तुलसी थापा

वि.सं. २००२ मा भैँसे, मकवानपुरमा जन्मिएका कवि, कथाकार, नाटककार एवम् शिक्षासेवी तुल्सी थापाका 'एक निमेष अनन्तको  (दाना कवितासङ्ग्रह– वि.सं. २०५८)', 'अमरसिंहको खोजीमा अमरसिंह (नाटक– वि.सं. २०६१)', 'फरक 'आकाश (कथासङ्ग्रह– वि.सं. २०७२') प्रकाशित छन् । 

नेपाली साहित्य जगतकै पहिलो दाना कविता संग्रह ‘एक निमेष अनन्तको’ २०५८ सालमा  प्रकाशित भयो । यसपश्चात एक अलग विधाको रुपमा दाना कविताले नेपाली साहित्य जगतमा प्रवेश पायो ।  नेपाली साहित्यलाई दाना कविता दिने श्रेय थापालाई जाने गर्दछ ।

थापाले सुरु गरेको दाना कविता लेखनमाथि हेटौँडामा प्यानल डिस्कसन (२०७६) समेत भएको थियो । सो डिस्कसनमा उनले दशकअघि आफूले मसिनो कविताको रुपमा सृजना गरे पनि पत्रकार तथा साहित्यकार नवराज शर्माले यसलाई 'दाना कविता'को रुपमा नामाकरणको प्रयास गरेको र सो नाम आफूलाई चित्त बुझेकोले आफ्नो नौलो प्रयासले दाना कविताको रुप लिएको बताएका थिए । 

'दाना कविताको संरचना कस्तो हुनपर्दछ? दाना कविताको विशेषता के हो ? ‘दाना’ नै किन भनियो ?' लगायतका प्रश्नहरू सहित थापासँग 'दाना कविता बहस' आगामी अंकमा गरिनेछ । 

यहाँ हामी तुल्सी थापाका ६८ थान दाना कविताहरू पढ्नेछौं । दाना कवितामा 'मान्छे', दाना कवितामा 'देश', र दाना कवितामा 'चिन्तन' प्रस्तुत कविताहरूको विशेषता हो;



१. चिन्तन

यसपालि बाढी आएन

र एउटा भ्यागुतो ध्यानमग्न छ

कि उसले किन उफ्रन परेन ?


२. विभीषिका

चराहरू युद्धरत छन्

के खोज्छौ र गुँडहरूमा

ती त गोलीका फूल पार्छन् !


३. निरपेक्ष

अक्वेरियम भित्रका माछाहरू

तिम्रा अट्टहासमा पनि हेर

कसरी नाचिरहेछन् ?


४. सत्प्रयास

कमिलाका ताँती हिँड्दैछन् लगातार 

कस्ता निष्काम कर्मी

न नारा, न ब्यानर !


५. विवशता

श्रीकृष्ण रिक्सा चलाउँछन्

भेटिँदैन अर्जुन कहिँकतै

सधैँ, सधैँ दुर्योधन सवार हुन्छन् ।


६. दृष्टि

गान्धारी पट्टी खोल

धेरै कुरा देख्दैछ धृतराष्ट्र

ऊ सधैँ अन्धो छैन ।


७. मर्यादा

लक्ष्मण अहिले मुर्छित छ

मन लाग्दो रेखा कोर

 वर्जित नै अब के छ ?


८. विश्रान्ति

चीर निन्द्रामा छन्

भीष्म पितामह वाण–शैयामा

जय पराजय केही देखिन्न यहाँ !


९. रावण्य

किन गीँडन मात्र खोज्छौ ?

जब हरेकमा हुन्छन्

रावणका टाउकाहरू


१०. बिरामी देश

दिवसहरूमा चलमलाउँछ

त्यसपछि थाहै हुन्न

कतिखेर अचेत पल्टिन्छ


११. शान्ति

हैन कहाँ छौ हो तिमी ?

खोज्दै छु त तिमीलाई

 युद्धमा हारेदेखि ।


१२. विजय

लासमाथि उभिएका छौ

त्यसैले तिमी बेलाबेलामा

सिनु गन्हाउँछौ ।


१३. ठेगाना

घर छैन, जग्गा छैन

यो दशगजा जहाँ हामी बस्छौँ

देशै हैन ।


१४. विडम्बना

युद्ध किन भयो ?

अचम्म ! थाहै हुन्न

वीर योद्धालाई पनि !


१५. उत्खनन्

ए ! यो पनि अर्को एउटा

मान्छेकै बस्ती रहेछ

कहाँ बस्थे हँ ती देवता ?


१६. आमन्त्रण

आउनोस् महाभोज गरौँ

त्यसपछि अर्को एउटा

अनिकाल पर्खौँ !


१७. विस्मात

अन्त्यमा निर्णय मानेर फर्केपछि

हामीले आ–आफ्ना टाउको छाम्यौँ

ए ! हामी त गीँड मात्र रहेछौँ !


१८. भयावह

सिनु लुछ्तैमा गिद्ध मस्त छ

के मतलब उसलाई कि

उसको देश अनिकाल ग्रस्त छ !


१९. आग्रह

के शान्ति संवेगहीन हुन्छ र ?

भएन बुद्ध भएन अब

तिमी एक पटक रिसाउनै पर्छ !


२०. निरुपाय

रोगको डायग्नोसिसबाट के फाइदा ?

न तिमीसँग औषधी छ डाक्टर

न रोगीसँग !


२१. रिक्तता

आकाश छँदै छैन

त्यसैले त त्यो

सधैँ भई रहन्छ ।


२२. वार्ता

उसले नभनेका कुरा मैले सुनेँ

मैले जे भने उसले सुनेन

र हामीले सौहार्द वार्ता गर्यौँ ।


२३. सम्वुद्धस्य

ती सबै तम्तयार छन्

तिम्रा मन्दिर आउनलाई

र खुकुरी उद्याउँदै छन् ।


२४. आशङ्का

वर्षौं सोधियो यो भोटो कसको हो ?

अर्को साल कहीँ यस्तो नसोधियोस्

यो देश कसको हो ?


२५. अभ्यस्तता

सडक अझै सुतेकै हैन

सुतोस् पनि कसरी

राँके जुलुस आएकै छैन !


२६. सङ्केत

फेरि कि त मान्छे मर्ने हुन् ?

तिम्रा सिद्धान्तका लागि

र त आकाशमा गिद्ध मडारिँदै छन् ।


२७. कायर

भो नलखेट अब उसलाई

भाग्दा भाग्दा उसले भाग्नुको कारण

बिर्सी सकेको छ ।


२८. जागरण

हामी भुसुक्क निदाएछौँ

गाउँदा गाउँदै देशको गीत

ब्युँझाउने कोही आवस् कुर्दै छौँ !


२९. अतिशय

जो मरे चिहानमै छन्

नखोतल्नोस् धेरै, मरेका पनि

ब्युँझिन सक्छन् ।


३०. नयाँ वर्ष

क्यालेन्डर फेरियो

जहाँ यो झुन्डिएको छ

किला उही पुरानै छ ।


३१. वृद्वत्व

उज्यालो होऊ लालटिन

लौरो तिमी कहाँ छौ ?

अझै धेरै टाढा पुग्नु छ !


३२. आशा

बास त्यहाँ बसौँ

देखिनेछ जहाँबाट

 भोलिको बिहानी ।


३३. लहर

फेरि कतै कहीँ सुरु हुन सक्छु

किनारा पर्खेका डुङ्गा हो

चट्टानको सीमा पनि नाघ्न सक्छु ।


३४.  टिष्टा

बग्दै थियौँ त सँगै, सदियौँदेखि

हाम्रो इतिहास कहाँ छुट्यो

थाहै भएन खै कहिले देखि ?


३५. जुलुस

त्यो यस्तो भीड हो

त्यहाँ घुसी हेर, थाहा पाउने छौँ

सबै एक्ला, एक्लै हिँड्छन् ।


३६.  मन

निकाल हरेक चीज यसबाट

 जब केही बाँकी रहन्न

त्यहाँ तिमी आफै हुनेछौ ।


३७.  अविभाज्य ?

बाँच्नु छ किस्ताबन्दीमा

त्यसैले त जिन्दगी यो

खण्डित छ टुक्रा, टुक्रामा


३८.   समर्पण

ए, दार्शनिक

तिम्रो ब्युँझाइमा म

साँच्चै निदाउन सक्छु


३९. ज्यादती

देश अन्धाहरूको हात्ति हैन

मनपरी परिभाषा नदेओ

हात्ति बिच्किन बेर छैन ।


४०. काङ्गडा

एक्लो शीलास्तम्भमा यहाँ

के रक्षा गर्दैछौ बलभद्र तिमी:

देश त तिम्रो कहाँ छ कहाँ ?


४१.  अल्पविराम

मलामीहरू किन सुस्ताउँदैनन् ?

कतै तिनले फेरी अर्कै लास

कुरेका त हैनन् ?


४२. अन्धयुद्ध

अब ती शङ्खनाद गर्नेछन्

आऊ यो युद्ध पनि हेरौँ

जब गीँडहरु मात्र लड्नेछन् ।


४३. अस्तित्व

नित्सेले क्रिया गरी नसकेको

इश्वरत्व भेटिन्छ यदाकदा

अझै जिउँदो भट्किरहेको ।


४४. ओथारो

चकमन्न अँध्यारो छ

याद गर यही अँध्यारोले

अब उज्यालो कोरल्छ ।


४५. जन्म

एउटा सुरुवात गजबको

अज्ञातबाट अज्ञात तर्फ

तपाई हामी सबैको ।


४६. अन्तर्ध्यान

भगवान् खोज्दा खोज्दै, ऊ बितेछ

भेटोस् पनि कसरी जब उसको भगवान्

आफै बेपत्ता रहने गर्छ ।


४७.गलत प्रश्न

तपाईँ मान्छे नै हुनुहुन्छ, हैन र ?

शङ्का गर्यौँ, ठिक गर्यौँ

म मान्छे हुनुको भ्रम हुँ !


४८. निर्वासन

जङ्गली पशुहरू सहर पस्दैछन्

कहाँ बस्लान् अब ती मान्छे–जातहरू चाहिँ

धन्दा नमान, जङ्गल खाली छ ।


४९. आदिम स्वरूप

बाँदरले मान्छे हुन चाहेकै थिएन

माफ गर डार्विन, तिम्रा मान्छे भित्र

बाँदर अझै जीवित छन् ।


५०.बिजोग

उसले साह्रै बेसुरा गीत गायो

अन्तमा आँसु खसाल्दै भन्यो

यो मेरो देशको गीत हो ।


५१. प्रस्ताव

कोही भएनन्, तिम्रो विचारमा सही थाप्ने

यता हाम्रोमा आऊ बरु

तिमीलाई सजिलै लिलाम गरी दिन्छौँ ।


५२.घण्टा घर

रातभरि डान्सबारमा रल्लियौ क्यारे

अल्छी मान्दै ढिलो उठेका छौ

समयलाई बेलैमा भेटाउन सक्लाउ के ?


५३.धरहरा

कोही चुपचाप आइपुगेको छ मेरो खण्डहरमा 

हल्ला नगर्नोस्, उनी भीमसेन थापा हुन्

त्यहाँ आफ्नो हराएको साख खोज्दैछन् ।


५४. भिखारी

सिंहदरबारको गेटैमा

कचौरा थापेर उभिएको छ

बिचरा हाम्रो काठमाडौँ ।


५५.योग्यता

म यति योग्य अवश्य छु

आफैले आफैलाई

अयोग्य घोषणा गर्न सक्छु !
 


५६.परिचय

तिमी को हौ परिचय देऊ !

किन झुकिन्थेँ र ?

म तिमी पक्कै हैन !


५७.कमिसन

रानीपोखरी अहिले दङ्ग परेको छ

एक क्युसेक पानीको मोल बुझ्न प्रताप मल्ल

नगरपालिकामा हाकिम ढुकी रहेछ !


५८.रसातल

हामी भास्सिँदै छौँ गहिराइ तिर

किन त्यो उचाइ देखिँदैन ?

आफ्नै शीर माथिको आकाशमा पनि ?


५९. मेरा देवताहरू !

थाहा छैन, तिमीहरू कहाँ छौ ?

यति थाहा छ मेरो जिजीविषासँग

सधैँ तिमीहरू सधैँ जिस्की रहन्छौ !


६०. सन्तति

कता जाँदैछन् हाम्रा सन्ततिहरू ?

त्यसो तः हाम्रो पुर्खाले पनि

हामी लम्केको बाटो कहाँ देखेका थिए र ?


६१. जङ्गे पिलर

हामी उखेलिएकाहरू रगताम्य छौँ 

सीमाना बिचरा बेवारिस पल्टेको छ

यहाँ आइपुग्ने हिम्मत सरकार किन गर्दैन ?


६२.महानिन्द्रा

भर्खरै भोट खसालेर आएको छु 

डिस्टर्ब नगर मलाई सुत्न देऊ

अब पाँच वर्ष पछि ब्युँझन्छु ।


६३. चिनारी

नमोःबुद्ध १ हजुर हाम्रो भगवान् हुनुहुन्छ

हैन, म त्यति महान् रहीन

तिम्रा लागि म एक मूर्ति मात्र भएको छु ।


६४.अस्वीकारोक्ति

हामीहरू ओडार भित्र पस्दैछौँ 

तिम्रा कृत्रिम उज्यालोले तिरिमिरी पार्छ

अँध्यारोमा हामी निस्फिक्री छौँ ।


६५.निर्गमन

यतातिर वसन्त आउँदैन

के अर्थ आउँदा पनि ?

जब मान्छेलाई फुर्सदै हुँदैन ।


६६.सालिक

धेरै हिँड्यौ कतै पुगेनौ

आऊ मेरो ठाउँमा उभिदेउ

अब मैले हिँड्न पर्छ ।


६७.अवतारत्व

यदा यदा हि धर्मस्य ग्लानीर्भवती भारत

हे प्रभु, कतै हैन नेपाल–खण्डमै

अवतरण गर्नुहोस् अब त ।


६८.स्वत्वहीन

म भित्र आफै भएको केही भेटिएन

सबै बटुलबाटुल गरिएको एक डङ्गुर रहेछ

आजकल अपरिचित छु आफैसँग ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार