सीमान्त सम्बोध

डा. नविनबन्धु पहाडी दाहल

मन सहर बजारको भिडभाड, कामको अचाक्ली बोझ र तनावले दिने उल्झनको निसासीबाट फुत्किएर बेला बेलामा उपल्लो क्षितिजमा टाँसिएको गाउँतिर हुइँकिन्छ । जहाँ गाई गोठाला र रनबनतिर सुसेल्ने सल्लाहरुका सङ्गीतले सप्पै सप्पै थकान र तनावहरू बिर्साउँथे । 

अब त एकादेशको कथा भइसके,  हिँडिएका गोरेटा र नाङ्गा पैतालाले हस्ताक्षर गरेका बाटाघाटाहरू पनि । 
‘गाउँ’ स्मृति बिम्बमा आउने बित्तिकै सम्झन्छु, पुछारमा सुकौरा खोलाको कलकल ध्वनिसँग मितेरी लगाएर उफ्रिरहेका जुरेली र बट्टाइका कलरव र त्यससँगै पछिपछि दगुर्न रहर लाग्ने छुटेर गएका सप्पै सप्पै उमेरहरू । समय नै त्यो अद्भुत परिवर्तनको कारक हो, जसलाई कज्याएर राख्न सकिन्न एक ठाउँमा । अनि भन्न मन लाग्छ - 'ए घण्टाघर तँ ठुलो हो कि तैँले कज्याएर राखेको समयको बहाव ?' 

हो, समय र यसको बहावमा हुत्तिएर मेरा कपाल तिलचामले भइसके । मसँगै हुर्किएका बोट बिरुवाले पनि फल दिएर थाक्न थालिसके । मेरा पछिल्ला पुस्ताले पनि सन्तानका जरो बाँधेर ढुक्क भइयो भन्ने सनातन उक्तिले सन्तोषको श्वास फेरेको अभिव्यक्ति दिन थालिसकेका थिए । म भने गाउँ सम्झिएपछि उही बालापनको स्मृति विभ्रममा हुन्थेँ । बच्चै बनेर एकपटक निमारे र पोखरे खोलाका रनबन चहार्न दगुर्थे । काफल र तिँदुका बुटा बुटामा आफूलाई पाउँथे । ऐँसेलु र मछ्यानुका लदावदी बुट्यानहरूमा  चराजस्तै झुन्डिनु र लहराउनुभित्र गाउँको अप्रतिम प्रेम लुकेको छ 

गाउँ छ र न छन्, ती बग्रेल्ती सपनाहरू । गाउँहरू छन् र छन्, उस्तै उस्तै भोगाइका स्वप्निल कथा बाटिकाहरू । त्यसैले बेला बेला गाउँघरतिर उचालिन मन लाग्छ, जहाँ गएर खोजिन्छ आफ्नै छुटेका यादका पदचापहरू । खोजिन्छ, प्रेमिल बालवयका छुकछुके चपलताका अनेक परिघटनाहरू । त्यसैले त गाउँमा हुर्कनुका बेग्लै मजा छ, बेग्लै आनन्द छ र, छ बेग्लै अनुभूतिका तरलताहरू ।

तर, आजकाल उबेलाको जस्तो गाउँको प्रकृतिकपना मिसिँदै गएको दुखेसो पाउँछु – बेला बेला गाउँघरमा उक्लिँदा । 
खै किन किन गाउँ बिरानो बिरानो बन्दै गएजस्तै छ, अनि पराया पराया हुँदै गएजस्तो छ र दुःख लाग्छ कि गाउँमा किन पहिलाजस्तो अपनत्व छैन ? किन निश्चल प्राकृतिकपना गुम्दै, हराउँदै गइरहेछ र एक बिरानो तथा अनौठोपना देखिँदै आएको छ? प्रश्नहरूका अनेकौँ कठघरामा मेरो जीवनका आदि भोगाइमा परेको छाप उप्काउँदै गाउँ खोजिरहेको हुन्छु म । 

अचेल गाउँ गाउँजस्तो छैन 
हामी सानो छँदा हाम्रा गोठ, कटेरा पिँढी र कहिले कहिले मझेरीतिर पनि बास बस्न आएका अतिथिहरू बिस्कुन जस्तै सुत्न सक्थे । हजुर आमाको फराकिलो दिलभित्र अटाएका पाहुनाहरू बग्रेल्ती अजान र चिनजानका महानुभावहरूका लागि कहिले ताउलो र कहिले घड्करोमा बनाएर भोग लगाएका मिठा मसिना व्यञ्जनहरूको ताजा सम्झना अहिले पनि गाउँघरतिर उक्लँदा मनका कुहरमा ताजा भएर उप्किन्छन् र खोज्छु त्यस्तै प्रेमिल अपनत्व । 

डिहीबारीभर कतै मेवा, कतै आलुबखडा, आरु, काँक्रा र बेलौतीका लटरम्म निमन्त्रण समय र ऋतुअनुकुल बास्नादार भएर प्रत्येक आत्मा लोभ्याउँथ्यो  र बुझ्थे घरधनीहरू आत्माको मूक भाषा । कसैले माग्नै पर्दैनथ्यो । पोल्टाभर आइपुग्थ्यो तृष्णा साधनाको प्रतिफल । कस्तो विचित्रता थियो त्यतिबेला ग्राम्य प्रेम ?

कोही कसैको बिमार पर्दा  पिँढी, आँगन, फलैँचाभर सहानुभूतिका लागि ठट लाग्नेहरूको लावालस्कर हुन्थे । रातभर जाग्राम बसेर बिरामी कुर्नेहरूको ताँती पनि उस्तै हुन्थे । मर्दा पर्दा केही कुरा छैन भन्नै नपर्ने सम्पन्नताको भाव हर घरमा हुन्थ्यो किनकि गाह्रो साह्रो पर्दा सबै समुदाय मिलेर टार्ने प्रचलन र 'पैँचो प्रथा'ले गाउँको अभाव हुनुभन्दा पहिल्यै भाग्दथ्यो । धनको अभावलाई मनको भावले परिपूर्ण बनाउने तिलस्मी जादु गाउँमै देखेको थिएँ मैले बालवयमा ।

काम र समस्याले उमेर भन्दैन र चिन्दैन समय पनि । त्यसैले गाउँमा मध्यरातमा खेताला बोलाउन एक्लै निर्भय हिँड्ने किशोरीहरूलाई झम्टने कुनै ब्वाँसाहरूको आँट थिएन त्यतिबेला गाउँघरमा । गाईबाख्रा जङ्गलमै हराएर खोज्दा खोज्दै रात पर्दा पनि निडरतापूर्वक वनबिहार गर्ने महिलाहरूको साहसलाई चुनौती दिने कुनै कामी पुरुषको हिम्मत थिएन उतिबेलाको ग्राम्य जीवनमा । 

जन्मिँदै आमाको ओठबाट झर्ने लोरी, रामायण महाभारत र श्रीकृष्ण चरित्रका सिलोक सुनेर हर बालबालिकामा काव्य प्रेमको टुसा पलाउँथ्यो, भजन, चुड्का र लहरी साहित्यका प्रवाहको कलरवले सुषुप्त सङ्गीत चेतलाई ब्युँझाउँथ्यो । 
तुलसीको मोठसँगै बसेर गर्मीका सिलोक हालिनु, जाडोमा अगेनाको वरपर बसेर कथा सुन्नुको मजा शब्दातीत थियो गतिबेलाको गाउँघरमा ।

असार लाग्दा नलाग्दै असारे भाखामा गुञ्जने आली कान्ला र अट्टालिकाहरू आफैँ पग्लिएर मूल फुट्थे सायद तरल भएर । कोदो रोप्दा गुञ्जने ठाडो भाकाका सुरलहरीहरु खेत रोपाइँ चल्दा असारे भाकामा रूपान्तरित हुन्थे र हिलो, आली ब्याडे, बाउसे, रोपाहार र लाठेहरूको थकाइ बिर्साउने मन्त्रहरू सिद्ध बन्दथे । 

कोही कसैका मनमा अपराधका लेश मात्र देखा परेपनि त्यो निश्चलता, पवित्रता र प्राकृतिकपनको भोलाभालामा अन्तर्घुलन भएर बिलाउँथ्यो, हराउँथ्यो टाढा कतै विलुप्त हुन्थ्यो । 

तर, आज गाउँ गाउँजस्तो किन छैन ?
उस्तै आज पनि डिहीबारीभर कतै मेवा, कतै आलुबखडा, आरु, काँक्रा र बेलौतीका दानाहरू  लटरम्म ऋतुअनुकुल बास्नादार भएर प्रत्येक आत्मा लोभ्याउँन सक्छन् तर बटुवाहरूका तृष्णामय बुभुक्षा  बुझ्ने  घरधनी आमा हजुरआमाहरूको मातृत्व शुष्क बन्दै गएको छ, उस्तै उम्रेका डिलडिलका बोटमा मलजल गर्ने हातहरू छैनन् । ओल्लो घर पल्लोघरमा बढ्ने मनहरू फाटेका छन् । 

आज पनि उस्तै बिमार पर्छन् मान्छेहरू । हिजो जसरी रोगले थला पार्दथ्यो तर आज कोही कसैको बिमार पर्दा  पिँढी, आँगन, फलैँचाभर सहानुभूतिका लागि ठट लाग्नेहरूको लावालस्कर आउँदैनन् । स्नेह र प्रेम पोखिएरै बिसेक हुन्थ्यो कतिपय व्यथाहरू तर हिजोजस्तै रातभर जाग्राम बसेर बिरामी कुर्नेहरूको ताँती गाउँबाट कता हराए खै बुझ्न सकिएको छैन । मर्दा पर्दा, गाह्रो साह्रो पर्दा सबै समुदाय मिलेर टार्ने प्रचलन र पैँचो प्रथाले गाउँको सीमा कटेर बसाइ सरिसकेको अनुभव अमिलो गरेर देखेको छु आजकाल ।

काम र समस्याले उमेर भन्दैन र चिन्दैन समय चिन्दैन मध्यरातमा खेताला बोलाउन एक्लै निर्भय हिँड्ने आँट आजका किशोरीहरूमा कहाँ पाउनू ? नाबालिग र किशोरीहरूउपर गिद्धे दृष्टि राखेर झम्टने  ब्वाँसाहरू हर पाइलामा  गाउँघरमै देखा पर्ने गरेका छन् । आमाको ओठबाट झर्ने लोरी हराएर युट्युबहरू फस्टाएका छन् । रामायण महाभरत र श्रीकृष्ण चरित्र बेचिएर अनेक व्यावसायिक अस्तव्यस्तताहरू सप्रिएका छन् । 

सिलोक सुनेर हर बालबालिकामा काव्य प्रेमको टुसा पलाउने गाउँमा पप र –यापहरु झाँगिएका छन् । भजन, चुड्का र लहरी साहित्यका प्रवाहका कलरव अब एकादेशका कथा भएका छन् । तुलसीको मोठमा गम्रेका बन्सो गोडमेल गर्ने हात र जाँगर परदेशिएका छन् । जाडोमा अगेनाको वरपर बसेर भनिने कथा र सुनिने कानले अब झन्झट मान्न थालिसकेका छन् किनकि गाउँबाट अगेनु हराएको छ । आँगो बिर्सिएको छ गाउँले र  कथा सुन्नुको  शब्दातीत आनन्द अब आफैं कथा भइसकेको छ ।

असार नारिने गोरु सङ्कटापन्न भइसकेका छन् र तिनलाई विस्थापित गरेका छन्– गाउँ गाउँमा पनि ट्रयाक्टरहरुले ।  असारे भाखा पनि दन्त्यकथा भइसकेको छ  र त्यसका स्थानमा नक्कली हिलो र टिकटकले लिएका छन् । फेसबुकका फोटोका लागी अनो समाउन आउनेहरू वास्तविक किसानभन्दा ज्यादा छन् । त्यसैले त गाउँ गाउँजस्तो छैन आजकाल ।

आली कान्ला र अट्टालिकाहरू पग्लिएर  फुट्ने मूलको महत्त्व सायद  बोध गर्ने पुस्ता सकिएको छ । अब त खेतबारीलाई गर्भस्थ बनाउने बीउ रोप्ने हातहरू सकिएपछि तरल भएर मूल पनि सुकिसकेका देखिन्छन् किंवा पैरिएरका वा गहिरिएका छन्  । कोदो रोप्दा गुञ्जने ठाडो भाकाका सुरलहरीहरु खेत रोपाइँ चल्दा गुञ्जने असारे भाकामा पनि इतिहासमा सीमित छन् । हिलो, आली ब्याडे, बाउसे, रोपाहार र लाठेहरूको थकाइ बिर्साउने मन्त्ररुपी असारे भाका खोज्न कुनै पुस्तकका पाना नै पल्टाउनु पर्ने भएको छ । त्यसैले त अहिले गाउँ गाउँजस्तो लाग्दैन ।  

कोही कसैका मनमा अपराधका लेश मात्र देखा परेपनि त्यो निश्चलता, पवित्रता र प्राकृतिकपनको भोलाभालामा अन्तर्घुलन भएर बिलाउँथ्यो, हराउँथ्यो टाढा कतै विलुप्त हुने प्रेमिल गाउँ, अब पाइला पाइलामा शङ्कालु र अविश्वसनीय बन्दै गइरहेको देखिन्छ । 

गाउँका दायाँबायाँ खुलेका सिजनल बाटाघाटाका र त्यसका किनारामा भएका झुप्राझुप्री होटलहरुमा हुने मदिराको खुल्लमखुल्ला व्यापारले बनाउँदै गएका घर झगडा र हिंसाका  बग्रेल्ती परिघटनाहरूले गिजोल्दै ल्याएको शान्तिलाई दाहसंस्कार गरिसकेको देखेपछि भने अब गाउँ गाउँजस्तो लाग्न छोडिसकेको छ । टाढा उकालोमा भारी बोकेर सुस्केरा र पीडाको निःश्वास ओकल्दै आएका बाबाहरू भट्टीमा मातेर घर फर्किएको तन्नेरी छोराबाट हिंसाको सिकार भइरहेका छन् । त्यसैले त उनीहरूलाई छोरा छोराजस्तै लाग्दैन । उनको आफ्नै जीवन जीवनजस्तै लाग्दैन । जसरी मैले बालवयमा भोगेको आफ्नै गाउँ गाउँजस्तै लाग्दैन आजकाल । 

त्यसैले त बिम्बमा आउने गाउँ मनका अन्तस्करणले खोजिरहेको छ जहाँ हृदयले हृदयलाई बोलाओस् - प्रकृति माधुर्यको आवाजले । मन अडिने सानो पुस्तकालय, हृदयका स्पन्दन जस्तै चिर्विराउने सुन्दर विद्यालयमाझ कल्लोल ओकलिरहेका बाल बनिता, सधैँ हरियाली फैलिरहने वन, बनेली लताकुञ्जहरुको मध्यमानमा सुसंस्कृत आलि अट्टालिकाबाट देखिने स्निग्ध हिमालको काख । आमाहरूको प्रेम र हजुरआमाहरूको विशाल छाती प्लावित भइरहने मायाको नदी बग्थ्यो र बगिरहन्थ्यो निरन्तर । बाबाहरूको सपनाको खोती टुसाएका बालबालिकाको अनुहारमा झल्किरह्यो भविष्यको मेधावी सूर्य । पोल्टाभरि खाजाको प्यार बटुलेर उम्रिरहन्थ्ये, मायाको बोट बिरुवाहरू । 

हो, त्यही गाउँ हराएको धेरै भो मेरो स्मृति बिम्बबाट । पाउनु'भो भने खबर गर्नुहोस् है । म सामलतुमल बोकेर अक्षरका संस्कारहरू छर्न तुरुन्तै हाजिर हुनेछु । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार