समिक्षा
सिर्जन अविरल पचासको दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नवीन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् । म आकाश हेरिरहेछु" कवितासङ्ग्रह (२०६०), "आदिगायक सेतुरामदेखि दिलमाया खाती" जीवनी सङ्ग्रह (२०६१), "क्यान्टोनमेन्ट र अरू कविताहरू " कवितासङ्ग्रह (२०७०) प्रकाशित गरिसकेका सिर्जनको "मोक्ष" उपन्यास (२०७८) चौथो साहित्यिक एवम् प्रथम औपन्यासिक कृति हो ।
साङ्ग्रिला पुस्तक प्रालिको प्रकाशन रहेको प्रस्तुत उपन्यासले नेपालको दस बर्से द्वन्द्वलाई आधारभूमि बनाएको छ । संरचना -- समयको कथा ( पृ.१--१७),नसकिने युद्ध (पृ.१८--३७),थवाङमा शारदा (पृ.३८--४५), कारागार (पृ.४६--५३), रेडियो समय (पृ.५४--६६), कन्टेनर (पृ.६७--७८),स्मृति कोलाज (पृ.७९-९०), इच्छाको बाटो (पृ.९१--९९), आविष्कारको कथा (पृ.१००-१११), निरीह अदालत (पृ.११२-१२३), पलायन (पृ.१२४--१३३), समयको साक्षी (पृ.१३४--१४७), दुःखको गीत (पृ.१४८--१५८), आमाको अनुहार (पृ.१५९--१७३), फरक बाटो (पृ.१७४-१८३), कठोर समय (पृ.१८४--२०२), मोक्ष (पृ.२०३-२१६) र सुनाउन नपाएको कथा (पृ.२१७--२३१) गरी मोक्ष उपन्यास जम्मा अठार परिच्छेद तथा २३१ पृष्ठमा संरचित छ ।
विषयवस्तु
नेपालको इतिहासमा करिब पचासको दशकदेखि साठीको दशकसम्म गुज्रिएको द्वन्द्वलाई विषयवस्तु बनाएर धेरै साहित्य लेखिए । प्रस्तुत उपन्यास पनि नेपालको दस बर्से द्वन्द्वलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यसलाई युद्ध साहित्य भन्न सकिन्छ । एउटा क्रूर समयको चित्र जुन लेखक आफैँले भोगेको, देखेको र अनुभूत गरेको छ, यसमा चित्रित छ । आफूमाथिको अन्याय, अत्याचार, शोषण, दलन र असमानताको मुक्तिका निमित्त युद्धमा होमिएकाहरूलाई अन्त्यमा के प्राप्त भयो त भन्ने गम्भीर प्रश्न चिन्हको उठान उपन्यासमा गरिएको छ । युद्धको अन्त्य कहिल्यै नहुने र क्रान्तिका लागि सङ्घर्षरत पात्रहरू अन्त्यमा युद्धबाट मोक्षको मार्गमा प्रवृत्त भएसँगै उपन्यासको अन्त्य भएको छ । लेखककै शब्दमा "समयको कथामा दलन र सङ्घर्ष । प्रेम, युद्ध र जीवनदर्शन । बा हिँड्ने अलग बाटो र आमाको आँसु टिपेर मनको अक्षरले लिपिको उपन्यास हो- मोक्ष । कतै नरमाएको मानिस कसरी खुसी हुन्छ मनको बाटोमा ! भौतिक दुनियाँबाट कसरी पुग्छ मानिस आध्यात्मिक बाटोमा...।" उपन्यासमा युद्धको कोरा वर्णन मात्र छैन , यसमा लेखकको जीवनदर्शन , युद्ध र प्रेमको शालीन अभिव्यक्ति र सामाजिकता प्रतिबिम्बित छ ।
उद्देश्य
पूर्वीय दर्शनमा नश्वरतालाई दुःखको कारण मानिएको छ । सांसारिक प्रपञ्चबाट मुक्ति पाउनु नै मोक्ष हो । मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ । यो एक वैयक्तिक अनुभूति हो । उपनिषद्हरुमा आनन्दको स्थितिलाई मोक्षको स्थिति भनिन्छ किनकि आनन्दमा सारा द्वन्द्वहरूको विलय हुन्छ । वेदान्तमा आत्मसाक्षात्कारलाई मोक्ष भनिन्छ । मृत्युपरान्त ब्रह्ममा विलीन हुनु मोक्ष हो भने ईश्वरवादमा ईश्वरको सान्निध्य मोक्ष हो । अन्य वादहरूमा जन्म र मृत्युको चक्रबाट मुक्ति नै मोक्ष हो । सिर्जनको यस उपन्यासमा भने युद्धलाई सर्वोपरि मान्दै युद्धमा होमिने पात्रहरूमध्ये अन्तमा आविष्कारले आत्महत्या र इच्छाले भिक्षुको बाटो रोज्नु, इमा र दिलसाहरु बिदेसिनु, शारदा, दीपा र प्रज्ज्वलहरु युद्धमा मारिनु र आदित्यजस्ता पात्रहरू भयानक मानसिक द्वन्दबाट गुज्रिँदै लेखनतर्फ लागिरहनुले युद्धको अन्त्य कहिल्यै नहुने र मानिसहरू यसबाट मोक्ष (मुक्ति ) चाहन्छन् भन्ने देखाउन खोजिएको छ । दस बर्से माओवादी युद्धबाट अन्त्यमा के उपलब्धि हात लाग्यो त? के पाए क्रान्तिमा जीवन उत्सर्ग गर्नेहरूले? यस्ता तमाम प्रश्न उभिएका छन् उपन्यासमा । युद्धको नाटक केवल सत्ताप्राप्तिको मञ्चन मात्रै बन्न पुगेको तितो यथार्थको प्रस्तुति यहाँ अभिव्यक्त छ । देश बदल्ने सपना देखाएर निर्दोष पात्रहरूको कलिला सपनाहरूलाई दुर्घटित पार्ने र भौतिक एवं मानसिक रूपमा गन्तव्यविहीन तुल्याउनेहरूको कुत्सित चरित्रको अनुहार यस उपन्यासले बेनकाब गरिदिएको छ ।
भाषाशैली
सिर्जनलाई कवि र रेडियोकर्मीका रूपमा सुन्ने बुझ्नेहरूलाई यो उपन्यास पढुन्जेल उनकै आवाज कानमा गुन्जिरहेको आभास हुन्छ । आख्यान भए पनि उपन्यासका हरेक वाक्य कविताजस्ता लाग्छन् । यसलाई काव्यिक उपन्यासका रूपमा पनि चर्चा गरिएको छ । भावको प्रस्तुतीकरण, पदक्रमको विचलन, बिम्बात्मकता, प्रतीकात्मकता र आलङ्कारिकताजस्ता विशिष्टताका कारण यसको भाषाशैली काव्यात्मक बन्न पुगेको छ । उपन्यासभित्रका वाक्यहरूमा कर्ता, कर्म र क्रियाको सङ्गति एकाध स्थानबाहेक अन्यत्र भेट्न सकिन्न । जुन यसको शैलीगत वैशिष्ट्य हो । जस्तै:
उपन्यास पढुन्जेल लागिरह्यो कि म कुनै लामो काव्यात्मक आख्यान पढिरहेकी छु । उपन्यासकार स्वयम् कवि पनि भएकोले होला उपन्यासको भाषाशैली ज्यादै नै कवितामय प्रतीत हुन्छन् । शब्दको विन्यास मिलाउने हो भने प्रत्येक अनुच्छेद कविता जस्ता छन् । जस्तै: पहाडभित्र लुक्ने हतारमा थियो पहेँलो घाम बादलले बादल नै धकेलेर मैलिँदै गयो आकाशको सुकिलो तन्ना साँझ डाक्दै थिए उड्दै बस्दै गरेका चराहरूले ।
अन्त्यमा,
कवि सिर्जन अविरल उपन्यासकारका रूपमा मोक्ष उपन्यास लिएर उपस्थित छन् । उपन्यास लेख्नु साँच्चै कठिन साधना हो ।त्यसमा पनि एउटा इमानदार लेखकका रूपमा आफूलाई प्रस्तुत गर्नु अर्को दृढ साहस हो । यस कृतिमा लेखक असाध्यै इमानदारीपूर्वक प्रस्तुत भएका छन् । उपन्यासमा चित्रित स्थानीय परिवेश, समय, घटना र पात्रहरू कतिपय आफूले पनि देखेको, सुनेको र चिनेको कारण अझै सुरुचिपूर्ण रह्यो । अन्त्यमा नेपाली आख्यानको भन्डारमा प्रस्तुत उपन्यासको उपस्थिति सार्थक रहोस्, शुभकामना छ आख्यानकारलाई ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...