सम्भवतः यो पहिलो उपन्यास हुनुपर्छ, मैले पढेमध्येको जुन संयुक्त लेखकहरूको प्रतिफल हो । उपन्यास एकपटक सरसर्ती पढेपछि प्रथमतः मैले संस्करण मिति हेरे । मलाई डर लागिरहेको थियो यो कुरामा कि कतै समाज अहिले पनि यही अवस्थामा त छैन ? किनकि, साहित्यमा झुल्किने एउटा तत्त्व सामाजिक यथार्थता पनि हो ।
बिरक्ती, छट्पटी र अँध्यारोबाट सुरु भएको उपन्यासमा कुण्ठाले मध्यरातमा एउटी नारी निसास्सिँदा उसको लोग्नेले कसलाई भेट्न चाहिरहिछ भन्ने सोच्नुले कहाँसम्मको पुरुषेली रवाफलाई बुझाउँछ । 'मोह तृष्णा हो तर चाह तृष्णा होइन', यो भनेर लेखकले मोह, चाह र तृष्णाबिचको फरकलाई छर्लङ्ग पारेकी छिन् ।
प्रेमबिनाको कामुकताको सिकार, जनावरसँगको आत्मीयता, श्रीमती आफूभन्दा विद्धान हुँदा ईर्ष्या गर्ने पति, बाबुछोरीको मजबुत सम्बन्धलाई देखाउँदै स्वास्नीमानिस भनेको पृथ्वी हो, पृथ्वीले जे गरे पनि सहेर बसेजस्तै स्वास्नीमानिसले पनि सहनुपर्छ भन्ने कुरालाई गजबसँग उतारिएको छ ।
क्रूर यातना, छेड हानेर बोल्ने प्रवृत्ति, भक्षक पति,जेलजस्तो घर र त्यहीँ घरमा पनि वास नपाउने राधाको पीडादायी जीवनको चित्रण गर्दै शरीर र मनको तादात्म्यलाई अलग बनाएर पाइला चाल्न सक्छु त भन्ने जटिल प्रश्नका साथ खण्ड 'क' सकाइएको छ ।
खण्ड 'ख', पात्र प्रकाश
कथा मनै परेन । सायद, यहाँ समाजको मैले नदेखेको पाटोको वर्णन गरिएको छ । एउटा महिला कसरी अर्की महिलाको श्रीमानमा सम्मोहित हुन सक्छे ? एउटा पुरुष जो विवाहिता हो, उसले कसरी यसरी फरकफरक महिलाहरूलाई प्रयोग गर्न सक्छ ?
यस्तो कथा लेखेर लेखकले के दर्शाउन खोजेका हुन् ? हुन त, भनिन्छ साहित्य समाजको ऐना हो । के लेखकले साँच्चिकै समाजको अवस्था चित्रण गरेका हुन् त ? यो प्रश्नले मेरो दिमाग हल्लाइरहन्छ ।
लागेको थिएन खण्ड 'ग' खण्ड 'ख' को पात्रसँग सम्बन्धित छ । म छक्क परे, म ट्वा परें । खण्ड 'ख' को पात्र प्रकाश त खण्ड 'क' को पात्र राधाको लोग्ने पो रहेछ । अझै, पक्क पर्दै छु । राधा र खण्ड 'ग'कि पात्र दीपा साथी पो रहेछन् । अब मज्जा आउँछ ।
सम्बन्धको चक्रव्यूहमा बुनिएको जालो पो रहेछ यो उपन्यास, खण्ड 'ख' तिर आउँदा पढ्न छोडिदिउ जस्तो लागेको थियो । जहाँ, एउटा सामन्ती, पितृसत्ताले ग्रस्त लेखकका अनुसार प्लेबोयले एउटी न्यून आर्थिक हैसियतकी केटीलाई कुरिरहेको थियो ।
त्यो, त्यस्तो पात्र जसको घरमा श्रीमती छे तर ऊ देखेजतिका स्वास्नीमानिसको शरीरसँग खेल्न पछि पर्दैन । हुन त, भनिन्छ प्रेमबिनाको यौन हर्मोन रिलिज मात्रै हो । ह्या, होस् यस्ता दर्शनसँग उसलाई के मतलब । ऊ आफू सकेसम्म धेरै महिलामा लिप्त हुन चाहन्छ र त्यसमै गौरवान्वित महसुस गर्छ । यो हदसम्मको स्थिति वर्तमान समाजको वास्तविकता हो र ?
उपन्यासमा सुभद्राको चरित्र निर्माणले कुन समयको समाजलाई चरितार्थ गर्छ ? सुभद्रासँग प्रकाश र उसको साथीले गरेको व्यवहार, यस्तो पनि भइरहन्छ र समाजमा ? दुई जना केटा पात्रलाई धनी, क्रूर, घमन्डी, सामन्ती चरित्रको रूपमा उभ्याएर एउटा केटा पात्रलाई गरिब, दुखी, उदास, निराश पात्रको रूपमा उभ्याउनुले समाजमा महिला मात्र हैन पुरुष पनि दुखित छन् भन्न खोज्नु हो ?
प्रदीपले देखाउने जस्तो धनाढ्य रवाफ त देख्न पाइन्छ, सहरमा होस् या गाउँमा । आर्थिक अवस्थाले विवशतामा दीपाले देख्नुपरेको सपना र त्यसको टुटाई । के साँच्चिकै गलत थियो त उसको सपना ? न्यून आर्थिक हैसियतबाट गुज्रिरहेकी एउटी छोरी जसको आधारमा घर परिवार चल्छ, उसले एउटा सम्पन्न परिवारमा आफूलाई टेकाउने सपना देख्नु कति सही हो ? या कति गलत ?
दीपा, जसले प्रकाशलाई प्रदीपलाई कुरुन्जेलको लागि मात्रै प्रयोग गरेकी हो उसलाई प्रकाशको विगतले किन फरक पारिरहेछ । ऊ किन दु:खी छे प्रकाशले सुनाएको विगतसँग ? के ऊ प्रेम गर्छे प्रकाशसँग ? फेरि ऊ त प्रदीपसँग प्रेम गर्छे । यस्तो हुन्छ र ? एकैपटकमा दुई जना व्यक्तिसँग प्रेम गर्नु र उनीहरूबाट प्रेमकै अपेक्षा राख्नु ?
एकैपटकमा कति जनासँग प्रेम गर्न सकिन्छ ? हुन त, प्रेम शब्द आफैमा विस्तृत छ । यसलाई यहाँ परिभाषित गरिरहन किन पो आवश्यक छ र ? प्रश्न यति हो कि, एकैपटकमा कति जनासँग प्रेम हुन सक्छ ? कसैलाई पर्खिन्जेलको समय कटाउन अर्को कोहीलाई प्रेम गर्न थाल्नु सही हो कि गलत ?
समाजमा प्रकाश, राधा, दीपा र विनोदजस्ता चरित्र अझै पनि छन् त ? यदि छन् भने किन लेखिँदैन यसबारे आजभोलि ? लेख्नुपर्ने मान्छेहरू म जस्तै अनविज्ञ त पक्कै नहोलान् । २०६७ को संस्करणको किताब पढेर अहिलेको समाजलाई पढ्न खोज्ने मूर्ख पनि भन्न सक्नुहुन्छ तपाईँ । यो तपाईँको कुरा हो । तपाईँलाई जे मन लाग्छ भन्न सक्नुहुन्छ, यो छुट छ ।
अं, म त सङ्कुचित पक्कै छु । म याचकताले भावविह्वल छु कृपया मलाई भनिदिनुस् । के यो अहिलेको समाज हो र ? भन्नसक्नु हुन्छ, तपाईँ पनि यहीँ समाजमा बस्नुहुन्छ आफैँ खोज्नुस् न भनेर । तर, थाहा छ मलाई तपाइँसँग अनुभव धेरै हुन सक्छन् । के थाहा तपाईँ दिनहुँ यस्ता घटनासँग पौँठेजोरी पो खेल्नुहुन्छ कि ? अं, म लागेको छु यो कुरा बुझ्न, के तपाईँ सहयोग गर्नुहुन्छ ?
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...