दुर्गाकिरण तिवारी

ओ ढोँगी मान्छे !
धरामा उभिएर 
सृष्टिमा अंकुरित प्रेमभित्र वासना नघोल 
प्रेमलाई चुनौती नदेऊ
स्वार्थका लागी चुडिने गुलाफसंग 
दाज्दै नदाज प्रेमलाई
धराको शीतल स्पर्शबाट न अलग्याउनू
न लगाऊ आँखा कुकुनाहरूमा 
र न कुल्च आँकुराहरूलाई
टुसाउन देऊ बेफिक्री खिलखिलाउन 
रमाउँन देऊ हरेक ॠतुहरूमा।

ओ ढोँगी मान्छे !
आँखामा बसेका तृष्णामा 
कपटी आसक्ति मिलाएर कसै नपठाऊ
तिम्रो आसक्तिको र्यालमा 
म विषालु वासनाको ताप देख्छु 
मेरा हृदयमा ठोक्किएर झिल्का निक्लन सक्छन् 
दन्किन सक्छ ज्वालामुखी 
जहाँ तिमीलाई निल्न सक्छन् लाभाहरूले ।

ओ ढोँगी मान्छे !
धकेल्न खाल्डोमा प्रेमको चिहान खन्दै
कपट र आसक्तिमा अन्तर्घातका बीऊ नरोप 
अस्मितालाई खरानी बनाउन कतै प्रयास नगर
किनकि म आगो हुँ, नदी हुँ 
अझै भनुँ- म धर्ती हुँ, आँधी हुँ 
र म अनन्त आकाश हुँ 
बेलैमा चिनिराख मलाई ।

ओ ढोँगी मान्छे !
पिल्सिएपछि लाभाहरूमा
हुत्याइएपछि आँधी र सुनामीहरूमा
तिमी खरानी हुनेछौ 
मेरो अस्तित्व बिना 
तिमी उभिन टेक्न सक्नेछैनौ आफैँ
मेरा उदरका सागरमा तिमीलाई हुर्काएर 
म स्वयंले तिम्रो सृजना गरेकी हुँ
त्यसैले त धर्मराउदै सम्झिनेछौ आफैं
तिमी हुनुको तिम्रो अस्तित्व, तिम्रो पहिचान 
म बिना स्थापित गरेर देखाऊ

ओ ढोंगी मान्छे ! 
यत्ति बुझ्नू कि म सिङ्गो ब्रह्माण्ड हुँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार