सीमान्त सम्बोध
आकासले पानी चुहाउन खोज्दै थियो तर अड्कलेर । सूर्य जसले हिजोको इतिहास देखेका थिए र साछी बसेका उनी पनि लाजले पानीपानी थिए सायद । त्यसैले त बादलको भित्र लुकेर चियाइरहेका थिए । हामी भने यो सीमान्त सम्बोधनको उज्यालोमा रुझ्दै थियौ– जहाँ आकाश बर्सिरहेको थिएन । बर्सँदै थियो कि निर्जीव सालिकका रसिला सजीव एकजोर आँखाहरू । हामीप्रतिको कृतज्ञताले भनौँ वा भनौँ ऊ बर्सौँ छिप्नु पर्दाको पीडा वा छिपाइनुको अन्यायपूर्ण पराकाष्ठाले हो - सुवानन्द दास सबैका सामुन्ने धित मर्ने गरेर रोइरहेको थियो । इतिहासका गर्तभित्र करिब तीन सय वर्ष हराएको, एक एकीकरण अभियानको त्यही योद्धा जसलाई हामीले माघ १० गते कटुञ्जे बजारमा अश्रुपुरित सजल नयनमा भेट्टायौँ ।
त्यही रोदनले जमेको आहाल जहाँ हामी निथ्रुक्क भिजेका थियौं । हामी थियौं – राजु झल्लु प्रसाद (राजु भट्ट), महेन्द्र उपाध्याय र प्रभात तिमल्सिना । प्रसङ्ग थियो - नेपालको पहिलो कवि सुवानन्द दासको सालिक अनावरणको ।
कुरा अलि अगाडिको उप्काऊँ कि ।
कवयित्री अमृता अर्यालले संयोजन गरेको एकेडेमीको एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने जोहो थियो । मलाई कुनै सरकारी ओहोदा र उच्च पदस्थहरूसँग लहसिने रहर पनि छैन र आदत पनि । काठमाडौँ केन्द्रित एकेडेमी जसले सुदूर किनाराका कथाहरू पढ्दैन र चिन्दैन हामीजस्ता पाखा-पखेराका अक्षरप्रेमीहरु । त्यसैले मेरो सम्बोधनको निशानामा परे - उपकुलपति विष्णुविभू घिमिरे र समालोचना विभाग प्रमुख ज्ञानू पाण्डे । मैले भनेको थिएँ कि 'काठमाडौँमा दरबार हटेर पनि हटेको छैन ।प्रत्येक ओहोदाले दर्पसाथ लगाइरहेको श्रीपेच ।' त्यसैले हाम्रो एकेडेमीले चिन्दैन सुवानन्द दासले टेकेको भूगोल । म त्यही माटोको टिका लगाएको एक धुलौटे बालक हुँ । त्यसैले सायद मलाई पनि चिन्ने कष्ट नगर्नुहोला तर म यहाँहरूलाई प्यारपूर्ण स्वागत गर्न चाहन्छु ।
हामीकहाँ चर्को बोलेपछि कि कम्युनिस्ट भइन्छ कि भइन्छ भाग नपाएको । उहाँहरूले खुसुक्क सोध्नुभएछ यो मान्छे कुनै कम्युनिस्ट क्रान्तिकारी हो ? म उहाँहरूको मस्तिष्कमा छाप परेजस्तो कम्युनिस्ट पनि थिइन र कुनै राजनैतिक आग्रही र पूर्वाग्रही पनि थिइन । मञ्चको कार्यक्रम पछि हाम्रो कुराकानी भयो । उहाँहरूलाई लागेको थियो होला कि मञ्च पछाडिको एपिसोडमा पनि म उस्तै अडबाङ्गे र एकधारे एक्का जस्तै छु तर, मिजास गाउँमै हुन्छ । प्रेमको रससिक्त आभा गाउँमै फैलन्छ । उहाँहरूले त्यही भेट्टाउनुभयो सायद मेरो ग्राम्य व्यवहारमा ।
ज्ञानू पाण्डेले भन्नुभयो, “एकेडेमीमा एक प्रपोजल दिनुहोस् र सुवानन्द दासको बारेमा अनुसन्धान गरेर प्रतिवेदन बुझाउनुहोस् ।” मेरो कुन्नै अड्डा अदालत चहारेर नमस्ते टक्राउने चरित्र पनि थिएन र त्यो स्वभाव पनि कहिल्यै बसेन । सम्झेँ कि एक फाइल तीन महिना बेपत्ता पारेर खोज्न अरू दुई महिना लर्काइदिने फन्दामा म किन परूँ ? एकेडेमी पनि उस्तै नेपाली अड्डा न हो, जहाँ छिर्नु अगाडि मान्छेका सपनाहरू फुल्छन् र छिरेपछि मुर्झाएर फर्कनुपर्छ ।
मेरो अस्वीकृत अनुहारको मुद्रा देखेर उहाँले भन्नुभयो, "तपाईँ धाइरहनुपर्दैन । म आफैँ प्रस्ताव दर्ता गरिदिन्छु । तपाईँ काम थाल्नुहोस् ।" मैले काम थाल्ने निर्णय गरेँ । मसँग सूचनाहरू त छँदै थिए । मात्र तिनलाई एकीकृत गर्नु न थियो ।
सूचनाका केही आयामहरूलाई बटुलाबटुल गरे । इतिहासका अन्तस्कुहरहरुमा हराएँ । कतै घोत्लिएँ र एक सग्लो प्रतिवेदन पनि बुझाएँ । सुवानन्द दास, नेपालको पहिलो कवि जसका कविता इतिहासकार बाबुराम आचार्यले उहिल्यै खोजेर 'यो नै नेपाली भाषाको पहिलो कविता हो' भन्दै 'पुराना कवि र कविता'मा ठोकुवा गरेका थिए । मैले सुवानन्द दास धादिङको कटुञ्जेमा जन्मिएका थिए भनेर ठोकुवा गरें । त्यो मात्रै मेरो ठोकुवा थिएन कि उनी पृथ्वीनारायण शाहका दरबारमा गुप्तचरी काम गर्थे र उनैले नेपाल एकीकरणको अभियानका दिशा निर्देशक थिए । मलाई लागेको थियो यो प्राज्ञिक तहमा एक तातो बहस हुनेछ र यसका सन्दर्भमा पक्ष प्रतिपक्षमा पनि केही धारणाहरूको पुनरोदय हुनेछ तर त्यस्तो केही भएन ।
पृथ्वीनारायण शाहको सालिक ठाउँठाउँमा बनेको छ । स्वाभाविक छ कि उनको सालिक बन्नुपर्छ किनकि इतिहासमा देश निर्माणको रथ उनले हाँकेका थिए, यो सत्य थियो तर उनी एक्लैले पनि त युद्धको बेडा कुदाउन सक्दैनथे । उनीसँग रहेर उनलाई साथ दिनेहरू, उनको विवेकको निर्देशक बनेका सुवानन्द दासहरूको सालिक पनि उहिल्यै बन्नुपर्थ्यो । अहिलेसम्म किन बनेन ? इतिहासका विशाल ठेलीहरू राजा महाराजा र तिनका आसेपासेका मात्र लेखियो र तिनै ठेली लेख्नेहरू प्रज्ञा प्रतिष्ठानका हण्डीबाट सत्ताको उच्च पदारोहण गर्दै पदका श्रीपेच पहिरिनेहरूले श्रीपेचका कथाबाहेक न पढे न लेखे ।
लोकतन्त्र, गणतन्त्रको लामो कालखण्ड व्यतीत भइरहँदा पनि सुवानन्द दास सत्ताको कुर्चीले थिच्चिएर बसिरहे । राजा महाराजाका इतिहासका ठेलीमा चेप्पिएर निसास्सिँदै रहे । जसलाई धुलिधुसर कसिङ्गरबाट बाहिर ल्याउने प्रयास गरेको थिएँ र त्यसलाई मोहर एकेडेमीले लगाइदिएको थियो । यस सन्दर्भमा धन्य भन्नैपर्छ मैले ज्ञानू पाण्डेप्रति ।
प्रसङ्ग त्यहाँबाट पनि रोकिएन । एकदिन नेत्रावती डबजङ् गाउँपालिका अध्यक्षलाई भेटेँ र भनें, “अध्यक्षज्यू, माटोबाट उम्रिएकाहरूले माटो बिर्सियो भने के हुन्छ ?”
उहाँले सजिलै जबाफ दिनुभयो – 'मर्छ ।'
मैले भने – 'तब हामीले बिर्सियौ भने ?'
'तपाईँ यस्तो के कुरा गर्दै हुनुहुन्छ ?', उहाँ प्रस्ट हुन खोज्नुभयो ।
अनि मैले सुवानन्दको नालीबेली लगाएँ । उहाँले त्यसपछि सुवानन्दको बारेमा मैले गरेको अनुसन्धानको प्रतिवेदन माग्नुभयो । आफूले पनि थप खोजबिन गराउनु भयो र बन्यो सालिक, कहिल्यै नढल्ने गरेर ।
कोरोना महामारीको कहर थियो । स्थानीय चुनावको म्याद गुज्रँदो प्रहरमा पेचिलो बहसको गर्मागर्मीकै बिचमा एकदिन उनको फोन आयो र भने, 'नवीनजी अब सुवानन्दले ओढिरहेको घुम्टो हटाउने हैन ?'
मलाई लाग्यो कसले ओढाएको छ र हटाउनु पर्ने ? जसले घुम्टै ओढेको छैन ,उसको घुम्टो के नै छ र हटाउनु ? बाँचुञ्जेल उच्च पद प्रतिष्ठाको दर्पमा दबिएर बस्नु पर्ने, मरेपछि पनि तिनकै विशाल इतिहासका ठेलीमा चेप्पिएर कहरपूर्ण दर्द भोग्नुपर्ने कस्तो विचित्रता कस्तो दर्दभरि कहानी ? म एकछिन सुवानन्द भएर तिनले भोगेको युगौँ लामो व्यथाबाट विचित्रसँग सङ्क्रमित भएँ ।
उफ् कस्तो उखरमाउलो ? कस्तो विडम्बनापूर्ण सुस्केरा छुट्ने सङ्क्रमण ? म छटपटिएँ ।
तर, दुर्गकुमारजीको निमन्त्रणालाई स्वीकार गर्नु नै थियो र जानु नै थियो किनकि उनले त्यस्तै परिवर्तनको आरम्भ गरेका थिए ।धुलिधुसर भएको एक देश निर्मातालाई उत्खनन गरेका थिए । राजा महाराजाको जस्तै सालिक बनाएर एक सिपाहीको सालिक ठड्याएका थिए । त्यसैले उनको त्यो कामलाई सलाम गर्न मन लागेको थियो र भनेँ – 'कति गते हो ? म आउँछु । आउँदा म मात्रै आउँदिन । एक हुल अक्षरका गोठालाहरू पनि बोकेर ल्याउँछु किनकि यस्ता सत्प्रयासलाई अक्षरकै अक्षतापाती गर्नुपर्छ । अक्षरकै उज्यालोले चहकाउनुपर्छ ।" उनी सहमत भए ।
त्यसपछि राजु झल्लु प्रसादसँग संवाद भयो र, कुराको बेलोलाई उनैले महेन्द्र उपाध्यायसम्म तन्काए । थपिए, त्यहाँ सुदूर भूगोलका प्रभात तिमल्सिना पनि ।
अनि हाम्रो टोली धुँवाकोट भर्भर्याङभुरुङ हुँदै पहिलो कविले पहिलो पाइला सारेको माटोमा पुगेका थियौं । सालिक अनावरण गर्न आइपुगेका थिए –सङ्घीय सांसद खेमप्रसाद लोहनी ।
कोरोना कहरकै कारण कार्यक्रममा हामी जम्मा जम्मी ३०/३५ जना थियौ होला तर त्यहाँ मैलै ती जम्मै जम्मैमा सुवानन्द दासमात्रै देखेँ । सिंहदरबारले नदेखेको, प्रज्ञाभवन कमलादीमा कहिल्यै बहसको केन्द्र बन्न नसकेको र प्राज्ञ सभामा कतै नचिनिएको उक अनौठो पात्रलाई घेर्नेहरू उस्तै बिराना बिराना लागिरहेका थिए ।
सानो मञ्चजस्तो बनाइएको थियो- कटुञ्जे पौवाको आँगनमा, जहाँ करिब तीन सय वर्षदेखि हराएको एक सिपाहीलाई खोजेर उभ्याइएको थियो । कालो आवरणको सालिकलाई दुलहीलाई जस्तै रातो घुम्टोले ढाकिएको थियो । दुलही यसकारण कि आज इतिहासको डोली चढ्दै थिए - सुवानन्द ।
घुम्टो खोल्दै गर्दा भावुक भएर मैले सम्झिएँ – "अब तिमी कहिल्यै मर्दैनौ । जीवित भएर आफ्ना कथाहरू बकिरहनू । आफूजस्तै बेपत्ता भएका अनेक अनेक देश निर्माताहरूका कथा कहनू र भन्नू कि यो माटो तिम्रा बाउका मात्र बिर्ता होइन । यो मैले र मजस्तैले टेकेको माटो हो । अब कथा मेरो र मजस्तै हराएकाहरूको लेखिनु पर्छ । समयका भँगालाहरूमा छुटेकाहरूको छुटाइएकाहरूको लेखिनुपर्छ । "
अरू के के पो भन्न मन लागेको थियो र भनाउन मन लागेको थियो तर, तत्क्षण आकाश रसाएर सिमसिम पानी पो पर्न थाल्यो । ओत लाग्दै थिए दर्शकदीर्घा तर, म भने बसिरहेँ र एकटक हेरिरहेंं - त्यो निर्जीव सालिक, जसको आँखा बगेर मसम्म पीडाको आँसु चुहाउँदै थियो । उसका बुँद-बुँद तप्केनीमा कतै आगोका लप्काहरू जस्ता आक्रोश देख्दै थिएँ म । कतै देख्दै थिएँ कृतज्ञताका लदावदी अनुग्रह ।
माघको चिसोमा रुझ्दा पनि जाडो नलागेर चौपट्ट न्यानो पो हुँदै थियो त । यस्तो भन्थे कि मानिसहरू आँसुले मनका कहरहरू धुन्छ, पिर व्यथाहरू सप्पै सप्पै निखारेर लान्छ र मन निर्मल कञ्चन बनाइदिन्छ तर, मैले त्यहाँ देखे कि 'आँसु देख्नु र आँसु बहाउनु फरक रहेनछ ।' बहाउनेको मन आर्त कथाहरू बगेर निख्रँदो हो । हेर्नेहरूको पनि उस्तैसँग दिल हलुङ्गो पो हुँदो रहेछ ।
माघ महिनाको चिसो र मुटु कमाउने सिरेटो उस्तै चलिरहेको बेला आकाश पनि पग्लिरहेको थियो । सुवानन्दको सालिक हेरेर सायद त्यो आकाशले पनि युगौँ पुरिएको इतिहासको साछित्वमा सुवानन्दसँगै पोखिरहेको थियो बर्र.. बर्र.., आसुका ढिक्काहरू र हामी रुझिरहेका थियौं । सर्हदयीका अश्रुमिलनमा मैले भने उज्यालो अक्षर दानाहरू पो बगिरहेको देखेँ र टिपेँ सालिक पग्लिएको यथार्थ जहाँबाट उन्दै छु- सीमान्त सम्बोधनको प्रथम हार ।
अक्षर आवास, धादिङ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...