलो फूलको सपना पाएको छु.....
आजकल)
आफ्नो लागि कम र अरुको लागि धेरै
बाँचिदिनु पर्ने यो जिन्दगी !
यो जिन्दगी यौटा अनुष्ठान हो !
हो, महत् अनुष्ठानको सार्थकतालाई
इतिहासमा
जीवनको बलिको दान चाहिन्छ !
ठीक हो,
हामीलाई जीवनभर तर्साउने छन्
ओछ्यानमा रातरातभरि
अतृप्त आत्माहरूले,
अनि बिहानपख
रोईराख्नेछन् रगतका आँशु कर्कलाको पातमाथि स्
बलि दिइएका परेवाका बचेराहरू –
कलिला कलिला हाम्रा सपनाहरूले !
तर जिन्दगी अनुष्ठान हो !
जिन्दगीको इमान राखिदिनु पर्छ !
हामीले मुठ्ठी खोलेर बाँचिदिनु पर्छ !
सिग्रेटको खरानीसित
टक्टक्याएर सिरानी र सिरकबाट
कतै छरिएका सपनाका अवशेषहरू
कोही डढिसकेका
कोही भाँच्चिएका
पुतलीका पखेटाहरू !
जो रातभरि लालटेनमा झुत्तिएका थिए,
पर‘.... डाँडाको उताबाट
रगतमा चुर्लुम्म हात डुबाई
डकार्दै, टाउको उठाइरहेको सूर्यलाई,
आधि पर्दा बन्द झ्यालबाट हेरेर
चुपचाप, विवश !
उफ्१ पाइला पाइलामा
लोकाचारको पैतालाले कुल्चिँदै प्रत्येक बिहान
जिन्दगीको,
मानिसले सपनाको लासमा जानुपर्छ !
प्रत्येक मानिस एक्लो मलामी हो !
प्रत्येक मानिसले
आफ्नो सपनाको लासमा,
एक्लै एक्लै मलामी जानुपर्छ !
प्यारको अनि बाध्यताको निर्दयताको कालोपन
भमराको निर्जीव देहसित
कमलको छात्तीबाट
सपनाको लास पोखरीमा बसेपछि
बिहानको उज्यालोमा
जिन्दगीले आँखा मिच्दै उठेदेखि नै
यस धरतीमा
मानिसले व्यथा सहनुपर्छ !
पाइला–पाइलामा
लोकाचारको पैतालाले कुल्चिँदै
प्रत्येक बिहान जिन्दगीको
मानिसले, सपनाको लासमा जानुपर्छ !
मेरो हजुर !
सपना त रातभरिलाई हो !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...