विजय मल्लको जन्म विसं १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको थियो । उनका विजय मल्लका कविता, कोही किन बर्बाद होस् (नाटक), जिउँदो लास (नाटक), अनुराधा (उपन्यास), एक बाटो अनेक मोड (कथा), पत्थरको कथा (नाटक), बौलाहा काजीको सपना (नाटक), कुमारी शोभा (उपन्यास), स्मृतिको पर्खालभित्र (र) मानिस र मुकुण्डो (नाटक) लगायत कृतिहरू प्रकाशित छन् ।
कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।
सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।
ऊ, को आयो हेर, नेभा नदीको तिरबाट
लाख लाख मानिसको जुलुस लिएर ।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ,
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ?
एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हर इँटले बोलिरहेछ,
हरपत्थरले दोहो¥याइरहेछ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–
दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...