प्रणय दाहाल

ए काली
जुम कतै 
तिमी र म
पृथ्वीको कुनै कुनामा 
हल्लाखल्लादेखि निक्कै टाढा
जहाँ झमेलाहरू नहोस् 
जहाँ घृणाहरू नहोस् 
जहाँ झगडाहरू नहोस् 
जहाँ तामझामहरू नहोस् 
केवल हाम्रो ढुकढुकीको आवाज मात्रै होस् ।

तिम्रो मुटुभित्र पसेर
निर्धक्कसित निदाउनु छ कहिबेर
जीवनका थकानहरू मेटाउन
तिम्रो आँखाभित्र आफूलाई हेर्नू छ राम्रोसँग 
किनकि ऐना हुन् तिम्रा आँखाहरू मेरो निम्ति
तिम्रो कपालको छहारीभित्र
कहिबेर शीतलतामा रम्नु छ
त्यसैले जुम काली 
कतै टाढा 
हल्लाखल्लाहरूदेखि निक्कै पर।

विशाल समुन्द्रको डिलमा 
समुन्द्र भन्दा धे.......रै गहिरो 
हामीमाझको विश्वासलाई छाम्नु
हामीसित जोडिए ती प्रेमिल हावाहरू पनि 
एकान्त जोडियो
रुखपात जोडिए
चराचुरुङ्गी जोडिए
समुन्द्रमा बगिरहेको पानीहरू
जोडिने छुटिने क्रम चलिरहेको छ
त्यतिबेलासम्म हामी हराइसकेका थियौं कता कता
प्रेमको गहिरो समुन्द्रमा।
दगुरिरहेको हावाले तिम्रो वासना बोकेर आउँछ 
त्यसलाई स्पर्श गरेपछि
तिम्रो सम्झनाको तृष्णा मेटाउँछ त्यो हावाले
झरीले तिम्रो आशुको सम्झना लिएर आउँछु 
दुखेको हुन्छ मलाई त्यसबेला
घमाइलो दिनहरूले तिमी रमेको सम्झना ल्याउँछ 
खुसीले रमेको हुन्छु त्यसबखत म।

कुनै अग्लो चुचुरोबाट 
तल बग्दै गरेको खोलालाई हेरेर
हाम्रो बग्दै गरेको जीवनलाई सम्झिनु
पानीलाई अल्झाउन आएको चिजबिजहरू हेरेर
हाम्रो जीवनमा आएको बाधाहरू सम्झिनु 
र पनि बगिरहन्छ पानी निरन्तर 
त्यसरी नै हामी पनि बगिरहनुपर्छ
जीवनको जस्तै विकट परिस्थितिमा पनि
त्यसले जुम काली 
बगिरहेको पानीलाई हेर्नू
कतै टाढा
केवल तिमी र म ।

खुल्ला आकाश र तिम्रो सफा मन
एउटै लाग्छ प्रिये
कतै अग्लो पहाड देख्दा
तिम्रो अटल विश्वासलाई सम्झन्छु 
स्वच्छ पानी र तिम्रा आँखाहरू 
एउटै एउटै लाग्छ प्रिये 
आफूलाई छर्लङ्गसित देखिने
त्यसैले जुम काली 
तिमी र म 
पृथ्वीको कुनै कुनामा।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार